काठमाडौं । टेलरिङ व्यवसायमा एउटा परिचित नाम हो, मोहनमान जोशी । ४ दशकदेखि यस क्षेत्रमा सक्रिय भएर लागेका जोशी मेरिना इम्पेक्सका प्रबन्ध निर्देशक पनि हुन् । बजारमा सर्टिङ–सुटिङका लागि प्रसिद्ध मेरिना गुणस्तरीय सेवाकै कारण टेलरिङको क्षेत्रमा आफ्नो छुट्टै छवि बनाइसकेको छ । मान्छेको व्यक्तित्वसँग जोडिएको सुटमा नयाँ अनुभव प्रदान गर्दै आइरहेको मेरिनाले भविष्यमा यसका शाखाहरू विस्तार गर्दै अगाडि बढ्ने योजना राखेको छ ।
एकै छानामुनि सबैथोक पाइने भएकाले पनि सुटका पारखीहरूका लागि मेरिना निकै लोकप्रिय भइसकेको छ । उनै जोशीसँग मेरिना इम्पेक्सको व्यवसायिक यात्राको सुरुवात, आगामी योजना साथै बागबजारमा सञ्चालन भइरहेको सुट मेला लगायतका विषयसँग जोडिएर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् ।
मेरिना इम्पेक्सले सर्टिङ–सुटिङको सेवा दिन थालेको करिव ४ दशक भएछ । तपाईंहरुले मेरिनाको यात्रा कसरी सुरु गर्नु भएको थियो ? र, यस अवस्थासम्म आइपुग्दा टेलरिङ व्यवसायको अनुभव कस्तो रह्यो ?
-मेरिना इम्पेक्सबाट पहिला सर्टिङ–सुटिङको काम गर्दैन थियौं । न्युरोडबाट उदाएको मेरिनाले त्यो बेला कपडाको बिक्री गर्थ्याे । लत्ताकपडा बिक्रीपछि समयले हामीलाई सुर्टिङ–सुटिङमा डाइभर्ड गरायो । त्यो बेलादेखि यो अवस्थासम्म टेलरिङ व्यवसायको यात्रा सन्तोषजनक छ ।
यो अवस्थासम्ममा मेरिना इम्पेक्सले गुणस्तर सेवा दिन्छ भनेर ग्राहकलाई विश्वास दिलाइसकेको छ । ग्राहकलाई सन्तुष्ट बनाउनु नै मेरो सन्तुष्टि हो । राम्रो टिम मेरो सम्पत्ति ठान्छु ।
न्युरोडबाट सुरु गरेको टेलरिङ यो अवस्थासम्म आइपुग्छ भनेर कहिले कल्पना गर्नुभएको थियो ?
-मैले मेरो उमेर २५/२६ वर्षको हुँदा मेरिना इम्पेक्सको सुरुवात गरेको थिएँ । उमेरमै केही गर्नुपर्छ भनेर लाग्ने सिलसिलामा कपडा व्यवसाय छनोट लगेर लागेको हुँ । काम गर्दै, समय अनुसारको व्यवसायले लय लिँदै जाँदा आज हामी यो अवस्थामा छौं । व्यापारको सुरुवात गर्दा धेरै मिहिनेत गर्नुपर्छ । त्यो बेला मलाई मेरो साथी गोकुल खड्काले निकै साथ दिनुभएको छ । त्यो साथीको साथ नभएको भए मेरिना इम्पेक्स यो अवस्थासम्म आइपुग्दैन थियो होला ।
जागिरदेखिका मेरा सहयात्री गोकुलले मेरिनालाई धेरै साथ दिनुभयाे । मेरिना इम्पेक्सका यो यात्रालाई अगाडि बढाउन निकै मिलनसार मेरा साथी लक्ष्मीभक्त मूलीको पनि महत्वपूर्ण भूमिका छ । उहाँको अहिले निधन भएता पनि मेरिना प्रतिको उहाँको योगदानलाई हामीले भुल्नु हुँदैन । त्यस्तै, हाम्रो टिमले आज यो अवस्थासम्म मेरिनालाई ल्याएको छ । टिम राम्रो बन्दै गएका कारण पनि मेरिना अगाडि बढेको हो । समयसँगै हरेक विषय मिल्दै गएका कारण यो स्थानमा आउन सक्षम छौं । आवश्यक अनुसार कामको लय मिलेर यो अवस्थाको सिर्जना भएको हो ।
हामी सकारात्मक भयौं भने त्यसको प्रभाव हरेक कर्मचारीलाई पर्दोरहेछ । संस्थालाई पनि उचाइमा पुर्याउनको लागि प्रेरणा मिल्दो रहेछ । म यसरी अगाडि बढ्छु । संस्थालाई यस्तो अवस्थामा पुर्याउँछु भनेर कहिले पनि मैले सोचिनँ । किनभने हामीले कर्म गर्ने कार्यलाई निरन्तरता दियौं । बिस्तारै यो यात्राले गति लिँदै गयो । काम गर्दै जाँदा उतारचढाव आए । ति परिस्थितिलाई मिलाउँदै अगाडि बढ्दा यो अवस्थामा हामी छौं ।
तपाईंले यो अवस्थासम्ममा सर्टिङ–सुटिङ व्यवसायमा के परिवर्तन आएको महसुस गर्नु भयो ?
