लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरु विभिन्न विशेषताका हुन्छन् । उनीहरुको शारीरिक आकृति, व्यवहार र मानसिकता सबैमा भिन्नता पाइन्छ । आफ्नो लैङ्गिक व्यवहार सार्वजनिक गरेका केही व्यक्तिसँग भेट्दा उनीहरुले मसँग फरक–फरक अनुभव सेयर गरेका छन् । त्यसरी समाजमा खुलेर आएका ती व्यक्तिको अनुभव उनीहरुकै शब्दमा:-
एक समलिङ्गी महिलासाथीले नाम खुलाउन चाहिनन् । तर, आफ्नो कहानी यसरी सुनाइन्
म जन्मिँदा छोरीकै रुपमा थिएँ । दुर्गम बस्ती भए पनि शिक्षाको महत्व बुझ्ने आमाबुबाले मलाई स्नातकोत्तरसम्म पढाइदिए । गाउँकै स्कुलबाट एसएलसी पास गरेकी हुँ । पढाइमा मध्यम खालकी थिएँ ।
१३–१४ वर्षकी हुँदी हुँ । देख्थे, केटीसाथीहरु ‘ब्वायफ्रेन्ड’ बनाउन लालायित हुन्थे । आठ कक्षा पढ्दादेखि नै स्कुलका प्राय केटीले ‘ब्वायफ्रेन्ड’ बनाउन थालिसकेका थिए । कतिको त कक्षामै खुलेआम चर्चा हुन्थ्यो । अचम्म ! मभित्र भने कुनै केटाप्रति आकर्षण पलाएन । सोच्थे– अलि ठूली भएपछि कोही न कोही त मन पर्ला ।
म त कक्षामा सँगै बस्ने, सँगै खेल्ने केटीसाथीहरुप्रति पो आकर्षित हुन थालेछु । उनीहरुसँगको निकटता आनन्ददायक लाग्थ्यो । हरपल उनीहरुकै वरिपरि रहिरहूँजस्तो । तर, आफ्नो भावना न उनीसँग खोल्न सके न त अन्य साथीसँग । घरीघरी आफ्नो भावनाले आफै अचम्मित हुन्थे । मनमा एउटै प्रश्न थियो– ‘अरु साथीजस्तो ममा किन केटाहरुप्रति प्रेम नजागेको ? किन केटीसँगै प्रेम गरुँ लाग्छ ?’ उत्तर पाउँदिनथे । अनि कुनै न कुनै दिन केटाप्रति आकर्षण जाग्ने आसमा मन शान्त बनाउँथे ।
म आफूलाई समलिङ्गी महिला हुँ भन्ने चेतना कक्षा १२ मा पढ्दा भयो । नारीवादको पढाइ हुँदा मलाई त्यसबारे बुझ्ने मौका मिल्यो । यद्यपि सैद्धान्तिक पढाई र मेरो भावनाको अन्तरचाहि धेरै थियो । केटी भएर केटीप्रति नै यौनिक झुकाव राख्नेलाई ‘लेज्बियन’ भन्छन् र संसारमा समलिङ्गीको अस्तित्व छ भन्ने थाहा पाएँ । यति ज्ञानले पनि मलाई अति हर्षित तुल्याएको थियो । किनकी आफूभित्र चलिरहने प्रश्नको जवाफ मिलेको थियो, केही मात्रामा भए पनि ।
स्नातक पढ्दै गर्दा साथीका रुपमा आइन् एउटी केटी । धेरै नजिक भइसकेपछि उनलाई मैले आफ्नो स्वभावबारे बताएँ । पहिलोपटक आफ्नो यौनिकताबारे कसैलाई सुनाइरहेथे । निक्कै हिम्मत जुटाएर भनेकाले होला, गला अवरुद्ध भइरहेको थियो । मेरो यस्तो स्थितिलाई ढाडस दिदै उनले अप्ठ्यारो नमान्न आग्रह गरिन् । अनि मबारे जान्न थप उत्सुकता देखाइन् । उनको सकारात्मक सोचले एक्कासि आफैप्रति हिम्मत बढ्यो । अब यो संसारमा मेरा बारे थाहा पाउने एउटा व्यक्ति भए पनि छ र उसले यसलाई सकारात्मक रुपले लिएको छ भनेर आफैमा मुग्ध थिएँ । नियमित भेटघाटपछि मेरो मनमा उनीप्रति प्रेमभाव पलाउन थाल्यो । तर, भनेकी थिइनँ ।
