कोभिड–१९ जोखिम कायम रहँदा पनि गति लिँदै नेपालको पर्यटन, प्रवर्धन रणनीति बनाउँदै बोर्ड

कोभिड–१९ जोखिम कायम रहँदा पनि गति लिँदै नेपालको पर्यटन, प्रवर्धन रणनीति बनाउँदै बोर्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ महामारीको जोखिम कायम रहँदा पनि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा क्रमशः वृद्धि भएको छ । सन् २०२० को ११ महिनाभित्र दुई लाख २० हजार १२० पर्यटकले नेपाल भ्रमण गरेका छन् । एघार महिनाका अवधिमा सबैभन्दा बढी जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार पछिल्लोपटक नोभेम्बरमा मात्रै एक हजार ९४७ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो अक्टोबारमा एक हजार ७४ पर्यटक नेपाल आएका थिए । तुलनात्मकरूपमा क्रमशः विदेशी पर्यटक आवागमन बढ्दै गएको र प्रतिशतमा पाँचदेखि १० प्रतिशत वृद्धिदर रहेको बोर्डले जनाएको छ ।

नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबाट २०९ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस्तै भारतबाट १२३ र रुसबाट १०२ तथा क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे«लियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका बोर्डको विवरण छ । सन् २०२० जनवरीमा ७९ हजार ६८६, फेब्रुअरीमा एक लाख एक हजार ४०० र मार्चमा ३४ हजार २५ विदेशी पर्यटक नेपाल आएका थिए ।

सबैभन्दा कम मे, अप्रिलमा १३, मे मा ३० र जुन महिनामा १०० विदेशी पर्यटक आएको बोर्डले जनाएको छ । त्यस्तै जुलाइमा १९५, अगस्टमा २६८, सेप्टेम्बरमा ५८७ विदेशी पर्यटक आएका थिए । तुलनात्मकरूपमा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएपछि बोर्डले सम्भावित अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी प्रवद्र्धनको रणनीति बनाउन लागेको छ ।

बोर्डका निर्देशक मणि लामिछानेले पछिल्ला महिनामा विदेशी पर्यटक बढेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी प्रवर्धनको तयारीमा बोर्ड जुटेको उल्लेख गरे। उनका अनुसार बेलायतमा कोभिड–१९ को खोप प्रयोगमा आउने भएपछि विदेशी पर्यटक बढ्ने नयाँ ढोका खुलेको छ । जर्मन औषधि निर्माण कम्पनी बायोइन्टेक र अमेरिकन फाइजर कम्पनीले संयुक्त साझेदारीमा उत्पादन गरेको कोरोनाविरुद्धको खोपले मानव प्रयोगमा पहिलो अनुमति पाएको पाएको थियो । अमेरिका तथा अन्य युरोपेली मुलुकमा पनि खोपको उपयोग भएका खण्डमा ती देशबाट धेरै पर्यटन भित्र्याउन सकिने बोर्डको आंकलन छ ।

नेपालको पर्यटनको प्रमुख स्रोत बजार भारत, चीन र अमेरिकापछि चौथो नम्बरमा बेलायत पर्छ । बेलायतले यसै सातादेखि आमसमुदायमा खोप प्रयोगमा ल्याउने भएपछि विश्व पर्यटन बजारमा आशाका किरण देखापरेका छन् । कोभिडको खोप विकाससँगै पर्यटन बजार पुरानै लयमा फर्कने अनुमान गरिएको छ ।

निर्देशक लामिछानेले बेलायतले खोप प्रयोगका लागि अनुमति दिएसँगै विश्व बजारमा नयाँ आशाको सञ्चार छाएको बताए । उनले भने, “कोभिड खोपले आशा जगाएसँगै विश्व बजारमा पर्यटन लगायत आर्थिक गतिविधि बढ्ने विश्वास लिइएको छ । अहिलेको अवस्थामा पर्यटनको कस्तो रणनीति बनाउने भन्ने विषयमा बोर्डले गृहकार्य गरिरहेको छ ।”

कोभिड महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि देशभर बन्दाबन्दी लागू गरेको थियो । चैत ८ गतेदेखि नै अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भएको थियो । बन्दाबन्दी र पछिल्लो निषेधाज्ञापछि करिब छ महिनाको अन्तरालमा गत भदौ १६ देखि नियमित अन्तराष्ट्रिय उडान शुरु भएको थियो । गत असोज ५ देखि मुलुकको आन्तरिक उडान सञ्चालनमा आएको थियो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । शुरुका तीन महिना जनवरी, फेब्रुअरी र मार्चमा पर्यटक आगमन राम्रो रहे पनि कोभिड महामारीको विश्वव्यापी असर नेपालमा पनि पर्यो । अर्थतन्त्रका अन्य क्षेत्र जस्तै पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बन्यो । कोरोनाबाट प्रभावित उद्योग तथा व्यवसाय सञ्चालनका लागि सरकारले राहत दिने घोषणा गरिसकेको छ । घरेलु, साना तथा मझौला उद्यम, पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानीका साथै व्यवसाय सञ्चालन निरन्तरताका लागि रु ५० अर्बको राहत कोष कार्यान्वयनको बाटो खुलेको हो । अर्थ मन्त्रालयले व्यवसायिक निरन्तरता कर्जा प्रवाह २०७७ जारी गरिसकेको छ । यसको कार्यान्वयन नेपाल राष्ट्र बैंकमार्फत हुने जनाइएको छ ।

भ्रमण वर्षको उत्साहमा व्यवसायीले पर्यटन पूर्वाधारमा उल्लेख्य लगानी गरेका थिए । कोभिडका कारण उनीहरु अहिले उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । हालको अवस्थालाई पनि मध्यनजर गर्दै बोर्डले आगामी रणनीति बनाउन लागेको निर्देशक लामिछानेले जानकारी दिए । उनले अहिले पर्यटन प्रवर्धनका लागि विभिन्न काम भइरहेको र आन्तरिक पर्यटन प्रवद्र्धन समितिले पनि प्रवर्धनका गतिविधिबारे तयारी गरिरहेको बताए ।

सरकारले गत अक्टोवर १७ बाट विदेशी पर्यटकका लागि नेपाल खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य मापदण्ड पालना गरेर विदेशी नागरिक नेपालको पदयात्रा तथा पर्वतारोहण लगायत गतिविधिमा आउन सहज भएको छ ।

सन् २०२० मा अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशत मात्रै पर्यटक आवागमन हुने प्रक्षेपण गरेको छ । अघिल्लो वर्षको तुलनामा ८० प्रतिशत गिरावट हो । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

Skip This
Skip This
Logo