-यसो हेर्दा सर्टिङ–सुटिङको ट्रेन्ड नै फेरिएको छ । पहिला सर्टिङ–सुटिङ एक ठाउँमा हुँदैन थियो । सिलाई हुने ठाउँमा कपडा पाइँदैन थियो । कपडा हुने ठाउँमा सिलाइको काम गरिँदैन थियो । विशाल बजार अगाडि अहिले जुन सुन पसल छ । त्यहाँ पहिला कपडा पसल थिए । त्यहाँ कपडा किन्ने अनि अन्तै लगेर सिलाउने चलन थियो ।
बिस्तारै पछि जहाँ टेलर छ, त्यहाँ कपडा राख्नु सुरु गर्याैं । र, त्यहाँ मान्छे जान थालेपछि कपडा मात्र बिक्री गर्नेहरूलाई समस्या हुन थाल्यो । टेलरिङ राम्रो भयो भने कपडा नचल्ने अवस्था आयो । यस्तो अवस्था आइपछि कपडा राख्नेले टेलरिङ राख्ने र टेलरिङ मात्र राख्नेले कपडा पनि राख्ने अभ्यासको सुरुवात भएको हो । तर, कतिपय टेलरिङ व्यवसाय सर्भाइभ हुन नसकेकाले अहिलेको विशाल बजारका सुन पसलहरूबाट कपडा हट्दै गए । र, त्यहाँ अहिले कपडा भन्दा धेरै सुन पसल भइसकेका छन् ।
कपडा मात्रै राख्दा नचल्ने, टेलरिङ राख्नै पर्ने बाध्यताले नयाँ टेलरिङ व्यवसाय पनि जन्मिए । त्यसरी नै आएको मेरिनाको सर्टिङ–सुटिङ व्यवसायले बजारमा ठाउँ पाएको महसुस गर्न सकिन्छ । सर्टिङ–सुटिङ व्यवसायमा टिचिङ राम्रो भएन भने व्यवसाय फस्टाउँछ । सबै विषयको मध्यनजर गर्दै सर्भिस दिँदै आएका छौं ।

मेरिना इम्पेक्समै सुट सिलाउनको लागि किन जाने ? त्यहाँ हामीले कस्ता सेवा पाउँछौं ?
-हामी गुणस्तर सेवा प्रदान गर्छौं । ढुक्क भएर हाम्रोबाट सामान किन्न सकिन्छ । सामान किन्दा खराब होला ! केही बिग्रेला ! भन्ने चिन्ता लिनु पर्दैन । मान्छेले गर्ने काम हो । कहिलेकाहीं बिग्रिन सक्छ । त्यस्तो अवस्थामा ग्राहकलाई चित्त बुझाएरै पठाउने छौं ।
कुनै जाेखिम लिनु नपरेका कारणले ग्राहक आइराख्नु भएको हुन्छ । ग्राहकलाई गर्ने व्यवहार हाम्रो पारिवारिक छ । कर्मचारीहरूले पनि राम्रो सर्भिस दिइराख्नु भएको छ । हाम्रो सेवाबाट ग्राहक सन्तुष्ट हुनुहुन्छ भन्ने मलाई लाग्छ ।
आजको दिनमा मेरिना इम्पेक्ससँग कति जनाको टिम छ ?
