काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नाम परिवर्तन : नयाँ नाम नगरकोट मण्डनदेउपुर

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नाम परिवर्तन : नयाँ नाम नगरकोट मण्डनदेउपुर

केन्द्रबिन्दु
0
Shares

काभ्रे

करीब दुई वर्षपछि जिल्लाको मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डनदेउपुर नगरपालिका’ राखेको छ । मंगलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको आज बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले नपाको साविक नाममा नगरकोट थपिएको नगरप्रमुख टोकबहादुर वाइवाले बताउनुभयो ।

नगरप्रमुखले भन्नुभयो, “नगरकोटका ७५ प्रतिशत होटल हाम्रो क्षेत्राधिकार भित्र पर्दछ, यसकारण पनि नामकरण गर्ने माग भए अनुसार नगरकोट थप्यौँ ।” उहाँका अनुसार नगरपालिका घोषणापछि तत्कालीन दलीय संयन्त्रले लामो समयको विवादका बीच नपाको नाम मण्डन देउपुर नगरपालिका राखिएको थियो । “नपाको नयाँ नाम पारित भयो, अनुमति माग्न प्रदेश र केन्द्रीय सरकारसँग अनुमति मागिसकेका छौँ”, नगरप्रमुख तामाङले भन्नुभयो । काभ्रेपलाञ्चोकमा छ वटा नपा र सात वटा गाउँपालिका छन् ।

यस नपासँग नगरकोटमा भक्तपुरको चाँगुनारायण नपा जोडिएको छ । व्यावहारिकरुपमा नगरकोट ‘पानीढलो’ सीमाङ्कन भन्दै आइएको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाले प्रदेश नं ३ सरकारसँग नगरकोट तथा सिन्धुपाल्चोकसँग जोडिएको इन्द्रावती नदीको सीमाङ्कन गरिदिन आग्रह गरेको छ ।

नगरसभाले करको दायरा पनि बढाएको सम्मेलनमा जानकारी दिइयो । नपाको सभाले करको दायरामा क्रसर उद्योग दर्ता तथा नवीकरणमा ११ लाख, इँटा उद्योग दर्ता तथा नवीकरणमा आठ लाख, ढुङ्गा खानी दर्ता तथा नवीकरणमा सात लाख, बालुवा खानी दर्ता तथा नवीकरणमा पाँच लाख शुल्क लाग्ने पारित गरेको छ । नयाँ नामाङ्कित नपा नगरकोट मण्डनदेउपुर नपाभित्र दर्ता एवं सञ्चालित होटलको कर सङ्कलन गर्न विभिन्न वर्गमा राखेर वर्गीकरण गर्न कार्यदल पनि गठन गरेको छ ।

नगरसभाले माथिल्लो तामाकोशी आयोजनाको ४०० केभी प्रसारण लाइन नपाको घनाबस्तीमाथि रहेकाले रुट परितर्वत गर्न मेलम्ची आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई रोयल्टीबापत ५० प्रतिशत रकम जनसङ्ख्याका आधारमा नपा तथा गाउँपालिकालाई उपलब्ध गराउन सम्बन्धित निकायमा माग गर्ने लगायत १६ वटा प्रस्ताव पास गरेको छ ।
रासस

Skip This
Skip This
Logo