चितवन।
दुर्लभ एकसिङ्गे गैँडा चोरी शिकारी गरेका दोषी १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२६ दिव्यनगरका ३६ वर्षीय सूर्य भन्ने सुरज चौधरी रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार विसं २०६२ असारमा शिसुवाघाटपारि भालुटापुमा गैँडालाई गोली हानी खाग बिक्री गरेको अभियोगमा उनी दोषी ठहर भएका हुन् । विसं २०६२ असोज १२ गते मुद्दा दायर भई विसं २०६४ पुस २० गते निकुञ्जले चौधरीलाई १५ वर्ष कैद र रु एक लाख जरिवाना फैसला गरेको थियो । गैँडा तस्करहरुले दुईपटकसम्म गैँडा मार्ने असफल प्रयास गरेपछि नेपाली सेनाका भगौडा निज चौधरीलाई समेत समूहमा सामेल गरी गैँडा मारेको अन्य पक्राउ परेकाहरुको वयानबाट खुलेको उनले जानकारी दिए ।
निजहरुले भारतबाट बन्दुक किनेर गैँडा मारेको खुल्न आएको छ । चौधरीको समूहले पुष्पलाल भण्डारीको समूहलाई खाग बिक्री गरेको खुल्न आएको अधिकारीले जानकारी दिए। निकुञ्जको फैसलापछि निज चौधरी जिल्लाकै गुञ्जनगर र खुरखुरेमा बसाइँसराइ गरेका थिए । निजलाई खुरखुरेबाट बिहीबार पक्राउ गरिएको हो । यसै अवधिमा तीनपटक कतार गएर आएको पक्राउपछि चौधरीले वयान दिएका छन् । चौधरी एक वर्ष अघि कतारबाट नेपाल आएका थिए ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जले फरार अभियुक्तको खोजी प्रयासपछि चौधरी पक्राउ पर्न सफल भएको बताए। निजलाई जिल्ला कारागार कार्यालय चितवन पठाइएको उहाँले जानकारी दिए। पछिल्लो समय तस्कर समूह सक्रिय भएसँगै निकुञ्ज चोरी शिकार नियन्त्रणका लागि विभिन्न नयाँ रणनीतिका साथ अघि बढेको जनाएको छ ।रासस





























प्रतिक्रिया