काठमाडौं । तपस्वी रामबहादुर बमजनविरुद्ध अर्को पनि उजुरी परेको छ । उनीविरुद्ध पाँचौं उजुरी परेको हो । छोरी रिता बमजन आश्रमबाट हराइरहेको भन्दै सर्लाहीको बागमती नगरपालिका-१२ काजीराम टोलकी सुम्नी बोटले प्रहरीमा उजुरी लिएकी हुन् ।
सुम्नीले एकपटक छोरी रितासँगै बमजन घरमा आएर एक महिनासम्म बसेको, छोरी पछिल्लो पटक आउँदा जमिनमुनि गाडेका फोटोहरू झिकेर जलाएर गएको, त्यसपछि फर्केर नआएको जनाएकी छन् ।
उनले दिएको जाहेरीमा भनिएको छ, फोटोहरू जलाएर गएकी छोरी अहिलेसम्म आएकी छैनन्। बरू बमजन आफैं आएर रिताबारे सोधेका थिए। बमजनकै आश्रमबाट छोरी हराएकाले खोजी पाउँ।
उनी २०६६ अघि नै बमजनको हलखोरीयास्थित आश्रममा बस्न थालेकी थिइन्। उनको र बमजनको बीचमा गुरू र आनीको सम्बन्ध मात्र नभई उनीहरु दुवै जना प्रेममा पनि थिए । बमजनले आफूहरूबीचमा प्रेमसम्बन्ध रहेको पनि बताएका थिए।
२०६६ मंसिरमा रिता बमजनलाई लिएर काजीराम टोलस्थित आफ्नो घर गएकी थिइन्। आँगनसँगै जोडिएका दुईमध्ये एउटा घरको माथिल्लो तलामा बमजन र आफ्नी छोरी रिता १ महिनासम्म बसेको सुम्नीको भनाई छ । एक महिनाजति बसेर गएको तीन महिनापछि रिता एक्लै घर आएकी थिइन्।
एक्लै आउँदा त्यसअघि आफैंले जमिनमुनि गाडेर राखेका फोटोहरू झिकेर जलाएकी थिइन्। त्यहीबेला उनले आमासँग आफूले आश्रममा धेरै यातना पाएको बताएकी थिइन्।
रिताको शरीरमा कुनै हतियारले चिरेर र कुटेर बनेका घाउ थिए। पछि बमजनले नै फोन गरेर बोलाएपछि नजा भन्दा भन्दै छोरी फर्केर आश्रम गएको उनको भनाई छ । त्यसयता रिताको अत्तोपत्तो छैन ।
रितालाई खोज्दै आएका बमजनले उनका दाजुलाई प्रहरीमा उजुरी नगर्न भनेका थिए। उजुरी गरे दुबैलाई अप्ठ्यारो पर्ने धम्की दिएका थिए।
बमजनको आश्रमबाट आफन्त बेपत्ता भएको भन्दै यसअघि प्रहरीमा ४ वटा उजुरी परेका छन् । ती उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि नुवाकोटकी गंगामाया तामाङले बहिनी, मकवानपुरका विजय रूम्बाले दिदी, मकवानपुरकै महिन्द्र वाइवाले बुवा र बाराका हस्तबहादुर आलेले छोरा बमजनको आश्रमबाट बेपत्ता भएको भन्दै जाहेरी दिएका थिए।































प्रतिक्रिया