काठमाडौँ । अपर मादी खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा विभिन्न ६ वटा बैंकले लगानी गर्ने भएका हुन् ।
कास्कीको मादी गाउँपालिकामा आठ अर्ब १२ करोडको लागतमा निर्माण हुने यस आयोजनाका लागि ६ बैंकले पाँच अर्ब ६८ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् ।
सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाइ र ग्लोबल आइएमई बैंकको सह–अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् ।
ऋण लगानी सम्झौतामा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनीका तर्फबाट सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने र बैंकहरूका तर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेर सम्झौतापत्र ‘एक्स्चेन्ज’ गरेका छन् ।
अन्नपूर्ण पावर कम्पनीका अध्यक्ष सबु कोइरालाको अध्यक्षता रहेको कार्यक्रममा सांसदहरू डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मनबहादुर गुरुङ र जीवन परियारसँगै सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ र अन्नपूर्ण पावर कम्पनीका सञ्चालक शिला कोइराला लगायत बैंकका प्रतिनिधिहरू सहभागी भएका थिए ।
आयोजना निर्माणका लागि सिटीजन्स बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसबिआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् ।
३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइने बताइएको छ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ ।































प्रतिक्रिया