एक दिन उनी मेरो घर आइन् । हामी कोठामा गफ गर्दै टिभी हेरिरहेका थियौ । गफकै सिलसिलामा उनले मेरो कपाल चलाइन् । त्यो स्पर्शले मलाई अलग अनुभूति हुन थाल्यो । उनीसँग झन् टाँस्सिएँ । उनलाई पनि अलग महसुस भइरहेको अनुमान गरे । त्यही क्रममा हामीबीच शारीरिक सम्बन्ध बन्यो । यसरी हाम्रो मित्रता आत्मिक प्रेममा परिणत भयो । हामी दुवै एकदमै सुखी र खुसी थियौ । मलाई तनाब हुँदा उनी सम्झाउँथिन् । उनी समस्यामा पर्दा म सहयोगी हुन्थे । हामी लगभग दम्पतीकै रुपमा थियौ। तर, हाम्रो सम्बन्ध टिक्न सकेन । तगारो बन्यो संस्कार र समाज । उनले परिवारलाई हाम्रो सम्बन्धबारे भन्ने आँट देखाइनन् । कुनै केटासँग बिहे गरेर गइन् ।
धेरै मान्छे सोच्छन्– समानलिङ्गी केटीहरुबीच यौनसम्बन्ध कसरी सम्भव छ ? खासमा मन मिल्ने, भावना मिल्ने दुई व्यक्तिबीचको यौनक्रियामा शरीर एकअर्कामा स्पर्श गराउँदा मात्र पनि सन्तुष्टि हुन्छ । समलिङ्गी यौनसम्बन्ध बढी भावनात्मक हुन्छ । आफूले रोजेको या मन मिलेको साथीबीच स्पर्श, एकअर्काका गोप्य अङ्गको हस्तमैथुनजस्ता क्रियाकलाप गरिन्छ ।
हामीजस्ता महिलाको पुरुषप्रति आकर्षण रहँदैन । यस्तो स्वभाव म वा मेरा मातापिताका कारण सिर्जना भएको होइन । प्राकृतिक रुपमै विकास भएको हो । तर, समाजको अबुझपनले गर्दा हामीले अपराधीजसरी सामाजिक, पारिवारिक असुरक्षा महसुुस गरिरहनुपरेको छ । हाम्रो जस्तो स्वभाव भएकालाई अझै पनि जबरजस्ती पुरुषसँग विवाह गरी बालबच्चा जन्माउन बाध्य पारिन्छ ।
हाम्रो यौनजीवन विपरीतलिङ्गीहरुको भन्दा पृथक छ । महिला–महिलाबीच आकर्षण बढ्नु कसैलाई नौलो लाग्ला तर यो अप्राकृतिक होइन । धेरै अनुसन्धानले यो तथ्य प्रमाणित गरिसकेका छन् । हामी आफ्नो शारीरिक स्वभाव परिवर्तन गर्न सक्दैनौ । महिला समलिङ्गीलाई पुरषसँग यौन–गतिविधिमा संलग्न गराए ऊ विपरीतलिङ्गी हुन्छे भन्ने भ्रम छ समाजमा । वास्तवमा यसो गर्दा हामीलाई मर्नुपरेजत्तिकै कष्ट हुन्छ ।
यसै क्रममा सन् २०१२ मा नीलहिरा समाजसँग आबद्ध हुन पुगे । मलाई पुनर्जीवन पाएको महसुस भयो । किनकि त्यहाँ समलिङ्गी महिला मात्र नभई महिला र पुरmष तेस्रो लिङ्गी, द्विलिङ्गी, अन्तरलिङ्गीका कथाव्यथा, भावना साटिदो रहेछ । सबैको साझा समस्याबारे छलफल पनि हुँदो रहेछ । मैले परिवार पाएको अनुभूति गरे ।
सोही सिलसिलामा मेरो आफूजस्तै साथी सिया ढकाल (परिवर्तित नाम) सँग अफेयर्स चल्यो । करिब दुई वर्षको अफेयर्सलाई हामीले बिहेमा परिणत ग¥यौ । गन्धर्व–विवाह गरेका हौ हामीले ।
त्यो दिन निकै स्मरणीय छ । सम्झियो कि दुवै जना रोमान्टिक हुन्छौ । मैले सियालाई गिफ्ट दिन जुन पसलमा औठी अर्डर गरेकी थिएँ, संयोगवश उनी पनि मेरा लागि औठी बनाउन त्यही पुगेकी रहिछन् । हामी एकअर्काको गिफ्ट योजनाबारे अनभिज्ञ थियौ ।
