काठमाडौं । नेपाली भाषाका साहित्यकार तथा मदन पुरस्कार विजेता मोहनराज शर्माको निधन भएको छ । सफल प्राध्यापक समेत रहेका शर्माको ७८ वर्षको उमेरमा निधन भएको हो ।
त्रिभुवन विश्वविद्यालयमा लामो समय अध्यापन गरेर प्राध्यापकको विशिष्ट तहबाट अवकास लिएका शर्माले सहित्यका विभिन्न विधामा कलम चलाएका थिए । शुरूमा व्यङ्ग्य र रम्यरचना लिएर साहित्यको क्षेत्रमा देखापरेका शर्मा पछिल्लो समयमा आख्यान (कथा र उपन्यास) लाई प्रिय विधा बनाउँदैं आएका थिए ।
उनले बैकुण्ठ एक्सप्रेस (नाटक, २०२२) ग्रन्थको लागि २०४२ सालमा मदन पुरस्कार पाएका थिए । त्यस्तै २०४० को मैनाली कथा पुरस्कार, २०४४ मा त्रि.वि. वि. सेवापदक समेत पाएका थिए । यथार्थ र स्वैरकल्पनाको संघुलन गरि रोमाञ्चक आख्यान रच्ने उनको लेखकीय कौशल सर्वप्रशंसित छ ।
उनले नेपाली भाषा र साहित्यको गम्भीर अध्ययन गर्न चाहने अध्येता र विद्यार्थीहरूका लागि उपयोगी हुने अनेकौँ ग्रन्थ र सन्दर्भ सामग्री तयार गरेका छन् । उनले जीवनमा धेरै संघर्ष गरेका थिए ।
बनारसमा अध्ययन सकेर झापा हुँदै नेपाल प्रवेश गरेका उनले नेपालको प्राज्ञिक क्षेत्रमा जुन स्थान हासिल गरेका थिए त्यो उनको अध्ययनशीलता, सिर्जनात्मक प्रतिभा र निरन्तर साधनाको प्रतिफल थियो ।
उनको व्यक्तिगत जीवनमा दुखद घटनाहरू भएका थिए । उनले तीन जवान छोरी गुमाएका थिए ।































प्रतिक्रिया