‘स्पेयर पार्ट्स उत्पादनको सम्भावना पहिचान गरी अनधिकृत आयात रोक्नुपर्छ’

‘स्पेयर पार्ट्स उत्पादनको सम्भावना पहिचान गरी अनधिकृत आयात रोक्नुपर्छ’


स्पेयर पार्ट्स अटोमोबाइल क्षेत्रका लागि निकै महत्वपूर्ण वस्तु हो । जसरी औषधी मानव जीवनमा अति आवश्यकभित्र पर्छ । त्यस्तै अटोमोबाइलका लागि स्पेयर पार्ट्स अपरिहार्य छ । नेपालमा अटोमोबाइल क्षेत्रको विस्तार भएसँगै स्पेयर पार्ट्सको बजार दिन प्रतिदिन बढ्दै गएको छ । अटो बजारलाई हेरेर स्पेयर पार्ट्सको माग बढ्नु स्वभाविक हो ।

तर, जुन रेसियोमा गाडीको संख्या बढी रहेका छन् । त्यो अनुसार भने स्पेयर पार्ट्सको व्यवासाय बढ्न सकेको देखिँदैन । जसको मेन कारण अनधिकृत आयात हो । नेपालमा जति पनि सवारी गुडिरहेका छन् । तिनीहरूमा स्पेयर पार्ट्सले १०० प्रतिशत ठाउँ पाएको छैन । किनभने बोर्डरका अधिकांश सवारीहरू भारत लगेर सर्भिस गराउने सिस्टम छ ।

भारतमा लगेर सर्भिस गरेर ज्याला बुझाइ फर्किने परिपाटीले यो समस्या निम्त्याको हो । यसले देश र व्यवसायीहरू दुवैलाई फाइदा पुर्याउँदैन । चोरी पैठारीबाट हुने स्पेयर पार्ट्सको आयात र सीमा पारी लगेर सवारी बनाउने प्रक्रियालाई रोक्नुपर्छ भनेर व्यवसायीको तर्फबाट आवाज उठाइरहेका छौं । अनधिकृत आयातलाई निरूपणको लागि सरकारले चाल्नुपर्ने कदम धेरै छन् ।

बोर्डरमा सशस्त्रको टोलीले यस्तो आयातमा थप कठाई गरिदिएको खण्डमा केही सहज हुन्छ, जसले यहाँ व्यापार गरेर बसेका व्यवसायीलाई केही हदसम्म सहयोग हुन्थ्यो । नेपालमा स्पेयर पार्ट्सको सम्भावना नराम्रो भन्न मिल्दैन । नेपालमा स्पेयर पार्ट्सको व्यवसाय फस्टाउने सम्भावना हुँदाहुँदै पनि यसलाई फस्टाउन दिइएको छैन ।

सरकारले यसको अनधिकृत आयातलाई निरूपण गर्नमा लागे मात्रै यहाँ सम्भावनाको नयाँ ढोका खुल्थे । झट्ट हेर्दा सीमापारी लगेर सर्भिस गर्नेलाई केही गर्न सकिँदैन । तर, देशको यो ठूलो समस्या भएकाले यसलाई रोक्नको लागि केही कदम भने चाल्नु पर्छ ।

नेपालमा स्पेयर पार्ट्सका उद्योगहरू स्थापना भइरहेका छन् । गोरखकाली टायर उद्योग बन्द भएता पनि आज टायर, हेल्मेट, लुब्रिकेन्ट, ब्याट्री लगायतका वस्तुहरू उत्पादन हुन थालेका अवस्था छ । यद्यपि कतिपय उद्योगी साथीहरू स्पेयर पार्ट्स उद्योग सञ्चालनका रणनीति बुनि राख्नुभएको छ । अटोमोबाइलको विकाससँगै अहिले स्पेयर पार्ट्स उत्पादन फस्टाउँदै गएका छन् ।