‘तिमीहरु दुवैको त्यही इच्छा हो भने बिहे नै गरे भइगयो नि’, एक साथीले भने ।
बिहेका लागि २०१४ जुलाई १ को दिन उपयुक्त लाग्यो । एउटी विदेशी समलिङ्गी महिला–साथी र हामीलाई सल्लाह दिने तिनै साथीको उपस्थितिमा ठमेलको एक होटलमा सामान्य पार्टी आयोजना गरेर हामीले औठी साट्यौ । एक छिन त सपना पो हो कि भनेजस्तो लाग्यो । बिहेबारे दुवैका परिवारलाई सुइँको थिएन । जीवनको यस्तो महङ्खवपूर्ण क्षणमा परिवार र आफन्तको उपस्थिति नभएकोमा एक छिन भावुक पनि भयौ । तर फेरि तन, मन र भावना मिल्ने जीवनसाथी पाउँदाको खुसी अलग थियो ।
सामाजिक मान्यता नपाए पनि, आमाबुबाको उपस्थिति नभए पनि हाम्रो बिहे भयो । हामी दुईका लागि यो साँचो अर्थको बिहे थियो, अरुले जेजसरी हेरे पनि । अब जीवनसाथीलाई सक्दो खुसी दिन सक्नुपर्छ, भविष्य सोच्नुपर्छ भन्ने अनुभूतिले मलाई तरङ्गित पारिरहेको थियो ।
मैले समलिङ्गी विवाह गरेको थाहा पाएपछि परिवारमा भुइँचालो गयो । आमाले चेतावनी दिदै भन्नुभयो, ‘सियासँग साथी भएर एउटै कोठामा बस्नसम्म ठीक छ तर त्यो केजाति गरेर बस्न पाइँदैन । तैले केटासँग बिहे गरेर नाति–नातिना दिनैपर्छ ।’
मैले मानिनँ । घरबाट निकालिएँ ।
उता सियाका विदेशमा रहनुभएका आमाबुबाले पनि हाम्रो बिहेलाई रुचाउनुभएन । छोड्न दबाब दिनुभयो । हामी दुवै मास्टर्स पास गरेर आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका थियौ । आफ्ना बारे आफै निर्णय लिन सक्थ्यौ । कुनै पनि कोणबाट उहाँहरुको दबाब स्विकारेनौ । उनको परिवारबाट हामीमाथि निकृष्ट शब्द प्रहार गरिए । मानसिक रुपले विक्षिप्त पार्ने काम भयो । जतिसुकै पीडा खेपे पनि हामीले सँगै जिउने अठोट गरेका छौ ।
हाम्रो समाजमा समलिङ्गी या तेस्रो लिङ्गी भन्नासाथ वेश्यावृत्ति, छलछाम, चोरी र विभिन्न अपराध गर्नेे मानिस सोचिन्छ जुन गलत हो । बहुमतमा रहेका विपरीतलिङ्गीभित्रै पनि त्यस्तो सोच–व्यवहार भएका मान्छे छैनन् र ? सबै नस्ल–समुदायमा सबै प्रकारका मानिस हुन्छन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमाथि मात्र दोष थोपरिनु न्यायसङ्गत हुन्छ र ? एका–दुई व्यक्तिको व्यवहारलाई इङ्गित गरेर समग्र समूह वा समुदायबारे एउटै दृष्टिकोण बनाउनु गलत हो ।
यौनसम्बन्ध विपरीतलिङ्गी मात्र नभई भावना मिल्ने दुई व्यक्तिबीच पनि हुन्छ र हुनुपर्छ भन्ने हामीलाई लाग्छ । यौनबाहेक भावनात्मक सम्बन्ध मात्र राख्ने मान्छे पनि छन् । केटीबीचको यौनसम्बन्धले बच्चा दिन त सक्दैन तर हामी आफैमा भने पूर्ण सन्तुष्ट हुन्छौ । समलिङ्गी पुरmष वा महिला जो जे भए पनि शारीरिक रुपमा सन्तान जन्माउन सक्षम त हुन्छन् तर मानसिक रुपमा न महिला समलिङ्गी पुरmषसँग यौनसम्बन्ध राख्न रुचाउँछन् न त पुरुष समलिङ्गी महिलासँग ।