–मेरिना इम्पेक्सबाट प्रत्यक्ष ४५ जनाले रोजगार पाउनुभएको छ । काम धेरै भएको बेल हामीसँग यो जनशक्ति ठूलो संख्यामा पुग्छ । हामीसँग ४०/५० जना कालिगर हुनुहुन्छ । हाम्रोबाट करिव २/३ सय जनाले अप्रत्यक्ष/रोजगारी पाउनु भएको छ । अहिले हाम्रो टिममा रहेर पवन खड्काले काम गरिराख्नु भएको छ ।
यस्तै, व्यवस्थापन दिनेश थापा, अर्जुन बस्नेत र रामप्रसाद अर्यालले हेरिराख्नु भएको छ । टेलरिङ सर्भिसबाट कृष्ण कपाली गौतम बज्राचार्य नेतृत्व गरिराख्नु भएको छ । उहाँहरू सक्रिय भएर मेरिनालाई थप उचाइमा पुर्याउनका निमित्त निरन्तर लागि परिराख्नु भएको छ । उहाँहरूजस्तै संस्थासँग जोडिएर काम गरिराख्नु भएको मेरिनामा धेरै हुनुहुन्छ । त्यसैले टिमवर्क राम्रो भयो भने संस्था बन्छ भन्ने मलाई लाग्छ ।
मेरिना इम्पेक्सले कुन-कुन ठाउँबाट सेवा दिइरहेको छ ? नयाँ शाखा विस्तार गर्ने योजना कहाँ पुग्याे ?
-मेरिना इम्पेक्सले नेटवर्क विस्तारको लागि रणनीति तयार गरिरहेकै छ । निकट भविष्यमै मेरिनाको पहुँच बढ्छ भन्ने हाम्रो विश्वास छ । बलियो टिम बनाउँदै फ्रेन्चाइज खोल्दै जाने छौं । यो सबै समयको माग हो । समय आएपछि बिस्तारै मेरिना इम्पेक्सको नेटवर्क विस्तार हुन्छ । अहिले हामीले न्युरोड, बागबजार, सामाखुसी, गबहालबाट सेवा दिइरहेका छौं ।
टेलरिङ व्यवसायभित्रको प्रतिस्पर्धा कस्तो छ ?
-टेलरिङ व्यवसायभित्र प्रतिस्पर्धा हुँदैन । कसले राम्रो सेवा दिनसक्छ । उसले ग्राहकलाई तान्ने हो । त्यसैले टेलरिङ व्यवसायमा जसले राम्रो सर्भिस दिन सक्यो । त्यही नै प्रतिस्पर्धा हो । ग्राहक सन्तुष्ट बनाउनु हाम्रो प्रतिस्पर्धा हो ।
तपाईं टेलरिङ व्यवसायका चुनौतीहरू के देख्नु हुन्छ ?
-टेलरिङ हरेक मान्छेको व्यक्तित्व जोडिएको चिज हो । कतै हिँड्नु पर्यो भने मान्छे राम्रो कपडा वा सुट लगाएर हिँड्न खोज्छ । त्यो राम्रो भएन वा उसलाई सुहाएन भने मन खिन्न हुन्छ । त्यसैले यो मनसँग जोडिएको पनि चिज हो । खराब भयो भने गाली पनि आउँछ । त्यसैले यो व्यवसायलाई सामान्य तरिकाले बुझ्नु हुँदैन ।
ग्राहकको आवश्यकता अनुरूप सर्टिङ–सुटिङको सेवा दिनु टेलरिङ सेन्टरको मुख्य दायित्व हो । यस पेशामा टिमवर्क बनाइ काम गर्न सक्यो भने राम्रो हुन्छ । राम्रो हुनु छैन भने जतिसुकै राम्रो मान्छे ल्याएर पनि केही हुँदैन ।

तपाईं आफूले आफूलाई टेलरिङ व्यवसायमा कत्तिको सफल व्यवसायीका रूपमा मान्नुहुन्छ ?