नेपालमै उत्पादन भएका स्पेयर पार्ट्सले ठूलो मात्रामा बजार धान्न थालिसकेको छ । ति उद्योगहरू बजारमा बिस्तारै लोकप्रिय बन्दै छन् । उपभोक्ताहरूले त्यसमाथि विश्वास र प्रयोगलाई बढाएका छन् । लुकिङ ग्लास, ब्रेक शु, क्लज तथा ब्रेक केबलको पनि उत्पादन सुरु हुन थालिसकेको छ । यसले भविष्यमा थप नयाँ उद्योग सञ्चालनमा आउने देखाउँछ ।

नेपालमा अटोमोबाइलका उद्योग लाग्ने र उत्पादन हुने क्रम जारी छ । जसरी उपभोक्तामा नेपाली उत्पादनलाई पत्याउँछ थाल्छन्, त्यसरी नयाँ आइटमका उद्योग थपिँदै जान्छ । स्पेयर पार्ट्स उत्पादनमा नेपाली व्यवसायीको फोकस छ । स्पेयर पार्ट्सको उत्पादन केही वर्षपछि बढ्छ ।

कमसल स्पेयर पार्ट्स पाइँदैन

नेपालमा गुणस्तर स्पेयर पार्ट्स नआएको सुनिन्छ । गुणस्तर स्पेयर पार्ट्स सवारीमा नलाग्नुमा सवारी चालकको कमजोरी हो जस्तो मलाई लाग्छ । किनभने तपाईंले सर्भिसिङका लागि कुनै पनि वर्कसपमा लगेर सवारी छाड्नु हुन्छ । तर, त्यहाँ कुन पार्ट्स लगाइदियो भनेर हेर्नुहुन्न । जसका कारण पनि स्पेयर पार्ट्स कमसल लागेका छन् ।

राम्रो वर्कसपमा लगेर सर्भिस गरेका सवारीमा गुणस्तरहीन स्पेयर पार्ट्स लगेका छैनन् । र, त्यो सवारीले कहिले पनि धोका दिएको छैन । सर्भिसिङमा सवारी छाडिदिने अनि उसले पार्ट्स नै नफेरिदिकन बनाइदिएकाे र, त्यसको केही दिनपछि समस्या आएका उदाहरण धेरै छन् । जे होस् व्यवसायीले आयात गर्ने स्पेयर पार्ट्स कमसल हुँदैन ।

आधिकारिक आयात गर्नेले मलाई विश्वास छ, उसले कमसल सामान ल्याउँदैन । किनभने उसले कमसल सामान आयात गर्यो भने त्यो कम्पनी प्रति प्रश्न आउँछ । कमसल खाल्का सामान आउनु अनधिकृत आयातले हो ।

बजाजको सामानको खोल, तर सामान अरूको लिएर आउने पनि बजारमा होलान् । त्यस्ता सामानहरू कहिले कहीँ भेटिन्छ । त्यो सामान कमसल हुन्छ । आधिकारिक तवरबाट आइरहेको सामानहरू कमसल छैनन् । यसमा ग्राहक आफै पनि सजग हुन आवश्यक छ । स्पेयर पार्ट्सको आयातमामा नेपाल सरकारबाट पनि समस्या सिर्जित छन् । भन्सारमा स्पेयर पार्ट्सको मूल्य, सन्दर्भ मूल्य सूचिका आधारमा हेरिन्छ । तर, त्यो खासमा जायज होइन ।

मूल्यसूचीको आधारमा कतिपय सामानको मूल्य क्यालकुलेट गर्नै मिल्दैन । मारुती ८०० कार वा पजेरोको सामान ल्याए पनि मूल्यांकन एउटै गरिन्छ । यो दुवै गाडी किन्दा मूल्य भने फरकफरक पर्छ । मोटरसाइकलको सामान आयातमा पनि समस्या उस्तै छ । त्यसैले सन्दर्भ मूल्यसूचीलाई सामान अनुसारको वर्गीकरण गर्न आवश्यक छ । सन्दर्भ मूल्यसूची अनुसारका केही विषय नमिल्दा हामीलाई जरिवाना तिराइन्छ । हामीले सही मूल्यमा सही तरिकाले सामान ल्याउँदा पनि विभिन्न किसिमका झन्झटहरु झेल्नुपरेको छ ।

