पुस्तक समिक्षा: टिष्टुङलाई चिनाउँने ऐतिहासिक दस्तावेज

पुस्तक समिक्षा: टिष्टुङलाई चिनाउँने ऐतिहासिक दस्तावेज

केन्द्रबिन्दु
0
Shares

(ज्ञानमणि नेपाल कालोटोपी)

साहित्यमा एउटा मात्र विषय अटाउँदैनन् । र कथा, कविता, निवन्ध, उपन्यास लगायत मात्र पनि साहित्य हुँदैन । कुनै ठाउँ विशेषका इतिहास र त्यहाँको रहन सहन लगायत पनि पुस्तकको आकारमा लेखिन सक्छन् र साहित्यमा तिनीहरुलाई सुरक्षित गर्न सकिन्छ ।

यस्तै मध्ये एक हो हालै सार्वजनिक भएको पुस्तक ‘टिष्टुङ चिनारी’ । यो कुनै साहित्य कृति होइन तर ऐतिहासिक र संग्रहणिय कृति चाँही पक्कै बनेको छ । यो मकवानपुरको थाहानगरपालिकास्थित टिष्टुङ गाउँको चिनारी हो । लेखक हुन् स्थानीय पत्रकार रामजी बलामी । बलामीको यो दोस्रो पुस्तक हो । यसमा उनले टिष्टुङका विविध विषयहरुलाई उठान गरेका छन् ।

टिष्टुङ आफैंमा पुरानो ऐतिहासिक ठाउँ हो । र, यो ठाउँ समग्र नेपालको इतिहासमा पनि अंकित छ । यहाँ ऐतिहासिक शिलालेख छ, जुुन निकै नेपाली ईतिहासको अमूल्य सम्पत्ती हुन् । राजधानीबाट करिव ६० किलोमिटरको दुरीमा रहेको यो ठाउँका इतिहासका अतिरिक्त यहाँको धार्मिक, सामाजिक, आर्थिक, शैक्षिक र भौगोलिक परिवेशहरु हिजो के थिए र आज कुन गतिमा छन् भन्ने विषय उतार्ने उद्देश्यले तयार पारिएको टिष्टुङ चिनारी यस ठाउँको लागि त ऐतिहासिक दस्तावेज हो नै । साथै, समग्र मकवानपुर र नेपालकै पनि चिनारीको रुपमा रहेको छ ।

लेखक बलामीले यसमा प्राचिन गोपालवंशदेखि वर्तमान गणतन्त्रसम्मका घटनाक्रमहरुलाई निकै रोचक र घतलाग्दो पाराले उतारेका छन् । यसर्थ पनि यो इतिहास बुझ्न चाहानेहरुका लागि भरपर्दो खुराक बन्न सफल भएको छ । टिष्टुङ हाल थाहानगरपालिकाको वडा नं. ६ मा पर्छ । यहाँ अथाहा सम्पदाहरु छन् । यहाँ विविध जातजातीका मानिसहरु बसोबास गर्छन् । कृषिका लागि यो निकै प्रख्यात ठाउँ हो भने पर्यटकीय दृष्टिकोणले पनि निकै रमाइलो छ । यी सबै कुराहरु यस पुस्तकबाट जानकारी लिन सकिनेछ ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै यो ठाउँको नाम टिष्टुङ कसरी मेत्राङ पुग्यो भन्ने बिषयहरु पनि पुस्तकमा समावेश छन् ।

त्यस्तै गरी टिष्टुङको भौगोलिक बनावट, हावापानी, बनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । यसका साथै टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ ।

त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रबाराही माई र तीन बर्षे बज्रबाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । बाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङकोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ ।

यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम, स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था, पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि तथ्य र मितिसहित सिलसिलेवाररुपमा प्रस्तुत गरिएको छ । त्यस्तै पुस्तकमा स्व. रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको प्रभावका बारेमा पनि पुस्तकमा समावेश छन् ।

पुस्तकमा विभिन्न शिर्षक र उपशिर्षक गरि २९ वटा विषयवस्तुहरु समेटिएका छन् । पुस्तकमा भनिए अनुसार यहाँ धेरैवटा ऐतिहासिक शिलालेखहरु रहेका छन् । अहिलेसम्म आधादर्जन भन्दा वढी शिलालेखहरुमा टिष्टुङको मात्र नभएर समग्र नेपालकै पनि इतिहास उल्लेख गरिएको छ ।

पढ्दै जाँदा एउटा ठाउँ विशेषका विषय उल्लेख गरिएको जस्तो लागे पनि टिष्टुङ चिनारी एउटा इतिहास हो । आफ्नो ठाउँ, नगर, जिल्ला र देश चिनाउने लेखकको प्रयास उल्लेखनीय छ । पुस्तकको आकार सानो छ । थोरै समयमा पढ्न सकिन्छ तर यसलाई अलि ठूलो आकार बनाएर समग्र जिल्लाकै सबै विषय अटाउन सकिएकोे भए अझ राम्रो हुने थियो । यसमा लेखक चुकेका छन् । तर आगामी दिनहरुमा उनको लेखनीको क्षेत्र अझै फराकिलो बन्ने हो भने सोचे भन्दा राम्रो हुन सक्छ ।

Logo