समाज, परिवारले यस्तो सम्बन्धलाई अझै नस्विकारेकोमा हामी दुःखी छौ । म मूर्ति देख्नासाथ ढोग्दै हिड्ने केटी होइन तर दुःखमा ‘हे भगवान् चाहि भन्छु । भगवान्ले हामीलाई जुन रुपमा जन्म दिए, त्यसमा गुनासो छैन । बरु समलिङ्गी महिला बनाइदिएकोमा कृतज्ञ छु । जीवन प्रकृतिको सुन्दर रचना हो । यसमध्ये म पनि प्राकृतिक रचना हुँ ।
जन्मजात स्वभावअनुसार बाँच्न पाउनु मान्छेको नैसर्गिक अधिकार हो । जब समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइन्छ तब मात्र हामीले कमाएको र पुख्र्यौली सम्पत्तिमा अधिकार स्थापित गर्न सक्छौ, धर्मसन्तान राख्न पाउँछौ वा कृत्रिम गर्भधारण गर्न सक्छौ । अनि मात्र वैधानिक परिवार निर्माण गरी सुरक्षापूर्वक जिउन सहज हुनेछ ।

अनुज पिटर (समलिङ्गी पुरुष)
समलिङ्गी पुरुषका रुपमा आफूलाई चिनाउन पाउँदा गौरव गर्छु । बहुसङ्ख्यक विपरीतलिङ्गीका रुपमा जन्मेको भए यतै कतै हराइसकेको हुन्थे तर फरक पहिचानले चिनिन पाएको छु । मैले आफ्नो पहिचान बनाउन उतिसारो सङ्घर्ष गर्नुपरेको छैन । थोरै समलिङ्गी पुरmषहरुमध्ये एक हुँ म ।
समान लिङ्ग भएका केटा–केटा र केटी–केटीबीच यौनिक गतिविधि गर्ने नै समलिङ्गी हुन् । समलिङ्गी महिलाले महिलासँगै यौनसम्बन्ध राख्छन् । पुरुष समलिङ्गीले पुरुषसँगै यौनव्यवहार गरेर सन्तुष्टि लिन्छन् । जसरी विपरीतलिङ्गी जोडी एकअर्कासँग नजिकिन उत्तेजित हुन्छन् त्यसै गरी समलिङ्गी पुरुषअर्का पुरुषप्रति आकर्षित हुन्छन् ।
महिलाप्रति कुनै आकर्षण नहुने पुरुषले कसरी यौन–व्यवहार राख्छन् ? यसको सहज जवाफ छ । हाम्रो मुख्य यौन–व्यवहार एनल सेक्स र ओरल सेक्स हो । उत्तेजित लिङ्ग गुदद्वार र मुखमा प्रवेश गराउने, टङ किस, फोरप्लेजस्ता गतिविधिबाट सन्तुष्टि लिन्छौ ।
अझ स्पष्ट रुपमा यसरी व्याख्या गर्न सकिन्छ–
बटम रुल : पुरुषलाई नै महिला ठानेर उनको गुदद्वार वा मुखमा मैथुन गर्ने ।
टप रुल: केटाको जस्तै मुखमैथुन गर्ने ।
भर्स रुल : केटा–केटी दुवैको भूमिका गर्ने
मेरो स्थायी घर दिक्तेल, खोटाङ हो । अहिले ललितपुर, ग्वार्कोमा बसोबास गर्छु । परिवारमा तीन दिदीबहिनी, दुई दाजुभाइ र बुबाआमा छन् । म सम्पन्न लाहुरे परिवारभित्र जन्मिएको हुँ ।
धेरै साथीहरुलाई आफ्नो लैङ्गिक पहिचान खुलाउँदा निकै कठिनाइ भोग्नुपरिरहेको छ । कतिपय घर र समाजबाटै निकाला भएको देखेको छु । यस अर्थमा म निकै भाग्यमानी हुँ । मेरो पहिचान खुलाउँदा पनि परिवारबाट कुनै आपत्ति भएन । उहाँहरुले सजिलै बुझ्नुभयो– म आफूले चाहेर समलिङ्गी भएको हुइनँ ।
वास्तवमा यौनिक व्यवहारबाहेक सबैमा समान छन् समलिङ्गी–तेस्रो लिङ्गीहरु । अरुसरह पढ्न, काम गर्न सक्छन् । तर, समाजमा अझै पनि हिजडा, नपुंसक आदि उपनाम दिएर उनीहरुलाई हेला गर्ने प्रवृत्ति कायमै छ । समलिङ्गीले त पहिचान लुकाएरै पनि जीवन अगाडि बढाउन सक्छन् । तेस्रो लिङ्गी महिला–पुरmष भने पहिचानकै कारण थुप्रै क्षति बेहोर्न बाध्य छन् ।
