काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार, अब कक्षा ८ सम्म स्थानीय विषयको पढाई हुने

काठमाडौं महानगरको स्थानीय पाठ्यपुस्तक तयार, अब कक्षा ८ सम्म स्थानीय विषयको पढाई हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । महानगरले कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैंले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । महानगरले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म उक्त पठन–पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । ‘महानगरको ५१ आँै कार्यपालिका बैठकले यही चालु शैक्षिक सत्रबाटै पठन–पाठन सुरु गर्ने निर्णय गरेको छ,‘महानगरका शिक्षा विभागका अधिकृत मोती खनालले भने, ‘हामीले गत वैशाख–जेठबाटै तयारी गरेका हौँ । तर, कोभिडको असरले उत्पन्न परिस्थितिका कारण पाठ्यपुस्तक छपाइ लगायतका काममा केही ढिलाई भएको छ ।

उनले महानगर भित्र ९२ वटा सामूदायिक विद्यालय मध्ये ८६ वटा साधारण विद्यालय, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीहरुका लागि रहेको र संस्थागत विद्यालयको संख्या करीब ६ सय ४० रहेको भन्दै यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठन–पाठन हुने जानकारी दिएका छन् ।

महानगरले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपी जस्ता विषय बारे परिचित गराउने उद्देश्यले यो विषयको पठन–पाठन सुरु गरेका हो ।

महानगरको परिचय दिँदा प्रयोग गरिने धेरै शब्दहरू नेपालभाषाकै हुने र यहाँको स्थानीय भाषामै पठनपाठन हुँदा नगरलाई अझ नजिकबाट बुझ्न सकिने भएकाले यो पाठ्यपुस्तक नेपालभाषामा तयार गरिएको हो ।

पाठ्यपुस्तक र पाठ्यक्रम लेखनमा शुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा. चुन्दा वज्राचार्यका अनुसार पाठ्यपुस्तक नेपालभाषामा लेखिएको भए पनि यो भाषा सिकाउने पुस्तक नभएको जानकारी दिए । पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुंगेधारा, पाटी, सत्तल, व्यक्ति आदि सम्बन्धी पाठहरू मात्र समावेश गरिएको पनि उनले जानकारी दिइन् ।

बज्राचार्यले बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन हुने जानकारी दिए । महानगरले हाल कक्षा १ को लागि पाठ्यपुस्तक तयार गरिसकेको छ भने कक्षा २ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकहरू डिजाइनमा गइसकेको छ । पूर्णरूपमा रंगीन ८० पृष्ठ रहेको यो पुस्तक नेपालभाषा नजान्नेहरूले पनि सजिलै बुझ्न सकिने शैलीमा लेखिएको छ । पुस्तकमा नेपालभाषाका शब्द र पदावलीहरूको अर्थ नेपाली भाषामै लेखिएको छ ।

नयाँ संविधानमा व्यवस्था गरिए अनुरुप मुलुकको कुनै पनि स्थानीय तहले स्थानीय भाषामै स्थानीय पाठ्यपुस्तक तयार गरेको यो नै पहिलो हो । यसले विद्यार्थीहरूलाई सानै उमेरदेखि मुलुकको ढुंगा माटोसँग परिचित गराई भोलि मुलुकको लागि आवश्यक जनशक्ति तयार गर्न समेत टेवा दिने विश्वास महानगरले लिएको छ ।

Skip This
Skip This
Logo