त्यसैले, उक्त सूची सच्याउन जरुरी छ । सरकार अनधिकृत आयातमा गम्भिर भयो भने नेपालको स्पेयर पार्ट्सको व्यवसाय बढ्छ । रोजगारी सिर्जना साथै यो क्षेत्रबाट राजश्व संकलनमा पनि बृद्धि आउँछ । चोरी पैठारीलाई नियन्त्रण गर्नको लागि सरकारले भन्सार दरमा केही सहुलियत दिए मात्र यो केही कम हुन्थ्यो । किनभने अनधिकृत आयात पैसा बचाउनका लागि हुने हो । त्यसैले भन्सार शुल्क थोरै घटाए चोरी पैठारीको दर घट्छ जस्तो मलाई लाग्छ ।

ईभीलाई नेपाल सरकारले जुन तरिकाले प्राथमिकता दियो, आफ्नै देशको इन्धन भनेर जुन नारा छ, त्यस अनुसार ईभीको खाँचो पनि छ । ईभी आउनु नराम्रो होइन । स्पेयर पार्ट्स यस्तो चिज हो । जुन डिजेल र ईभी दुवैको लागि काम लाग्छ । यसमा केवल इन्जिन र ब्याट्रीमा मात्र फरक छ ।

अहिले ईभी गाडी नयाँ छन् । नयाँ गाडीमा तुरुन्त समस्या आउँदैन । केही समयपछि ईभीका पनि स्पेयर पार्ट्सको माग आएको खण्डमा त्यो पनि हामी ल्याउने छौं । हामीले ईभीमा पनि २/३ वर्षपछि ठाउँ पाउँछौं । ईभीको प्रयोग बढी राखेको देखिएता पनि दक्ष जनशक्ति त्यो अनुरूपको उत्पादन हुन सकेको छैन ।

ईभीका प्राविधिकहरू तयार गर्ने विषयमा नाडाले छलफल गरिरहेको छ । अहिले गाडी बिक्रेता कम्पनी आफैंले सर्भिस दिँदै आएका छन् । बिस्तारै ईभीका प्राविधिकहरू तयार भई आगामी दिनमा आईसीई भेहिकलको जस्तै वर्कसपहरू सञ्चालनमा आउने देखिन्छ । ईभी गाडीमा समावेश भएको प्रविधि र क्षमता अनुसार त्यसको स्पेयर पार्ट्सको मूल्य पर्न सक्छ ।

ईभीको अझै प्रयोग बढ्यो भने स्पेयर पार्ट्स व्यवसायमा इन्जिन सम्बन्धी काम घट्ला । तर, त्यो ब्याट्रीमा कन्भट हुन्छ । बाँकी सबै यी पार्ट्सहरु फिट हुन्छ । त्यसैले ईभी प्रयोगमा आउँदै गर्दा स्पेयर पार्ट्सको व्यवसायमा ठूलो असर आउँछ जस्तो मलाइ लाग्दैन ।

नेपालमा स्पेयर पार्ट्सको उत्पादन बढी रहेको छ । त्यो उत्पादन यही खपत हुने हो । एउटै चिजको उत्पादन गर्ने उद्योग बढी भयो भने अस्वच्छ प्रतिस्पर्धा बढी हुन्छ । उसले ठाउँ पाउँदैन र बजारमा सामान मूल्य घटाएर बेच्नुपर्ने हुन्छ । त्यो अवस्था आयो भने उद्योग फलप हुनसक्छ । त्यसैले नेपाल सरकार यस्ता किसिमका उद्योगहरू कति वटा सञ्चालन गर्दा उपयुक्त हुन्छ भनेर अध्ययन गर्न जरुरी छ ।