विपरीतलिङ्गीसँग यौनसम्बन्ध राख्नुपरे मरेतुल्य हुन्छौ, यो हाम्रो स्वभाव हो । भित्री आत्माले नै नमानेपछि सामाजिक दबाब दिएर कसरी हुन्छ ? तर, दबाबकै कारण आत्मा मारीमारी विपरीतलिङ्गीसँग बिहे गरेर सन्तान जन्माउनुभएका साथी पनि थुप्रै छन् । राज्यले नै कानुनमार्फत समलिङ्गीलाई जबरजस्ती बलात्कार गराइरहेको मेरो आरोप छ । मानवअधिकार त त्यो हो– जो जुन व्यवहार चाहन्छ त्यसैअनुसार बाँच्न पाओस् । तर, त्यो व्यवहारले समाजमा क्षति नपु¥याओस् । हामी यौनिक अल्पसङ्ख्यकको एउटै माग छ– समलिङ्गी बिहेलाई मान्यता दिइयोस् ।
अहिले समलिङ्गी बिहे गरेका धेरैको दाम्पत्य स्थायी भएको पाइँदैन । यसमा सामाजिक र कानुनी दुवै विभेद प्रमुख कारक हुन् । समलिङ्गी महिलाद्वय प्रेमकुमारी नेपाली र रजनी नेपालीले सन् २००८ मा समलिङ्गी विवाहलाई मान्यता दिन सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले ‘उमेर पुगिसकेका व्यक्ति सँगै बस्न पाउने’ भनी फैसला गरिदियो । यो आदेशले कानुनसरह मान्यता पाउनुपर्ने हो तर व्यवहारमा देखिएन । यो दोधारे नीति अन्त्य हुनुपर्छ । हामी यौनिक अल्पसङ्ख्यक यस्तै सामाजिक, सांस्कृतिक र कानुनी त्रासबाट गुज्रिरहेका छौ ।
एलिन भण्डारी (तेस्रो लिङ्गी पुरुष)
म काठमाडौकै रैथाने हुँ । महाराजगन्जस्थित टिचिङ अस्पतालमा जन्मिएको । जन्मिँदा म छोरी नै थिएँ । जैविक रुपले केटी भए पनि उमेर बढ्दै जाँदा आफूलाई केटा ठान्न थाले । वास्तवमा केटा वा केटी भन्ने कुरा लिङ्गअनुसार होइन, भावनात्मक रुपमा अझ प्रगाढ हुँदो रहेछ । मैले पनि करिब सात वर्षको उमेरमा पहिलोचोटि यही महसुस गरे । हुर्कंदै जाँदा केटीप्रति नै आकर्षित हुन थाले । केटीसितै प्रेम गरौ, शारीरिक स्पर्श गरौजस्तो भइरहन्थ्यो । आफू केटी भएर पनि किन केटीप्रति नै आकर्षण भएको होला ? जिज्ञासा लागिरहन्थ्यो ।
महाराजगन्जस्थित मोडर्न स्कुल पढ्दाको कुरा हो । बङ्गलादेशी प्रोजेक्टमा काम गर्ने एउटी केटीसँग प्रेममा परे । उनी समलिङ्गी–तेस्रो लिङ्गी केही थिइनन् । तर, माया भावनामा बगेर गरिदो रहेछ । हामी दुवै केटी भए पनि यही महसुस ग¥यौ । प्रेमिल दिन रोमाञ्चक र भावनात्मक बन्दै गए ।
हामीले सम्बन्धलाई सकेसम्म अरुबाट लुकाउन खोजेका थियौ तर सकिएन । ६ वर्षपछि दुवैका परिवारले थाहा पाए । उहाँहरुले हाम्रो सम्बन्ध रुचाउनुभएन । दिनहुँको कचकच र मानसिक यातना सुरु भो । बिहे गरेर छुट्टै बस्ने आँट पनि आएन । केही महिना यही तनाबमा रुमल्लिरह्यौ । विकल्प निस्किएन । अन्ततः आफ्नो मायालाई विसर्जन गर्ने निधो ग¥यौ । त्यस दिन हामी घण्टौ अँगालोमा बाँधिएर रोइरह्यौ ।
