लामो समयदेखि चुनौती खेप्दै आएको अटो मार्केटको अवस्था अहिले राम्रो हुँदै गएको देखिन्छ । तर, पहिलाकै लयमा फर्किसकेको भने छैन । गत वर्ष भन्दा यो वर्ष राम्रो देखिएकाले केही सुधारका संकेतहरु देखिन थालेका हुन् । संक्रमणकाल सकिँदै जानु, रेमिट्यान्सको मात्रा बढी रहनु साथै बैंकमा निक्षेप बढ्नु लगायतका सकारात्मक संकेतले यो क्षेत्र बिस्तारै चलायमान हुँदै गएको महसुस गरेका हौं ।
शतप्रतिशत राम्रो नभएता पनि अटो व्यवसायीहरूमा नयाँ आशा थपिँदै गएको छ । अटो क्षेत्रमा समय अनुसार बिजनेसको मोडालिटिमा परिवर्तन हुँदै आइरहेको हुन्छ । सवारीको आयात बढी राख्दा सरकारले अटोमोबाइलमा इमोबिलिटीको विषय जोडेर हेर्नुपर्यो । सरकारमा जुनसुकै पार्टीको नेतृत्व भएता पनि अटोमोबाइलको योगदानलाई बुझ्नु आवश्यक छ ।
किनभने सरकार छिटोछिटो परिवर्तन हुँदा सबैभन्दा बढी नोक्सानी बेहोरेको सेक्टर अटोमोबाइल हो । त्यसैले अटोमोबाइलको भविष्य र अर्थतन्त्रमा पुर्याएको महत्वलाई बुझेर हामीले हरेक पटक जुनसुकै सरकार आए पनि यो क्षेत्रको लागि दीर्घकालीन नीतिको माग राख्दै आएका छौं ।
आजको दिनमा दुईपाङ्ग्रे सवारीका अधिकांश कम्पनीहरूले यहाँ एसेम्बल उद्योग लगेका छन् । हुण्डाईले चार पाङ्ग्रे सवारीको एसेम्बल प्लान्ट लगाइ उत्पादन गरिरहेकाे छ । अन्य कम्पनीहरूले पनि यस्ता उद्योग लगाउने योजना बनाइरहेका छन् । सरकारले अटोमोबाइलको दीर्घकालीन योजना बनाएर नीतिगत निर्णयहरू लामो समयसम्मको लागि बनाएको खण्डमा थुप्रै अटो उद्योगहरू नेपालमा स्थापना हुनेछ ।
यो क्षेत्रले आगामी १० वर्षमा कस्तो योगदान गर्छ ? कति रोजगारीको सिर्जना हुन्छ ? अर्थतन्त्रमा कस्तो योगदान पुर्याउँछ र व्यवसायी कसरी अगाडि बढ्ने भनेर सरकारलाई घचघच्याउन र सुझाव दिने काम नाडाको तर्फबाट निरन्तर भइरहेको छ । स्थिर नीति नबन्दा उद्योगीमा त्रास सदैव पैदा भइराख्यो । किनभने सरकारको नीति परिवर्तन हुँदा लगानी सुनिश्चित नहुने वा लगानी डुब्ने होकी भन्ने चिन्ता उद्योगीले बोकेर हिँडि राख्नुपर्यो । आगामी दिनमा यस्तो नहोस् भन्नका लागि हाम्रो संस्थाको तर्फबाट हुने काम भइरहेका छन् ।
दीर्घकालीन सोच बनाएर त्यो उद्योगको संरक्षण गरी त्यहाँबाट लिन सकिने फाइदालाई हेरेर उद्योगी लाग्न सरकारले बलियो नीति बनाउन आवश्यक छ । निजी क्षेत्रले मात्र नभई अटोमोबाइलको भिजन सरकारले पनि बनाउनुपर्यो । ट्रेडिङ बिजनेस गर्न जति सजिलो छ, उद्योग लगाउन, सुरक्षा पाउन, स्वीकृति लिन निकै गाह्रो छ । त्यसैले इच्छा हुँदाहुँदै पनि इच्छा मारेर उद्योगीहरू उद्योग सञ्चालनबाट वञ्चित हुनुपरेको छ ।

