दिनभरिको काम छाडेर पानीको जोहो

दिनभरिको काम छाडेर पानीको जोहो

केन्द्रबिन्दु
0
Shares

हुम्लाको सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ ।

त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक घण्टाको दूरीमा रहेको तल्लो उनापानीको खोलाबाट माथिल्लो उनापानी पु¥याउनुपर्ने बाध्यता रहेको छ । दिनभर एक जना खानेपानी ओसार्न घरमा नै बस्नु परेको स्थानीय चुनर्बु फडेराले बताए । गत वर्ष सामुदायिक विकास कार्यक्रमले एक दिन टाढा पर्ने स्याउले भन्ने स्थानबाट खानेपानीको निर्माण गरेको भए पनि वनस्पतीको पात र फोहरले मुहान थुनिने समस्याका कारण खानेपानीको आपूर्ति राम्रो नहुँदा यस्तो समस्या भोग्दै आएको फडेराले बताए ।

गाउँमा खानेपानीको धारा त बने पनि मुहानको ट्याङ्की छोप्न जालीलगायतका अन्य सामग्री नहुँदा रुखका पातले पाइपलाई बन्द गरिदिने समस्याले उपभोक्तालाई पानीको आपूर्तिमा समस्या भएको अर्का स्थानीय गोले फडेराले बताए । हरेक दिन एक जना पानीको मुहान सफा गर्न मुहानतर्फ जानुपर्ने बाध्यता माथिल्लो उनापानीका बासिन्दाका लागि दिनचर्या नै बन्ने गरेको छ ।

जङ्गलको भिरालो बाटोमा पानीको मुहान सफा गर्न जाँदा वन्यजन्तुको डर हुने गरेको स्थानीयको भनाइ छ । “एक्लै जान पनि समस्या छ, भिरको बाटोमा लडिने अनि हिँड्दा ढिलो भएमा घर नपुगिने अवस्थाले दुईदेखि तीन जनाको समूहमा पानीको मुहान सफा गर्न जाने गरेका छौँ, हरेक दिन मुहान सफा गर्न साह्रै कठिन भएको छ”, उनले भने ।

खानेपानी नहुँदा पशुवस्तुलाई एक घण्टा लगाएर खानेपानी भएको खोलामा पु¥याएर ल्याउन अझ कठिन भएको छ । पशुवस्तुको चरन क्षेत्रबाट खोलामा पानी खुवाउन अझ समस्या छ । एक जनाले खानेपानी ओसार्ने अनी अर्कोले पशुवस्तुका लागि पानी खुवाउनुपर्ने अवस्था रहेको छ ।

“कपडा धुन आधा घण्टाको दूरीमा रहेको तल्लो उनापानीको तातोपानी भएको खोलामा गएर धुन्छौँ, फर्कंदा आधा घण्टा लाग्छ”, फडेराले भने । पानीको अभावले व्यक्तिगत सरसफाइमा पनि सङ्कोच अपनाउनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । पानीलाई सुन जस्तै मानेर फारो गरेर चलाउनुपर्ने अवस्था छ । गाउँपालिका र वडापालिकालाई यो समस्याका बारेमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै गुनासो नभएको स्थानीयको गुनासो छ ।

Skip This
Skip This
Logo