त्यो घटनापछि परिवारको हेपाइ अझ बढ्यो । मेरो लैङ्गिक स्वभाव परिवारले बुझिसकेको थिएन । मैले पनि बुझाउने आँट गरिनँ । मानसिक तनाब बोकेरै बसिरहेको थिएँ । नजिककी एक केटीसाथीले मेरो पीडा सुनेपछि मलाई नीलहिरा समाजको कार्यालय पु¥याइदिइन् । उनले टिभी र पत्रपत्रिकामार्फत तेस्रो लिङ्गी र समलिङ्गी समुदायबारे थाहा पाएकी रहिछन् । मलाई त्यसअघि हामीजस्तो समुदायको संस्था पनि हुन्छ भन्ने थाहा थिएन । यो ०६९ सालतिरको प्रसङ्ग हो ।
त्यहाँ पुगेपछि म हर्षले गदगद भएँ । मजस्ता मान्छे त कति हुँदा रहेछन् कति ! ती साथीप्रति साहै्र कृतज्ञ छु । नीलहिरामा आउँदा, बस्दा धेरै साथी पाएँ । मेरो जस्तै पीडा रहेछ उनीहरुको । बिस्तारै आफ्नो लैङ्गिकताबारे पनि बुझ्दै गएँ । द्विविधा हट्यो । नीलहिरामा नजाँदा पनि म आफूजस्ता साथीहरुको सर्कलमा थिएँ तर सबै जनालाई आफ्नाबारे थाहा थिएन । पहिचान खुल्ने डरले यो विषयमा कसैसँग कुरा गर्न चाहँदैनथ्यौ । नीलहिराका विभिन्न कार्यक्रममा सहभागी हुन थाले । यसै दौरान समाजकै कार्यालयमा हटलाइन अपरेटरको काम पाएँ । नेपालका विभिन्न स्थान र विदेशबाट पनि आफ्ना बारे द्विविधामा रहेका र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबारे बुझ्न चाहने व्यक्तिले फोन गर्छन् । उनीहरुलाई उचित परामर्श दिन्छु । अहिले म आफूसँग खुसी छु । यो कामसँग पनि ।
परिवारलाई आफ्नो लैङ्गिक व्यवहारबारे बुझाउने प्रयास गरिरहेकै छु । आमा, बुबा, दाजु, दिदी सबैलाई कुरा राखिसके । दाजुले केही प्रतिक्रिया दिनुभएको छैन । दिदीहरु पनि मौन हुनुहुन्छ । आमाबुबाले भने मानिसक्नुभयो ।
म पुरुष बन्न हरसम्भव प्रयत्न गरिरहेको छु । ‘मेल हर्मोन’ इन्जेक्सन लगाउँछु । यसले मेरो स्वर केटाको जस्तो मोटो भएको छ । दाह्रीजुँगा आएको छ, स्तन सुकिसक्यो । यो इन्जेक्सन कृत्रिम आकृति बढाउन लगाइन्छ, साइड इफेक्ट पनि छ । तर, केटा बन्ने हरपलको तिर्सनाका अघि मलाई साइड इफेक्टको चिन्तै लाग्दैन ।
अहिले लिङ्ग प्रत्यारोपण प्रविधि पनि विकास भइसकेको छ । तर, हामीजस्ता तेस्रो लिङ्गी पुरुषका लागि यो अति नै जटिल छ । त्यसैले प्रत्यारोपणबारे सोचिसकेको छुइनँ । यसका फाइदा, उपादेयता र खर्च अध्ययन भने गरिरहेको छु ।
कुसुम विष्ट (अन्तरलिङ्गी महिला)
म जन्मैदेखि दुईवटै लिङ्ग भएको सन्तान थिएँ । ललितपुरस्थित बिएन्डबी अस्पतालमा मेरो जन्म हुँदा आमाबुबा छक्क पर्नुभएछ । मभन्दा अगाडिकी दिदी पनि त्यस्तै भएकाले उहाँहरु चिन्तामा डुब्नुभयो ।
हामी दुईपछि जन्मिएका भाइ भने प्रस्ट पुरmष छन् । यसले उहाँहरुलाई अलि खुसी दियो होला । तर, दिदी र म अन्तरलिङ्गी भएकाले अप्ठ्यारोमा पर्नुभयो । आफन्त र छिमेकी ‘छोरा कि छोरी ?’ भनेर सोध्थे । के उत्तर दिने ?