-यो अवस्थासम्म आइपुग्दा आफूले आफूलाई सफल व्यवसायी भनेर मान्छु । तर, अब मेरो व्यवसायलाई ह्यान्डओभर गर्ने अवस्थामा पुगि सकेको छ । टेकओभर गर्ने मान्छेले आगामी दिनमा राम्रो तरिकाले सञ्चालन गर्न सक्यो भने म सफल भएको मान्नुपर्छ । टेकओभर गर्ने मान्छे नभएसम्म म कसरी सफल भन्ने ? त्यसैले यो व्यवसायबाट म सन्तुष्ट भएको महसुस गर्छु ।
बागबजारमा अहिले सुट मेलाको सञ्चालन गर्नुभएको छ ? अवलोकनकर्ता साथै सुट सिलाउनेको मेलामा उपस्थिति कस्तो छ ?
-सुट मेला पहिलोपटक आयोजना भएको नयाँ अभ्यास हो । नयाँ कामको सुरुवात गर्दा त्यसको इन्क्वारी भइहाल्छ । बागबजार टेलरिङको हब हो । ग्राहक सुट सिलाउनको लागि त्यहाँ पुग्छन् । मन्दीको समयमा यस्तो क्रियाकलाप गर्नले पक्कै पनि फाइदा पुग्छ । यसले ग्राहकलाई पनि नयाँ अनुभव दिन्छ भन्ने हाम्रो विश्वास छ । ग्राहकहरूलाई प्रभाव पार्न सकिन्छ कि भनेर यो काम गरेको हो । यहाँले सुटका पारखीहरूलाई नयाँ अनुभव दिन्छ ।
ग्राहकले त्यहाँबाट कसरी लाभ लिने ?
-यहाँ आएर सुट सिलाउनेलाई फाइदा धेरै दिइएको छ । सर्टिङ–सुटिङको सानदार अनुभव यहाँबाट प्रदान हुन्छ । यहाँबाट ग्राहकहरूले भरपुर सुविधा लिनुहुन्छ भन्ने मेरो विश्वास छ । सुट मेलाको आकर्षण नयाँ डिजाइनको सुट पनि हो ।

अहिले अधिकांश विदेशका कपडा छन् । र, त्यसैको सुट सिलाइन्छ । नेपाली कपडाले प्राथमिकता नपाएको सुनिन्छ । यो नेपाली कपडा उत्पादन नभएर वा नरुचाएर नबनेको ?
-सुट आफ्नो क्षमता अनुसार खरिद गर्ने हो । र, सुहाउँदो पनि । आफूलाई कुन आकर्षक हुन्छ । त्यही लगाउने हो । नेपाली पोशाक मान्छेले लाइरहेका छन् । पहिला पहिला विवाहमा सबैले सुट लगाउँथे । तर, अहिले दौरा सुरुवाल चलन आइरहेको छ । त्यसैले नेपाल पोशाकले ठाउँ नपाएको भन्न मिल्दैन ।
भोलिका दिनमा मेरिना इम्पेक्सलाई कस्तो अवस्थामा हुनेछ ? र, यसबाट ग्राकहरुले कसरी सेवा पाउने छन् ?
-मेरिना इम्पेक्स एउटा ब्रान्ड भइसकेको छ । ग्राहकलाई सन्तुष्ट बनाउनको लागि भोलिका दिनमा अझ राम्रो सेवा दिनुपर्छ । ग्राहकको विश्वास र गुणस्तर सेवा हामी निरन्तर अघि लग्नेछौं । मेरिना इम्पेक्सले कुनै पनि कुरामा चिटिङ गर्दैन, सामान खराब हुँदैन । ढुक्क भएर मेरिनाबाट सर्टिङ सुटिङ गर्न सकिन्छ । भोलिका दिनमा मेरिना इम्पेक्स सर्टिङ–सुटिङ व्यवसायमा उत्कृष्ट पोजिशनमा देख्न पाइन्छ ।































प्रतिक्रिया