युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दै छौँः मुख्यमन्त्री तामाङ

युवालाई विदेश जानबाट रोक्न रोजगारका अवसर खोजी गर्दै छौँः मुख्यमन्त्री तामाङ

केन्द्रबिन्दु
24
Shares

नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले युवालाई विदेश जानबाट रोक्न प्रदेश सरकारले गुणस्तरीय शिक्षासहित रोजगारका अवसर खोजी गर्न थालेको बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य सङ्घको बट्टारमा आयोजित १९औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री तामाङले गुणस्तरीय शिक्षाले रोजगारी दिने भन्दै शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम थालिएको उल्लेख गरेका हुन् ।

उनले विदेश जाने युवालाई रोक्न सरकारले सीप विकाससम्बन्धी योजना बनाइरहेको, रोजगारका अवसर खोजी गरिरहेको र विभिन्न नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिए । केही नीति तथा कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको उनको भनाइ छ ।

“उच्च शिक्षा अध्ययन र रोजगारको खोजीमा नेपाली युवाको विदेश जानुपर्ने बाध्यताप्रति सरकार गम्भीर भएर सरोकार भएकासँग छलफल र सहकार्यमार्फत समस्या समाधान गर्न पहल गरिरहेका छौँ”, मुख्यमन्त्री तामाङले भने, “लहलहै र देखावटीमा जानेलाई पनि स्वदेशमा बस्नुपर्छ भनेर सजग गराउन चेतना अभिवृद्ध गर्ने काम गरिरहेका छौँ ।”

वैदेशिक रोजगार र उच्च शिक्षाको बहानामा युवाहरू विदेश जाने क्रमले गाउँका घरहरू रित्तिएको भन्दै यस समस्यालाई प्रदेश सरकारले गम्भीर रूपमा लिएर समाधान खोजिरहेको मुख्यमन्त्री तामाङले उल्लेख गरे । । युवालाई उद्यमी बनाउन र प्राविधिकसहित गुणस्तरीय शिक्षा उपलब्ध गराई रोजगारको सुनिश्चित गराउन तीन तहका सरकारले साझा धारणा बनाएर समस्याको पहिचान गरिरहेको भन्दै यसमा प्रदेश सरकारले पनि पहल गरिरहेको मुख्यमन्त्री तामाङले बताए ।

सरकारले उद्योग कलकारखाना स्थापनाका लागि सरल नीति अवलम्बन गर्ने, व्यवसायीमैत्री कानुन कार्यान्वयन गर्ने, विद्युत् आपूर्ति, राजस्वमा सहुलियतलगायत क्षेत्रमा सुधार गरेकाले नयाँ उद्योग स्थापना गर्न उद्योगी, व्यवसायीलाई उनले आग्रह गरे ।

Logo