‘महादेव–पार्वतीको संयुक्त रुप अर्धनारीश्वरले जन्म लिएका छन् हाम्रा घरमा, यसमा गुनासो होइन, गौरव गर्नुपर्छ’, हजुरबा र हजुरआमा भन्नुहुन्थ्यो ।
उहाँहरुले आमाबुबा मात्र होइन, आफन्त–इष्टमित्रलाई पनि यसै भनेर सम्झाउनुभयो । समाजले हामीप्रति सकारात्मक सोच राख्न थाल्यो ।
हुन त आमाबुबाले हामी दुवैको लिङ्ग अप्रेसन गरेर हटाउन भारतका विभिन्न सहरसमेत पु¥याउनुभयो । त्यति बेला हामी आठ–दस वर्षका भइसकेका थियौ । डाक्टरहरुले जन्मँदै हटाएको भए फरक नपर्ने तर अब अप्रेसन गर्दा ज्यानै जान सक्ने सम्भावना औल्याएछन् । खर्चिलो पनि उत्तिकै । त्यसपछि बुबाले हामीलाई त्यत्तिकै घर ल्याउनुभयो ।
मैले आफ्नो लैङ्गिक पहिचान ११ वर्षको उमेरमा थाहा पाएँ । आफू बहुसङ्ख्यक विपरीतलिङ्गी, समलिङ्गी र तेस्रो लिङ्गीभन्दा पृथक् रहेछु भन्ने महसुस भयो । अरुको एउटा मात्र लिङ्ग हुन्छ, मेरो त दुईवटा ।
हामीलाई अनेक उपनाम राखेर छेडखानी गर्नेहरु नभएका होइनन् । तर, हजुरबा–हजुरआमा, आमाबुबाको सहयोग र समर्थनले हामीलाई जीवनदेखि दिक्क भने लागेन । अभिभावकको सधै सहयोग र सद्भाव रह्यो । आठ कक्षा पढ्दै गर्दा हजुरबुबाले हामीलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको छाता सङ्गठन अर्थात् नीलहिरा समाज पु¥याइदिनुभयो । त्यसअघि यति ठूलो संसारमा म र दिदी मात्र यस्ता मान्छे छौ भन्ने लाग्थ्यो । तर, समाज पुगेपछि हामी एक्लो नरहेको थाहा पायौ। आफूजस्ता सयौ साथी भेटिएपछि खुसीले रमायौ । दुःख बिसाउने मन्दिर यही नीलहिरा रहेछजस्तो लाग्यो ।
अन्तरलिङ्गी जीवन जिउने क्रममा मैले केही पाठ सिकेकी छु जुन धेरै जनालाई उपयोगी पनि हुन सक्छ । अन्तरलिङ्गीले बुझ्ने भएपछि आफूलाई कुन रुपमा अनुभूति गर्छ त्यसैअनुसार अप्रेसन गरेर स्त्रीलिङ्गी वा पुलिङ्गी बनाउने सुविधा भए दोहोरो जिन्दगी बाँच्नुपर्दैन । तेस्रो लिङ्गीमा पनि लैङ्गिक चेतना आएपछि उसले चाहेअनुसार लिङ्ग परिवर्तनको सहज वातावरण तयार हुनुपर्छ । आफ्नो जन्मजात पहिचानमा गौरव गर्ने तेस्रो लिङ्गी वा अन्तरलिङ्गीको हकमा भने कुरा बेग्लै हो ।
