भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

भ्रष्टाचार अभियोगमा अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई जना प्राविधिक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाले एक सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै ८० हजार घुस लिएको आयोगले आरोप लगाएको छ । उनीहरुलाई घुस लिँदालिँदै पक्राउ गरिएको आयोगले जनाएको छ । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले आजै हेटौँडा उपमहानगरपालिका–४ का अब्दुल्ला देवान र बाँके कोहलपुरका नवराज थापाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले आफ्नो पशुचौपायाको व्यवसायको काम सहज गरिदिन भन्दै इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरीलाई ५० हजार घुस दिने प्रयास गरेका थिए । प्रहरीले उनीहरुलाई घुस रकमसहित पक्राउ गरी आयोगलाई बुझाएको थियो । उनीहरुलाई पनि बिगोबमोजिमको जरिवाना र कैद सजायको माग गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले जाजरकोटको अम्राइपाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नैनीराम जैसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आव २०६६÷६७ देखि आव २०६९÷७० सम्मको वनको आम्दानी रकम सात लाख बिनाप्रक्रिया चेक काटी अपचलन गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।

यस्तै बोटबिरुवा खरीद र वृक्षारोपणको पारिश्रमिक तथा भुक्तानी समेतका नक्कली बिल भरपाई बनाएको आरोप लागेको थियो । आयोगले उक्त आरोपको अध्ययन गर्दा ८७ हजारको बिल नक्कली रहेको पाइएको थियो । आयोगले ८७ हजार बराबरको बिगोबमोजिम जरिवाना गरी कैद सजायको समेत माग गरेको छ ।

आयोगले आजै सप्तरीको साबिक त्रिलोक गाविस–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवलगायत चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणको रकम अनियमितता गरेको आरोप आयोगले लगाएको छ । आयोगले तत्कालीन प्रधानाध्यापक चक्रधरप्रसाद देव र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादवविरुद्ध समान दुई लाख, प्रधानाध्यापक तेजनारायण यादव पाँच लाख आठ हजार ८४० र शिक्षक चन्द्रनारायण यादवले ५१ हजार २०० बराबरको भ्रष्टाचार गरेको आयोगको दाबी छ । उनीहरु सबैलाई बिगो असुल गरी कैद सजायको माग गर्दै आजै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दङ्गालले जानकारी दिनुभयो ।
रासस

Skip This
Skip This
Logo