विभुषणको कला: सिसाभित्र ऐतिहासिक धरोहरको परिदृष्य, संरक्षण हुने विश्वास

विभुषणको कला: सिसाभित्र ऐतिहासिक धरोहरको परिदृष्य, संरक्षण हुने विश्वास

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । के तपाईंले कल्पना गर्न सक्नुहुन्छ एउटा सिसाको बोतलभित्र ऐतिहासिक धरोहरलाई मूर्त रुप दिन सकिन्छ भनेर । के तपाईं विश्वास गर्न सक्नुहुन्छ सिसाको बोतलभित्र हस्तकला मार्फत कुनै पनि वस्तुलाई आकार दिन सकिन्छ भनेर ।

असम्भव जस्तो लाग्ला, तर कलाकार विभुषण ताम्राकार ३६ वर्ष देखि सिसाको बोतलभित्र आफ्नो कलालाई मूर्त रुप दिँदै आएका छन् ।

ताम्राकारको मुख्य विषेशता नै सिसा भित्र चित्रहरु बनाउनु हो । विभिन्न ऐतिहासिक धरोहर, मठमन्दिर, ग्रामीण भेगलाई प्रतिनिधित्व गर्ने घर होस् वा सहरी क्षेत्रलाई प्रतिनिधित्व गर्ने घरको चित्र उतार्दै आएका छन् । आफ्नो कलाको सुरुवाती अवस्थाालाई सम्झँदै ताम्राकारले भने – ‘म १४ वर्षको हुँदा साथीले एउटा सिसिको बोतल दिएर के बनाउन सक्छस् बना भनेको थियो । हुन्छ गर्छु भनिहाले तर के बनाउने आइडिया थिएन । धेरै साेचेपछि सामान्य गाउँको घर बनाएको थिएँ । त्यो समयमा युट्युवको जमाना थिएन । आफैले सुरु गरेको हो । कसैले गर भनेर वा कसैको देखेर गरेको पनि होइन ।’

२०७२ को भूकम्पले धेरैजसो मठमन्दिरहरु धरासयी अवस्थामा पुगे कतिपय संरक्षण गरिएका छन् भने कतिपयको लोप हुने अवस्थामा छन् । भावी जीवनमा नेपाललाई विश्व सामु चिनाउने ऐतिहासिक धरोहरहरु लोप भएर नजाउन् भन्ने उदेश्यले कलाकार विभुषण ताम्राकार विगत लामो समयदेखि ‘सेभ द हेरिटेज’ भन्ने नाराका साथ देशका ऐतिहासिक महत्व बोकेका धरोहरुहरुलाई आफ्नो कलामार्फत सिसाको बोतल भित्र कैद गर्न व्यस्त छन् ।

नेपाललाई विश्वसामु चिनाउने धरोहरहरुको अस्तित्व सदासर्वदा रहिरहोस् भन्ने उनको उदेश्य हो ।

सिसा भित्रका कला हाम्रो आँखाले हेर्दा जति सुन्दर देखिन्छ । उक्त कला बनाउन त्यति नै कठिन छ । सिसा भित्र कला बनाउँदा विभुषणले कागज, सिन्का, माटो, रंगको प्रयोग गर्छन्, र सिसा पनि पातलो खालको चारपाटे प्रयोग गर्छन् । चित्र बनाउँदा सिन्काको सहायताले एकएक गरी सामग्रीलाई जोड्दै पूर्ण रुप दिने गरेको ताम्राकार बताउँछन् । उनी भन्छन्- ‘यसको लागि पूर्ण रुपमा ध्यान केन्द्रित गर्नुपर्छ, एउटा मात्र गल्ति भयो भने पनि सुरुदेखि बनाउनुपर्छ । अन्य चित्र बनाएको जस्तो सहज यसमा छैन ।’

विभुषण ताम्राकार नेपालको सन्दर्भको सिसामा कला गर्ने पहिलो व्यक्ति हुन् । उनीभन्दा अगाडि स्केच, थान्का पेन्टिङ्, काष्ठकला जस्ता विभिन्न कला गर्ने व्यक्ति भएता पनि ताम्राकार भने सिसामा कला गर्ने पहिलो व्यक्ति मानिन्छन् । हस्तकलामा आवद्ध कलाकारहरुको भविष्य नेपालमै उज्वल रहेको उनी बताउँछन् ।

उनि भन्छन् ‘कला यस्तो चिज हो जुन जिवन र जगतसंग जोडिएको हुन्छ । कलाकार भए पछि स्वतन्त्र रुपमा काम गर्नुपर्छ । कुनै पनि परिधिमा बाधिनु हुन्न । कलाकारलाई कसैले यो गर त्यो गर भनेर हुदैन । त्यस्तै ललितकला क्याम्पसको पूर्व प्राध्यापक राधे श्याम मुल्मीले पनि पछिल्लो समयमा कला क्षेत्रमा राम्रो भविश्य रहेको बताए । उनले भने ‘हाम्रो पालामा कला पढाई हुने क्याम्पस नै थिएन | म आफै फ्रान्समा गएर पढेको हो त्यति बेला तर अहिले नेपालमै पढाई हुन्छ | पेन्टिङ् बेचेर राम्रो कमाई पनि हुन्छ ।’

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा विभुषण ताम्राकारले बनाएको सिसा कलाका देशमै पहिलो पटक एकल प्रदर्शनी आजबाट सुरु भएको छ । प्रदर्शनीमा ताम्राकारको ४७ वटा कलालाई अवलोकन गर्न सकिनेछ । उक्त प्रदर्शनीमा सिसा भित्र बनाइएको पाटन कृष्ण मन्दिर, न्यातपोल मन्दिर, नारायणहिटी दरवार, जनकपुर मन्दिर, रानी पोखरी जस्ता ऐतिहासिक धरोहरको कला अवलोकन गर्न सकिन्छ । प्रदर्शनीमा राखिएको हस्तकला ५ हजार देखि लाखौँ मूल्य पर्ने पनि छन् । प्रदर्शनी पुष १६ गते देखि २१ गते सम्म सञ्चालन हुनेछ ।

Logo