उत्पादनको कस्ट घटाउनु पर्छ । जग्गा, विद्युत् उपलब्ध गरी उद्योगमैत्री नीतिको बनाएको खण्डमा औद्योगिक सम्भावना यहाँ धेरै छ । उत्पादन भएका सामग्रीको नेपाल गुणस्तर प्रमाण चिन्ह (एनएस) प्राप्त भयो भने ती सामग्री निर्यात गर्न पनि सहज हुन्छ । एनएस चिन्न पायो भने उपभोक्तालाई प्रयोग गर्न र पत्याउन सहज हुन्छ । लगानीको वातावरण सहज हुने र स्थिर नीति भए यहाँ धेरै नयाँ उद्योग लाग्छन् ।

कुनै पनि देशमा लगानी गर्न वा उद्योग सञ्चालनको लागि दीर्घकालीन नीति लिइएको हुन्छ । र, त्यहाँको औद्योगिक अवस्था फस्टाएर जान्छ । नेपालमा राजनीतिक स्ताइत्व नहुनु र सरकार फोरबदलसँगैको परिवर्तन हुने नीतिले लगानीकर्तालाई चिन्तित बनाएको छ । कस्तो नीति आउँछ भन्ने विषयमै व्यवसायी आफै कन्फ्युज हुँदा उद्योग सञ्चालनको अवस्थाले प्राथमिकता नपाएको हो ।

नयाँ उद्योग सञ्चालनको योजना

अटोमोबाइल विलासी वस्तु होइन, यो अति आवश्यक वस्तु हो । यस क्षेत्रले प्रत्यक्ष/अप्रत्यक्ष ११ लाखलाई रोजगारी दिएको छ । थप ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सक्ने क्षमता यस क्षेत्रले राखेको छ । ५० प्रतिशत भन्दा बढी बीमा क्षेत्रमा अटोमोबाइलको योगदान छ । सरकारले विलासी मात्र नभई यो क्षेत्रलाई रोजगार र अर्थतन्त्रको योगदानकर्ताको रूपमा पनि बुझ्नु पर्यो ।

आजको दिनमा अटोमोबाइल बिना दिनचर्या कटाउने विषय कल्पना गर्न सकिँदैन । स्वरोजगारको सम्भावना यो क्षेत्रमा धेरै छन् । नेपालमा सबैभन्दा बढी भारतीय गाडीहरू आयात हुन्छन् । भारतीय उत्पादक कम्पनीहरूले स्पेयर पाट्र्स विदेशबाट मगाएर प्रयोग गरेका हुन्छन् । त्यो स्पेयर पार्टस भारतबाट आयात गर्न मिल्दैन । त्यसैले अन्य देशबाट सामान ल्याउँदा पनि सहज वातावरण मिलाउनु पर्छ ।

हाम्रो कम्पनीले नेपालमा दुई पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रे सवारीको लागि आवश्यक स्पेयर पार्ट्सकाे आयात गर्दै आएको छ । हामीले ब्रान्डेड कम्पनीका स्पेयर पार्ट्स कसरी ल्याउने र गुणस्तर वस्तुको आयातमा फोकस हुँदै आएका छौं । हामीले ल्याएका सामान बजारमा प्रयोग र रुचाइएका पनि छन् । ईभी बढ्यो भने भविष्यमा यसको स्पेयर पार्ट्सको आयात गर्ने छौं ।

स्पेयर पार्ट्सको यो व्यवसायिक अनुभवलाई मिसाउँदै स्पेयर पार्ट्सको कुनै सेगमेन्टको उद्योग लगाउने सोचमा छौं । नेपालमा जुन उत्पादित सामानको सुरु भइसकेको छ, त्यो हामीले लगाउँदैनौं । किनभने दुई वटा उद्योगको उत्पादन नेपालमा खपत हुन्छ जस्तो मलाई लागेको छैन । एउटा आइटमको उत्पादन छिट्टै गर्ने योजनामा छौं ।

(अग्रवाल नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सदस्य, जोया ट्रेड कन्सर्न तथा सिग्मा अटो कम्पनीका प्रबन्ध निर्देशक हुन् । उनीसँग केन्द्रबिन्दुकर्मी राजिव न्यौपानेले गरेको कुराकानीमा आधारित)

Logo