सस्तो नाराले अब देश बन्दैन
नेपालमा अवसर नभएको होइन, त्यो अवसर सिर्जनामा सक्रियता नदेखाइएको हो । अहिले पुनः उद्योगमा लोडसेडिङ हुनसक्ने भनिएको छ । यसले उद्योगको हितमा देशमा काम भएको छ भन्ने प्रश्न थपेको छ । उद्योगको संरक्षण, सञ्चालनको वातावरण बनी नराख्दा अर्थतन्त्र र अटो उद्योगले पनि समस्या भोग्नुपरेको छ ।
उद्योगको हितका लागि राम्रो कुराहरू सुनिन्छ । पहिला सुन्ने तर कागजमा नआउँदा समस्याले बढावा पाउँदै गइरहेको छ । त्यसैले सस्तो नाराले देश चल्दैन । र, अब पब्लिकलाई पनि बेवकूफ बनाउन सकिँदैन । सरकारले अहिलेसम्म कति वटा औद्योगिक क्षेत्र बनायो ?
उद्योग स्थापना गर्दा यहाँ छुट दिन्छु, लगानी सुनिश्चित हुन्छ, उद्योग लाग्दा बत्ती साथै सुरक्षा दिन्छु भनेको कहाँ छ ? देशमा व्यवसायीक वातावरण खलबल्याउने को हो भन्ने नै अहिलेसम्म थाहा छैन । यहाँ व्यापारी, नेता, सरकारी कर्मचारी आदिलाई हेर्ने दृष्टिकोण राम्रो छैन । कसले कसलाई चलाउँछ थाहा छैन ।
कुनै पनि पेशालाई राम्रोसँग गर्न यहाँ कुनै दृष्टिकोण छैन । आजसम्म मैले आफ्नो पेशालाई सम्मान गर्न सक्ने पेशा यही हो भनेर भन्न सक्ने मान्छे भेटेको छैन । व्यवसाय के हो ? व्यवसायीले के गर्छ ? भन्ने अर्थ बुझाउन नसकेको कारण यो अवस्था आएको हो ।
कुनै पनि देशको अर्थतन्त्रलाई धान्न र राजश्वमा संकलनमा बृद्धि गर्नमा निजी क्षेत्रेको योगदान नै महत्वपूर्ण हुन्छ । सोही अनुसारका व्यवसायीक क्रियाकलाप अगाडि बढ्न सक्यो भने समृद्ध नेपालको परिकल्पना पूरा हुन्छ ।
पुराना प्रविधिका गाडी, पार्टसको बिक्री वितरणमा बिस्तारै कमी आउन थालेको छ । नयाँ प्रविधि (ईभी) गाडीहरूको आयातले आजको दिनमा प्राथमिकता पाइरहेको छ । त्यसलाई हेर्नका लागि अब नयाँ जनशक्ति चाहिन्छ । अटो क्षेत्रले जति जनशक्ति उत्पादन गर्छ । त्यति अन्य क्षेत्रले उत्पादन गर्न सक्दैन ।
नाडाले अटोमोबाइलका सिपमूलक तालिम सञ्चालन गरिरहेको छ । त्यो मात्र पर्याप्त छैन । जनशक्ति पलायन हुनबाट रोक्न र उनीहरूलाई उत्पादनमा जोड्न सरकार लाग्नुपर्छ । यो क्षेत्रले प्रत्यक्ष १ लाख र अप्रत्यक्ष १० लाख मान्छेलाई रोजगारी दिएको छ । ११ लाख मान्छेले रोजगार पाउँछ भने यो क्षेत्र व्यवसायीको मात्र नभई सबैको हो । तर, फ्री-भिसा, फ्री-टिकट दिएर मान्छे विदेश पठाउने अनि नेपालमा रोजगारी दिन्छु भन्न चाहिँ मिल्दैन ।
