त्रिविको अन्यायपूर्ण खेलः कसैलाई काखा कसैलाई पाखा गर्दा भौतिक विभागमा लाग्यो भोटे ताल्चा

त्रिविको अन्यायपूर्ण खेलः कसैलाई काखा कसैलाई पाखा गर्दा भौतिक विभागमा लाग्यो भोटे ताल्चा

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को भौतिक विभागको प्रशासन र एचओडि कार्यालयमा झण्डै १० दिनदेखि भोटे ताल्चा लागेको छ । कार्यालयमा ताल्चा लाग्दा कर्मचारी कार्यालयभित्र प्रवेश गर्न पाएका छैनन् । पठनपाठन सञ्चालन भइरहेको भएता पनि प्रशासनिक काम भने पूर्णरुपमा ठप्प भएको हो ।

त्रिविको भौतिक शास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुलाई कुनै एक विषयमा फेल भएको कारण सोधपत्रबाट वञ्चित गरिनु अन्यायपूर्ण भएको भन्दै नेकपा माओवादी निकट अखिल (क्रान्तिकारीले) विभागमा ताल्चा लगाएकाे हाे ।

किन लाग्यो विभागमा ताल्चा ?

विद्यार्थी संगठन अखिल क्रान्तिकारीले ढोकामा विज्ञप्ति नै टाँसेर ताल्चा लगाएको छ । विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘अहिलेको युग भनेको विज्ञान प्रविधि एवं अनुसन्धानको युग हो । त्यसमाथि विज्ञान जस्तो विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई अनुसन्धानसंग जोड्नुको साटाे सोधपत्र गर्नबाट वञ्चित गराउनु आपत्तिजनक छ ।’ सोधपत्रबाट वञ्चित गराउने त्रिविकाे निर्णय अस्वभाविक, अप्राकृतिक भएको भन्दै विद्यार्थीलाई अनुसन्धानमा सहभागिता गराउनु पर्ने माग उसको छ ।

विज्ञान विषय भनेको अनुसन्धानसँग जोडिने विषय हो । विभागले विद्यार्थीलाई सोधपत्रबाट वञ्चित गराउँदा भविष्यमा नराम्रो असर पर्न जाने विद्यार्थीहरुको भनाई छ । त्रिविको भौतिकशास्त्र विभागका यो नियम ३२ वर्ष देखि छ । वार्षिक अध्ययन हुँदा भएको नियम समय परिवर्तनसँगै सेमेस्टरमा परिणत भयो तर नियम भने परिवर्तन भएन । विभागीय प्रमुख प्राध्यापक नारायणप्रसादले भने, ‘अनुसन्धानसँग जोडिन पाउनु विद्यार्थीको अधिकार हो । उक्त अधिकारबाट कुनै पनि विद्यार्थीलाई वञ्चित गराउनु हुँदैन । यस विषयमा छलफल भैरहेको छ ।’

विद्यार्थीलाई सोधपत्र गर्नबाट वञ्चित गराउनु हुँदैन भन्ने विषयमा छलफल गर्दा विभागीय प्रमुख सकारात्मक देखिए पनि पछि असम्भव भएको कुरा गरेकाले ताला लगाउन बाध्य भएको अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष दिनेश ऐरले बताए ।

के हो खास कुरा ?

संसारको कुनै पनि विश्वविद्यालयमा उत्तीर्ण नगरी सोधपत्र गर्न पाउने अभ्यास छैन । त्रिभुवन विश्वविद्यालयमा ४० वटा संकाय रहेका छन् । ति सबै संकायमा अध्ययनरत विद्यार्थीहरुले सैद्धान्तिक परीक्षा उत्तीर्ण गरेपछि मात्र सोधपत्र गर्न पाउँछन् । यो नियम संसारभर एउटै छ ।

यदी कुनै एक विषयमा विद्यार्थी फेल भएको छ भने दोस्रोपटक परीक्षा दिएर पास भएपछि उक्त विद्यार्थीले सोधपत्र गर्न पाउने व्यबस्था छ । स्नातकोत्तर तहमा सैद्धान्तिक परीक्षामा पास नभएसम्म सोधपत्र गर्न पाइँदैन र सोधपत्र नगरेसम्म ट्रान्सक्रिप्ट पाइँदैन । या भनौं सोधपत्र नबुझाउँदासम्म डिग्री हासिल गरेको मानिँदैन ।
बेग्लै छ भौतिकशास्त्रको कथा त्रिविकै अन्य विभागमा अध्ययन गरेका विद्यार्थीले परीक्षामा अनुत्तीर्ण हुँदा पुनः परीक्षा दिएर उत्तीर्ण भए पछि सोधपत्र गर्न पाउछन् । तर भौतिकशास्त्र विभागमा अध्ययनरत विद्यार्थीहरुले पहिलो सेमेस्टरमा कुनै एउटा विषयमा अनुत्तीर्ण हुँदा वा बि ग्रेडभन्दा कम आउँदा सोधपत्र गर्न पाउँदैनन् ।

पहिलो सेमेस्टरमा अनुत्तीर्ण भएका तथा नतिजामा बि ग्रेड भन्दा कम नतिजा आएको सन्दर्भमा विद्यार्थीले टर्म पेपर दिने व्यवस्था छ । टर्म पेपर ५० पूर्णांक र क्रेडिट आवर २ घण्टा मात्र हुन्छ । त्यस्तै सोधपत्र १०० पूर्णांकको हुन्छ ।

अचम्मको कुरा त के छ भने यो नियम पहिलो सेमेस्टरमा मात्र लागू हुन्छ । पहिलो सेमेस्टरमा कुनै एक विषयमा मात्र अनुत्तीर्ण भएका विद्यार्थीले सोधपत्र गर्न नपाउने व्यवस्था छ । यदि दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा विद्यार्थी अनुत्तीर्ण भएमा उक्त व्यबस्था लागू हुँदैन ।

विद्यार्थीहरुले सोधपत्रबाट वञ्चित गराएर विभागले भेदभावको व्यवहार गर्दै आएको बताएका छन् । उनीहरु भन्छन्,’विश्वव्यापी रुपमा स्नातकोत्तर तहमा सोधपत्र अनिवार्य हुन्छ । हामीले सोधपत्र नै गर्न पाएनौं भने विश्वव्यापी रुपमा पढाईको कुनै भ्यालु हुँदैन । त्यसमाथि विज्ञान विषय अनुसन्धानसँग जोडिएको हुन्छ । अनुसन्धान विना त विज्ञानलाई कल्पना पनि गर्न सकिँदैन ।’

कुनै विषयमा अनुत्तीर्ण भएको कारण देखाएर सोधपत्र गर्नबाट वञ्चित गर्न नहुनेमा विद्यार्थीहरुको एकमत छ ।

Skip This
Skip This
Logo