सम्झनामा किसुनजीः जसले आफैँले स्थापना गरेको कांग्रेस त्यागे

सम्झनामा किसुनजीः जसले आफैँले स्थापना गरेको कांग्रेस त्यागे

केन्द्रबिन्दु
66
Shares

काठमाडौं । राजनीतिक पात्रलाई ‘राजनीति के हो ?’ भनेर कसैले प्रश्न सोध्यो भने त्यसको उत्तर के आउला ? आम रूपमा सबैभन्दा पहिलो उत्तरमा विचारधारा र नीतिहरूको संघर्ष, त्यसपछि सत्ताको प्राप्ति र प्रयोगसँगै क्रमशः संवाद र सहमतिको प्रक्रिया, सार्वजनिक जीवन व्यवस्थापनको कला तथा जनताको सहभागितालगायतका उत्तर आउनेछन् ।

तर राजनीति र परिहास दुवै चेत भएका एउटा राजनीतिज्ञ जो हँसिलो मिजास र ठट्यौली पाराले मानिसहरूलाई कायल गर्न सक्छन्, तिनले कस्तो उत्तर देलान् ?

यसको उत्तर खोज्न वर्तमान समयमा त उचित पात्रको खडेरी नै छ । तर तत्कालीन बेलायतका पूर्वप्रधानमन्त्री विन्स्टन चर्चिल वा भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीका समयमा यसको उत्तर खोजिन्थ्यो भने उनीहरू पनि अत्यल्प समर्थ हुन्थे होलान् ।

उक्त समयमा यसको जवाफ दिनुपर्दा नेपाली राजनीतिक वृत्तमा सर्वाधिक परिहास चेत भएका व्यक्ति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई (किशुनजी) ले भन्थे, ‘राजनीति भनेको ढुंगा फुटाएर पानी निकाल्न खोज्ने काम हो, तर ढुंगाबाट झरी झर्ने दिन देख्न चाहन्छु ।’

यस जवाफलाई वर्तमानमा सुन्ने हो भने पपुलिजमको उपमा भिडाउन सकिन्छ । तर निष्ठा, इमान्दारिता, कुशल राजनीतिक छबि र स्पष्टवक्ताका रूपमा परिचय बनाएका स्व. भट्टराईका सन्दर्भमा चाहिँ यो बडो रोचक र स्मरणीय लाग्दछ ।

भट्टराईले आफूलाई आउने जस्तोसुकै कठिन प्रश्नलाई पनि सजिलो र रमाइलो तरिकाले उत्तर दिन्थे । जब कुनै कार्यक्रममा कसैले उनलाई प्रधानमन्त्री भएपछिको योजना सोध्दा उनले हाँस्दै भन्थे, ‘पहिलो योजना, बिहान उठेर चिया पिउने हो ।’

उनका यस्तै वाक् कला र हास्य रसले नेपाली राजनीतिलाई समेत रोचक बनाएको थियो । हास्य रसबाट जटिल कुराहरूलाई सामान्य बनाउने र जनताको मन जित्ने अद्भूत क्षमता राख्ने किशुनजी अरूलाई मात्र नभएर स्वयंलाई पनि व्यङ्ग्य गर्थे भनिन्छ ।

आज उनै किशुनजीको १०१ औँ जन्मजयन्ती हो । तत्कालीन अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री बनेका भट्टराई त्यस्ता व्यक्ति हुन्, जो २०४८ मा प्रधानमन्त्री निवासबाट एउटा टयाङ्का, सुराही र छाता लिएर कुपण्डोल डेरामा फर्किएका थिए ।

भट्टराई पन्ध्र सालमा ३४ वर्षकै उमेरमा प्रथम जननिर्वाचित संसद्को सभामुख बनेका थिए । भट्टराईले २०४६ सालमा पञ्चायत ढलेर बहुदल आएपछि अन्तरिम सरकारका प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले र उनकै पालामा २०४७ सालको संविधान पनि आएको थियो ।

त्यतिवेलाका शक्तिशाली राजालाई संवैधानिक दायरामा ल्याएको संविधान त्यही थियो । भट्टराई गणतन्त्रको हाकाहाकी विरोध गर्ने व्यक्ति हुन् । नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको मान्यता त्यागेर गणतन्त्रलाई समाएपछि उनले आफैँले स्थापना गरेको पार्टी नै त्यागिदिएका थिए ।

कालान्तरमा पार्टी, कार्यकर्ता र साथीसंगीबाट टाढिएर धर्मकर्मप्रति नजिकिएका नेता भट्टराईको अवसानले वर्तमान राजनीति वा नेपाली कांग्रेसलाई प्रभाव नपारे पनि नैतिकता र निष्ठाको राजनीतिमा उनी स्मरणीय छन् । उनीप्रति हार्दिक श्रद्धाञ्जलि ।

Skip This
Skip This
Logo