हामीले जुन ढाँचाबाट व्यापार, व्यवसाय, आयात तथा निर्यात र उद्योग सञ्चालन भइरहेकाे छ । त्यसको अब स्थायित्व हुन जरुरी छ । नीतिगत विषयलाई समेटेर अटोमोबाइलका लागि हामी १० वर्षे योजना यस्तो बनाउँछौं, ५ वर्षमा यस्तो काम गर्छौं र ईभीका पूर्वाधार यति बनाउँछौं भनेर आव्हान भयो भने देशभित्र कम्पोनेन्ट उद्योग पनि ठूलो संख्यामा सञ्चालनमा आउँछन् ।
सरकारको सहभागिता अटोमोबाइल सेक्टरमा निकै कम छ । उक्त सहभागिता बढाउनुपर्यो । यदि देशमा यो क्षेत्रबाहेक अन्यबाट बढी राजश्व संकलन हुन्छ भने त्यो इ-कमर्स हुनसक्छ । ३ करोड जनसंख्या भएको देशमा निजी सवारी भएका र सार्वजनिक यातायात प्रयोग गर्ने कति छन् ? त्यो हेर्न जरुरी छ ।
निराशा हैन, आशा जगाऊ
नेपालमा हिजो कम्पोनेन्ट उद्योग पनि लाग्ला र ! भन्ने गरिन्थ्यो । तर, आज एसेम्ब्लिङ, स्पेयर पार्टस्, टायर, लुब्रिकेन्ट तथा ब्याट्री उद्योगहरू लागिरहेका छन् । यी वाहेक अन्य आइटमहरू बनिरहेको छ । अटोमोबाइल क्षेत्रको लागि यो सुरुवात हो ।
सुरुवातमा सबैलाई साथ दिनुपर्छ । निराशा होइन । नेपालमा उत्पादन भएका सामग्रीले नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) प्राप्त गरेभने भोलिका दिनमा ति सामग्रीहरू निर्यात गर्न सक्ने अवस्थामा पुग्ने छन् ।

अबको दिन इमोबिलिटीको हो । सरकारले ईभीमा लिएको नीतिको कारण यसको माग बढेको छ । ईभीमा कर छुट, सहुलियत ऋण, इन्फ्रास्ट्रक्चर विकास गर्दा यो राम्रो भएको हो । जुन सकारको सबल पक्ष ठान्नुपर्छ ।
गाडी बिक्रेता कम्पनीले पनि ब्याट्री रिसाइकलको लागि आफैले जिम्मा लिइरहेका छन् । अहिले ईभी सहज रूपमा सुपथ मूल्य पाइराखिएको छ । त्यो राम्रो हो । अटोमोबाइलको विकासलाई मध्यनजर गर्दै अटोमोबाइल जोन बनाउनु पर्छ । अटोमोबाइलसँग सम्बन्धित एउटा क्षेत्र छुट्याई पूर्ण रूपमा त्यो अटो उद्योग स्थापना गर्न सक्यो भने उपयुक्त हुन्छ । गाडीको प्रयोग सँगसँगै सोही अनुसारका पूर्वाधार सरकारले बनाउनु पर्छ । गाडी आयात गर्नेले सडक बनाउनुपर्छ भन्ने हो भने त्यो सम्भव छैन ।
हामीले सरकारलाई कर बुझाउने हो । २५० देखि ३६० प्रतिशतसम्म कर तिरेर ल्याएर गाडी कुदाउन पाइँदैन भने त्यसमा हाम्रो भन्नु केही छैन । तपाईंले तपाईंको आवश्यकता अनुसारको गाडी चढ्न पाउनु पर्छ । हामीले कर बुझाउँदा बुझाउँदै पनि त्यो अनुसारको पूर्वाधार बनाउन सक्नुहुन्न भने सडक कर पनि लिनु भएन ।
(नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका महासचिव उप्रेतीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)































प्रतिक्रिया