काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा कार्यकर्ताले अरू दलको सामग्रीमा लाइक, कमेन्ट र रिट्विट गर्न नपाउने भएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सामाजिक सञ्जालमा अरू दलले पोस्ट गरेको सामग्रीमा लाइक, कमेन्ट र रिट्विट गर्न नपाउने गरी कार्यविधि ल्याएको हो ।
व्यवस्थित र मर्यादित सामाजिक सञ्जाल सञ्चालन र प्रसारित सामाग्रीमा एकरुपता कायम गर्न, भ्रामक सामग्रीलाई निरुत्साहित गर्न, पार्टीको सामाजिक सञ्जाल रणनीतिको माध्यमबाट पार्टीलाई संगठित र व्यवस्थित गर्न केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ लाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको हो ।
यस कार्यविधिमा राप्रपाका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा जथाभाबी लेख्न रोक लगाइएको छ । उक्त कार्यविधिमा राप्रपाका नेता कार्यकर्ताले सामाजिक सञ्जाल चलाउँदा प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ । साथै पार्टीको पद उपयोग गर्दा सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नहुने राप्रपाले कार्यविधिमा समेटेको छ ।
कार्यविधिको परिच्छेद १० को (ग) मा सदस्यले प्रतिस्पर्धी पार्टी, व्यक्ति वा समूहले पार्टीलाई हित नहुने विषयको सामग्री शेयर गर्ने, लाइक गर्ने, रिट्विट गर्न नहुने उल्लेख छ ।
कार्यविधिमार्फत पार्टीको निर्णय, विचार, मूल्य मान्यता, आदर्श र नीतिहरूलाई जनतामाझ पुर्याउने विषय पनि समेटिएको छ । कार्यविधिमार्फत सामाजिक सञ्जालको प्रयोगबाट पार्टी र आम जनसमुदायबीच सन्तुलित, स्वस्थ र मजबुत सम्बन्ध विस्तार गर्दै पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन पार्टी सदस्यहरूका लागि मार्गदर्शन गर्ने बताइएको छ । पार्टीभित्र पछिल्लो समय जथाभाबी लेख्ने प्रवृत्ति बढेकोमा यो कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिको अन्य हुने पार्टीले विश्वास लिएको छ ।































प्रतिक्रिया