म अन्तरलिङ्गी पहिचानकी महिला तर जीवनसाथीका रुपमा महिला नै चाहन्छु । मेरी दिदी पुरmष चाहन्छिन् । अन्तरलिङ्गीभित्रै पनि आफूलाई महिला वा पुरmष ठान्ने दुवै हुन सक्छन् । मेरो अङ्ग महिला र पुरmष दुवैको भए पनि आफूलाई महिला ठान्छु । तर, ममा महिलामा हुनुपर्ने स्वभाव, मासिक धर्म, पाठेघर केही पनि छैन । त्यसैले आफूजस्तै अन्तरलिङ्गी महिलासँग विवाह–बन्धनमा बाँधिने इच्छा छ । मेरी दिदी अन्तरलिङ्गी पुरmषसँग सम्बन्ध राख्न सक्षम छिन् ।
हामी समलिङ्गी वा विपरीतलिङ्गी होइन, अन्तरलिङ्गीकै खोजीमा छौ । हामीलाई शारीरिक तथा मानसिकता सम्बन्ध स्थापित गर्न अन्तरलिङ्गीसँग जति सहज र व्यवस्थित हुन्छ, अरुसँग हुँदैन । स्त्री पुरुषसँग र पुरुष स्त्रीसँग आकर्षित हुनु विश्वव्यापी सत्य भए पनि हामी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको दुनियाँमा भने त्यो व्यक्तिविशेषको रुचिमा भर पर्छ ।
हाम्रो दुनियाँमा महिला–महिला आकर्षित हुनु पनि प्राकृतिक सत्य नै हो । किनकि हामी योजना बनाएर जन्मिएका होइनौ । मातापितालाई पनि यसको कुनै पूर्वज्ञान हुँदैन । हाम्रो जन्म प्राकृतिक हो । फरक यत्ति मात्र हो– हामी तेस्रो लिङ्गी, द्विलिङ्गी, समलिङ्गी र अन्तरलिङ्गी अल्पसङ्ख्यक छौ, विपरीत लिङ्गीहरु बहुसङ्ख्यक । संसारमा भ्रम छ– बहुसङ्ख्यक नै सत्य हो ।
नेपालमा पाँचै प्रकारका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय छन् । नीलहिरा समाजमा अहिलेसम्म ६ लाखजति सम्पर्कमा आएका छन् । तिनमा पनि हामीजस्ता अन्तरलिङ्गी निकै कम छन् । भएकामध्ये पनि सबै जना सार्वजनिक हुन चाहँदैनन् ।
२०७३ सालमा देशव्यापी भेला गराउँदा अन्तरलिङ्गी जम्मा ३० जना थियौ । खुलेर भेलामा सहभागी हुने त १५ जना मात्र । अहिले समाजको नियमित सम्पर्कमा २५–३० भन्दा बढी छन् । सबै जना खुलेर आउन नसक्नुको मुख्य कारण सामाजिक तथा पारिवारिक असुरक्षा, असहयोग र प्रताडना हो । त्यसमाथि राज्यबाट कुनै आरक्षण छैन । हामीलाई ‘अन्य’ को पहिचानमा नागरिकता र पासपोर्ट त दिइयो तर राज्यका निकायमा आरक्षणको व्यवस्था गरिएन । जबसम्म शिक्षा, स्वास्थ्य, उपचार, जागिर, राजनीतिक प्रतिनिधित्वलगायत क्षेत्रमा आरक्षण र विशेष अधिकार हुँदैन तबसम्म पारिवारिक र सामाजिक रुपमा प्रताडित समुदायले उठ्न पाउनेछैन । यी नागरिकको वृत्तिविकासमा ध्यान नपु¥याएसम्म देशको समष्टिगत विकास भएको मान्न सकिन्न ।
(हालै सार्वजनिक भूमिका श्रेष्ठद्वारा लिखित पुस्तक ‘भूमिका’को पुस्तक अंश)































प्रतिक्रिया