काठमाडौँ । माघको महिना शुरु हुन दुई साता पनि बाँकी छैन, जुन बिहेको सिजन पनि हो । जागिर अथवा करिअर व्यवस्थापन भइसकेर विवाहको योजना बनाइरहेकाहरूलाई यो महिनाको पर्खाइ निकै उत्सुकतापूर्ण रहन्छ ।
तर केही युवतीहरूलाई ‘बिहे गर’ भनेर धेरैले हैरान पार्ने छन् । बिहेको सिजन लागेपछि उनीहरूलाई बसेर साध्य हुँदैन । विशेषगरी हाम्रो समाजमा यो सामान्य कुरा हो ।
नेपालमा छोरीको उमेर २० वर्ष पुग्नेबित्तिकै बिहेको चर्चा शुरु हुने परिपाटी नयाँ होइन । आफन्त, छरछिमेक र समाजका हरेक कुनाबाट ‘अब त बिहे गर, उमेर पुग्यो’ भन्ने सुझावको ओइरो नै लाग्ने गर्छ ।
शुरुमा यो कुरा रमाइलो वा मजाकका रूपमा भनिए पनि बिस्तारै घरमा बिहेको प्रस्ताव आउने क्रम बढ्दै जान्छ । अझ, केटा सरकारी जागिरे छ भने त ‘योभन्दा राम्रो विकल्प भेटिन्न’ भनेर छिमेकीको जिद्दीपूर्ण आवाज झन् चर्को हुन्छ ।
केटा वा केटी पाउन मात्रै बिहे गर्ने होइनः यो सम्बन्ध, विश्वास र जीवनभरको सहयात्रा हो ।
वास्तवमा आफैँ जाग्ने, जीवनमा केही गर्ने र आत्मनिर्भर भएर बाँच्ने भविष्यको योजनालाई साकार पार्ने समय हो यो । व्यक्तिगत इच्छा, लक्ष्य र परिस्थितिलाई ध्यानमा राखेर यो उमेरमा विवाहप्रति कम झुकाव रहन्छ ।
बिहे गर्नु एउटा महत्त्वपूर्ण निर्णय हो । यो एउटा गहिरो र भावनात्मक विषय हो, जसले कसैको व्यक्तिगत चाहना, सपना वा जीवनको एउटा महत्त्वपूर्ण मोडलाई प्रतिनिधित्व गर्दछ । यसमा हतार गर्नुको साटो आफ्नो व्यक्तिगत इच्छा, लक्ष्य र परिस्थितिलाई ध्यानमा राखेर सोच्नुपर्छ ।
केटा वा केटी पाउन मात्रै बिहे गर्ने होइनः यो सम्बन्ध, विश्वास र जीवनभरको सहयात्रा हो । तसर्थ, जब तपाईँ तयार महसुस गर्नुहुन्छ र आफ्नो मन मिल्ने व्यक्ति भेट्टाउनुहुन्छ, तब मात्र यो निर्णय गर्नु उपयुक्त हुन्छ ।
तर, के बिहे उमेरको मात्र कुरा हो ?
हिजोअस्ति रमाइलोका लागि हुने चाडपर्व र भेटघाटका अवसरहरू आजकल उमेर पुगेका छोरीचेलीका लागि तनावपूर्ण बन्न थालेका छन् । ‘अब बिहे गर, पछि केटा पाइँदैन’ भन्ने धारणाले पढ्ने र सक्षम बन्ने चाहना भएका युवतीहरूलाई मानसिक तनाव दिन्छ ।
कति छोरीहरू मास्टर डिग्री गर्न चाहन्छन्, कति जागिरमा आत्मनिर्भर बन्न चाहन्छन् । तर समाजले उनीहरूको योजना बुझ्नै चाहँदैन । छरछिमेकका साथीहरूको बिहे भएपछि ‘उसले त गर्यो, तिमीले किन गर्दैनौ ? किन ढिलो ?’ भनेर तुलना गर्न शुरु हुन्छ । यो कुरा सुनिरहँदा कतिपय महिलाहरू आफ्नो इच्छाविपरीत बिहे गर्न बाध्य हुन्छन् ।
तर, के उमेर २०–२१ कट्दैमा बिहे गर्यो भने सबैको जीवन सहज हुन्छ भन्ने कुनै ग्यारेन्टी छ ?
नेपालको सामाजिक संरचनामा धेरैजसो महिलाहरू बिहेपछि पढाइ अधुरो छोड्छन् । जागिर गर्ने आँट राख्नेहरू पनि थोरै मात्र हुन्छन् । पढाइ र करियरलाई प्राथमिकता दिन चाहने युवतीहरूको योजनालाई बुझेर समर्थन गर्ने अभिभावक कमै भेटिन्छन् । प्रायःजसो अभिभावक छरछिमेक र आफन्तको दबाबमा छोरीको बिहेको निर्णयमा अगाडि बढ्छन् ।
बिहे त्यस्तो होस् जसका विरुद्ध भय, त्रास र संशय उत्पन्न नभई जीवनमा प्रेमको अनुभूति होस् ।
अभिभावकको जिम्मेवारी छोरीको बिहे मात्र गरिदिनु होइन, छोरीलाई सक्षम बनाउनु पनि हो । सक्षम छोरीले बिहेपछि मात्र होइन, जीवनभर अभिभावकको नाम उज्यालो बनाउन सक्छिन् । आमाबुबाहरू छोरीको घर बसेको देख्न चाहन्छन्, जुन स्वाभाविक पनि हो । तर समाज र आफन्तहरूको दबाबमा बिहे गराइदिँदा छोरीको भविष्य सुरक्षित हुन्छ भन्ने ग्यारेन्टी छैन । बरु त्यसले त छोरीको भविष्यलाई भूलभुलैयाको अन्धकारमा धकेलिदिन्छ ।
यो लेखले एउटा सन्देश दिन खोजेको छ – जिन्दगी आफ्नै हो । समाजका हरेक कुरा सुन्नु ठिकै हो । तर निर्णय आफ्नो इच्छाअनुसार गर्नुपर्छ । बिहे उमेरको कुरा होइन, यो इच्छाको कुरा हो । सक्षम बनौँ, अनि आफ्नो मनअनुसार बिहे गरौँ । जीवन आफ्नो हो, त्यसैले कुनै पनि निर्णय सोचेर र आफ्नो भलाइ हेरेर लिनुपर्छ । सामाजिक परम्परालाई निरन्तरता दिने बहानामा आफू र आफ्नो खुसी नबुझी त्यस्ता निर्णय गर्नुहुँदैन जुन निर्णयले भविष्यका दिनमा पछुतो होस् । बिहे त्यस्तो होस् जसका विरुद्ध भय, त्रास र संशय उत्पन्न नभई जीवनमा प्रेमको अनुभूति होस् ।































प्रतिक्रिया