काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का केन्द्रीय सदस्यहरु ९ महिनादेखि भूमिका विहीन भएका छन् । पार्टी एकता हुँदा तीन महिनाभित्र जनसंगठन एकता गर्ने घोषणा गरिएको थियो । तर पार्टी एकता भएसँगै शीर्ष नेतृत्वबीचको आन्तरिक विवादका कारण एकता प्रक्रिया लम्बिँदै आएको छ ।
पार्टी एकीकरण हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति गठन भएको थियो । केन्द्रीय समितिले पूर्णता पाए पनि पार्टीेले अझै जिम्मेवारी दिन सकेको छैन । सचिवालय र स्थायी समितिको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने एजेन्डा समावेश भएतापनि मूर्त रुप पाउन सकेको छैन ।
नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरेले लामो समयसम्म केन्द्रीय सदस्यको कार्यविभाजन नहुँदा अन्योल सृजना भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टी एकता भएको तीन महिनाभित्र एकता प्रक्रिया टुंगो लगाउने घोषणा हुँदा निकै आशा जगाएको थियो, नौ महिना हुँदा समेत केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको छैन ।’
झन्डै आधा भन्दा बढी केन्द्रीय सदस्य सांसदको भूमिका रहेका छन् भने बाँकी केन्द्रीय सदस्य जिम्मेवारीविहीन भएका छन् । सांसद हुने केन्द्रीय सदस्यहरुले भूमिका पाए पनि पार्टीले भूमिका नदिँदा सांसद नभएका केन्द्रीय सदस्य अन्योलमा परेका हुन् ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया