काठमाडौं । अब महिला प्रहरीले पनि ९८ दिन प्रसूति बिदा पाउने भएको छ । छैटौं पटक संशोधन गरिएको प्रहरी नियमावली २०७१ अनुसार महिला प्रहरीलाई ९८ दिन प्रसूति बिदा दिईने भएको हो । मन्त्रीपरिषद्ले संशोधन स्वीकृत गरेको छ ।
नियमावली संसोधनसँगै महिला प्रहरी कर्मचारीले प्रसूति हुनुअघि र पछि गरी ६० दिनबाट ९८ दिन बिदा पाउने भएका हुन् । यसअघि नियमावलीको नियम ८३ को उपनियम (१) ले महिला प्रहरीले ६० दिन मात्रै प्रसूति बिदा पाउथे ।
६ वर्षसम्म अध्ययन बिदा पाउनेः
मन्त्रिपरिषद्ले नियमावलीको नियम ८६ संशोधन गरी उपनियम (२क) थप गरेको छ। थपिएको बुँदामा प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूहका प्रहरी निरीक्षक वा त्यसभन्दा मुनिका दर्जामा खुला प्रतियोगिताद्वारा नियुक्त भए प्रहरी कर्मचारीले सेवा अवधिभर एकै पटक वा पटकपटक गरी बढीमा ६ वर्षसम्म अध्ययन बिदा पाउनेछन्।
मन्त्रिपरिषद्ले ८६ नियमकै उपनियम ३ मा (३क) थप गरेको छ। यसमा अध्ययन सकेका प्रहरी कर्मचारीले अध्ययन पूरा गरी सेवामा हाजिर भएको तीन वर्ष पूरा नभई पुनः अध्ययन बिदा पाउने छैनन्। अध्ययन सकेर फर्किएपछि पुनः पाँच वर्षसम्म प्रहरी सेवा गरेर मात्रै अवकाश रोज्न पाउनेछन्।
बढुवाको बाटो खुल्योः
त्यस्तै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको बाटो खुलेको छ।संशोधनअघि नियमावलीको नियम २८ मा एसपीबाट एसएसपी बढुवा हुन राजपत्रांकित अधिकृत पदका लागि चार वर्ष एउटै पदमा सेवा गर्नुपर्ने सर्त थियो। अब भने तीन वर्ष मात्रै सेवा गरे पुग्नेछ।
अहिलेका प्रतिस्पर्धीलाई बढुवा गर्न खोजे पनि नियमावलीले रोकेको थियो। अधिकांश एसपीको सेवा अवधि चार वर्ष पुगेको थियो। नियमअनुसार बढुवा गर्न फागुन कुर्नुपर्ने बाध्यता थियो।
बाधा अडकाउफुकाउका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई नियमावली संशोधन गर्न सुझाएको थियो। मन्त्रालयले नियमावली संशोधनको प्रस्ताव गत आइतबार मन्त्रिपरिषद्मा पुर्याएपछि स्वीकृत भएको हो।
नियमावली संशोधनको प्रहरीबाटै स्वागतः
नियमावली संशोधनको प्रहरी अधिकारीले स्वागत गरेका छन् । प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले नियमावली संशोधन गर्नु निकै राम्रो कुरा भएको भन्दै यसले प्रहरीको मनोवलमा बढावा दिएको बताए । लामो समयदेखि प्रहरीमा एसपी दर्जाको बढुवा रोकिएकाले अब खुल्ने उनले बताए।
तस्बिरः नेपाल प्रहरी





























प्रतिक्रिया