डाभोसमा उठ्यो नेपाली प्रेस स्वतन्त्रताको मुद्दा

डाभोसमा उठ्यो नेपाली प्रेस स्वतन्त्रताको मुद्दा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन स्विट्जरल्यान्डको डाभोस गएका प्रधानमन्त्री केपी ओली बुधबार प्रजातन्त्रको भविष्य निर्धारण (सेपिङ द फ्युचर अफ डेमोक्रेसी) शीर्षकको सेसनमा सहभागी भएका छन् ।

सेसनमा कोलम्बियाका राष्ट्रपति इभान डुके, अर्मेनियाका प्रधानमन्त्री निकोल पासिन्यान, न्युयोर्क टाइम्सका प्रकाशक आर्थर ग्रग सुल्जबर्गर र लिडरसिप नाउ प्रोजेक्टकी प्रमुख कार्यकारी अधिकृत डानियला बालोउ–आरेसले छलफल गरेका थिए । सेसनको सहजीकरण फाइनान्सियल टाइम्सका प्रमुख आर्थिक टिप्पणीकार मार्टिन उल्फले गरेका थिए ।

उल्फले १४–१५ वर्षदेखि प्रजातन्त्र मन्दीमा रहेको विज्ञहरूले बताउने गरेको उदाहरण दिएर कार्यक्रम सुरु गरे । विकासशील मुलुकहरू प्रजातन्त्रतर्फ गएसँगै सन् १९८० देखि प्रजातान्त्रिक प्रणाली विस्तार हुँदै गएको र सन् २००६ मा उत्कर्षमा पुगेको निष्कर्ष उनले सुनाए । तर त्यसपछिको समयमा अमेरिकालगायत विश्वका धेरै देशमा प्रजातान्त्रिक मूल्य–मान्यतामा क्षयीकरण हुँदै गएको र यो प्रणालीमा आक्रमण भइरहेको बताएर प्रश्न सुरु गरेका थिए । पहिलो प्रश्न अर्मेनियाका प्रधानमन्त्रीलाई थियो भने दोस्रो प्रश्न केपी ओलीलाई थियो ।

प्रधानमन्त्री ओली तपाईं नेपालको प्रजातन्त्रका विषयमा विस्तृतमा बताउन सक्नुहुन्छ ? सरकारमा अधिकार केन्द्रीकरण भइरहेको भनेर तपाईंको मुलुकमा आलोचनासमेत भइरहेको छ । प्रजातान्त्रिक फ्रेमवर्कमा त्यसलाई कसरी प्रयोग गरिएको छ ? विकासशील मुलुकमा सरकारलाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? ती देशमा प्रजातन्त्रका मुख्य चुनौतीहरू के–के हुन् ?

यो प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू जनताको सेवक भएको बताए । ‘म आफैँ ५० वर्षभन्दा लामो समय प्रजातन्त्रका लागि लडेको मानिस हुँ । प्रजातन्त्रकै लागि लामो समय जेल पनि बसेको छु । त्यसो हुँदा म शासक बन्न चाहन्नँ । म जनताको सेवक हुँ र जनताकै सेवा गर्न चाहन्छु,’ उनले भने ।

नेपालमा स्वतन्त्र र निष्पक्ष निर्वाचनमार्फत आफू र आफ्नो पार्टी सत्तामा आएको पनि उनले बताए । ‘निर्वाचनका वेला हाम्रो पार्टी प्रतिपक्षमा थियो । शान्तिपूर्ण वातावरणमा निष्पक्ष चुनाव भयो । त्यसमार्फत हामीले बहुमतसहितको सरकार बनायौँ,’ उनले भने । नेपाल प्रधानमन्त्रीय प्रणालीसहितको संसदीय प्रजातन्त्र भएकाले कुनै एक व्यक्तिमा शक्तिकेन्द्रित नहुने पनि उनले बताए ।

यद्यपि, प्रजातन्त्रमा पनि केही सीमितता हुने उनले बताए । ‘म राजनीतिक सीमिततामा प्रजातन्त्रको व्याख्या गर्न चाहन्छु । प्रजातन्त्रमा पनि अधिकारको सीमा हुन्छ, स्वतन्त्रताको सीमा हुन्छ । जनताको जीवनस्तरमा सुधार ल्याउन त्यो आवश्यक छ,’ उनले भने । मुलुकहरूले फराकिलो प्रजातन्त्रको अभ्यास गर्नुपर्ने उनको धारणा थियो ।

दोस्रो चरणको प्रश्न सरकार र प्रेससँगको सम्बन्धको विषयमा थियो । कुनै पनि राजनीतिक नेताले प्रेसलाई मन नपराउने व्यंग्य गर्दै उल्फले प्रश्न सुरु गरे । त्यस चरणमा ओलीलाई प्रश्न थियो– प्रधानमन्त्री ओली प्रेससँग तपाईंको सम्बन्ध कस्तो छ ?

सो प्रश्नमा उनले मिडियासँग आफ्नो सम्बन्ध साधारण रहेको बताएका थिए । ‘एकतन्त्रीय शासनमा मिडिया नियन्त्रित हुन्छ, जहाँ मिडियाले शासनको स्तुतिगान मात्रै गर्छ । प्रजातन्त्रमा मिडियाले शासकको आलोचना पनि गर्छ । यो सामान्य कुरा हो । हामी प्रजातान्त्रिक शासन व्यवस्थामा छौँ । हाम्रोमा स्वतन्त्र प्रेस छ, मिडियाहरू स्वतन्त्र छन्,’ उनले भने ।

सोही प्रश्नमा पीतपत्रकारिताको विषय उठान गर्दै प्रधानमन्त्रीले मिडियाको आलोचनासमेत गरेका थिए । ‘पत्रकारितामा एउटा ‘पीतपत्रकारिता’ भन्ने शब्द हुन्छ । त्यो राम्रो होइन । त्यसले विषय वस्तुलाई बिगार्छ । समाजमा भ्रम सिर्जना गर्छ,’ उनले भने ।

आफूलाई नेपाली प्रेसले आलोचना गरेको गरेको पनि उनले बताए । ‘हामीले तीव्र गतिमा धेरै परिवर्तन ल्याएका छौँ । त्यसो हुँदा जनताको अपेक्षा पनि बढेको छ । प्रेसले पनि सरकारसँग त्यस्तै उच्च अपेक्षा गरेको छ । विकास प्रक्रिया जादु होइन । यसमा समय लाग्छ । तर, प्रेसले चाँडै नतिजा खोज्ने गरेको छ,’ उनले भने ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo