काठमाडौँ । पछिल्लो समय विभिन्न संघसंस्थाका कार्यक्रम, सभा, सम्मेलन तथा गोष्ठीहरू तारे होटलमा हुँदै आएको पाइन्छ ।
नेपालीहरूको खर्च गर्ने क्षमता बढेसँगै विभिन्न कार्यक्रमहरू आयोजना गर्न तारे होटेल रोजाइमा पर्ने गरेको छ ।
भ्रमणका क्रममा नेपाल आउने विदेशी पर्यटकमध्ये उच्च आर्थिक हैसियत भएका पर्यटकको बसाइ पनि प्रायः तारे होटेलमा हुने गरेको छ ।
पछिल्लो समय नेपालमा आयोजना हुने विभिन्न कार्यक्रम तथा विदेशी पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल, रिसोर्ट र क्यासिनो खुल्ने संख्या बढ्दै गएको पाइएको छ । यस्ता होटलहरू खुल्ने क्रम पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको हो ।
पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०–८१ मा २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ ।
विभागका अनुसार यसरी अनुमति पाउने होटलहरूमध्ये ४७ वटा एकतारे, ५२ वटा दुईतारे, ४० वटा तीनतारे, ३९ वटा चारतारे, २३ वटा पाँचतारे र तीनवटा पाँचतारे (डिलक्स) रहेका छन् ।
विभागका अनुसार साधारण हेरिटेज–बुटिक होटल १, डिलक्स हेरिटेज–बुटिक होटल ३, र लक्जरी हेरिटेज–बुटिक होटल ३ गरी कूल २ सय १२ होटललाई अनुमतिपत्र प्रदान गरिएको छ । विभागले ६ डिलक्स रिसोर्ट, एक सय २३ साधारण रिसोर्ट र तीन लक्जरी रिसोर्टलाई अनुमति प्रदान गरेको छ ।
त्यस्तै, विभागले नौवटा ठूला क्यासिनो र १७ वटा आधुनिक मेसिन वा उपकरणमार्फत खेलाइने मिनी क्यासिनोलाई अनुमति दिएको छ । विभागका अनुसार तीनवटा क्यासिनो अदालतको स्टे अर्डरका कारण सञ्चालनमा छन् ।
होटल अवस्थित क्षेत्रफल र संरचनासहितको अनुगमनपछि विभागले स्तर निर्धारण गर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७७ माघ ५ गते राजपत्रमा एक सूचना जारी गर्दै एकतारेदेखि पाँच तारे डिलक्ससम्मका होटलको वर्गीकरणका लागि मापदण्ड तोकेको छ । यही मापदण्ड पूरा गर्ने होटलले स्तरअनुसार तारा पाउने गरेका छन् ।































प्रतिक्रिया