होम योगी/कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा लिजमा लिएर व्यवसाय गरिरहेका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् । लामो समयदेखि समितिको जग्गामा बस्दै आएका व्यवसायीले निर्माण गरिरहेको संरचना भत्काएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।
बिहानैदेखि कञ्चनपुरका खोकाछाप्रा व्यवसायीले सडकमा टायर बालेर सरकारको विरोधमा गरेका छन् । व्यवसायीले टायर बालेर स्थानीय जनप्रतिनिधि र सुदूरपश्चिम प्रदेशका सांसदविरुद्ध नाराबाजी समेत गरेका छन् । युवा तथा विद्यार्थीको दवावमा संघीय आयोजना कार्यान्वयन इकाईले मंगलबार खोकाछाप्रा व्यवसायीले निर्माण गरिरहेका संरचना भत्काएको थियो ।
नगर विकास समितिबाट जग्गा लिजमा लिएर वैधानिक रुपमा संरचना निर्माण गरेको व्यवसायी प्रमानन्द जोशीले बताए । ‘प्रक्रिया पूरा गरेर लिजमा लिएका हौं, निर्माण सुरु गर्दा रोकेन्, अहिले लाखौं रुपैयाँ लगाएर निर्माण गरेका संरचना सरकारले भत्काइरहेको छ,’ उनले भने ।
नगर विकास समितिको जग्गा लिजमा दिनेलाई पनि कारबाही हुनुपर्ने उनले बताए । ठूलाबडाको निर्देशनमा प्रशासनले साना व्यवसायीले निर्माण गरेको संरचनामा डोजर लगाएको व्यवसायी महेश भट्टले बताए । ‘केही युवा विद्यार्थी र सांसदको निर्देशनमा गरिब जनताको घर भत्कायो, त्यसको बिरुद्धमा हामीले आन्दोलन सुरु गरेका हौं,’ उनले भने ।
महेन्द्रनगर ठप्प

युवा तथा विद्यार्थी, खोकाछाप्रा व्यवसायी र लिजमा लिएर व्यवसाय गरिरहेका व्यवसायीको आन्दोलनले महेन्द्रनगर बजार ठप्प बनेको छ । आन्दोलनले महेन्द्रनगरको अवस्था तनावपूर्ण छ । आन्दोलनका कारण महेन्द्रनगर बजार, शैक्षिक संस्था, उद्योग, कलकारखाना र यातायात बन्द छ ।
यसअघि संयुक्त युवा विद्यार्थीले तत्काल अवैध संरचना भत्काउनुपर्ने माग राख्दैं कञ्चनपुर बन्द गराएको थियो । उनीहरुको आन्दोलनपछि स्थानीय प्रशासनले डोजर लगाएर अवैध संरचना भत्काउन थालेको थियो ।
उक्त कार्यको विरोधमा स्थानीय खोका छापा व्यवसायी आज आन्दोलनमा उत्रिएका हुन् । यतिबेला कञ्चनपुरको दोहोरो आन्दोलनको मार परेको छ । युवा विद्यार्थीको आन्दोलनलाई सघाएका महेन्द्रनगरका स्थानीय व्यापारीले आज पनि खोका छापा व्यवसायीको दवावमा आफ्नो व्यवसाय बन्द गराएका छन् ।





























प्रतिक्रिया