विश्व ध्यान दिवस घोषणामा नेपालको योगदान

विश्व ध्यान दिवस घोषणामा नेपालको योगदान


काठमाडौँ । ध्यान भनेको व्यक्तिद्वारा वर्तमान क्षणको सजगतापूर्ण तरिकाले बोध गर्दै उसको परम होशपूर्ण अवस्था हो । ध्यानलाई मनप्रतिको जागरण भनिन्छ । ध्यान एक विश्राम हो, यो कुनै विषयवस्तु वा विचारमा केन्द्रित हुनु वा एकाग्रता होइन । बरु आफूले आफैँमा विश्राम लिने एक प्रक्रिया हो ।

ध्यान आवाजबाट मौनको यात्रा हो । ध्यान गतिविधिबाट विश्रामको यात्रा हो । सारा प्रयत्न छोडियो भने मात्र व्यक्तिमा ध्यान घट्दछ । ध्यान भनेको मस्तिष्कदेखि हृदयतिरको यात्रा हो । अझ गहिरो रूपमा भन्ने हो भने ध्यान भनेको आत्मा र परमात्माबीचको संवाद हो । ध्यान भनेको मनको स्नान गर्ने प्रक्रिया हो ।

संयुक्त राष्ट्रसंघले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा मनाउने निर्णय गरेपछि २१ डिसेम्बर, २०२४ मा विश्वभर प्रथम विश्व ध्यान दिवस उत्साहपूर्ण तरिकाले मनाइयो । संयुक्त राष्ट्र संघको महासभाले ७ डिसेम्बरका दिन सर्वसम्मतिले २१ डिसेम्बरको दिनलाई विश्व ध्यान दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

विश्व ध्यान दिवस घोषणामा नेपालको योगदान महत्त्वपूर्ण रहेको छ । किनभने विश्व ध्यान दिवसको आवाज ध्यानको उद्गम थलो यही नेपालबाट दश वर्षअघि उठेको थियो । सन् २०१४ मा योगको उर्वर राष्ट्र भारतको प्रस्तावमा २१ जुनको दिनलाई संयुक्त राष्ट्रसंघद्वारा विश्व योग दिवसको घोषणा भएपछि ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले त्यसैबेलादेखि विश्व ध्यान दिवस पनि मनाउनुपर्दछ भनी विभिन्न ठाउँहरूमा आफ्नो आवाज उजागर गरेका थिए ।

स्वामी अरुणले ओशोका सन्देशहरू लिएर विभिन्न राष्ट्रहरूको भ्रमणको क्रममा विभिन्न ठाउँमा यो आवाज उठाएका थिए । नेपाल सरकारलाई पनि उनले विश्व ध्यान दिवसको प्रस्ताव नेपालले संयुक्त राष्ट्र संघमा लैजानुपर्दछ भनी पटकपटक घच्घच्याएका थिए । उनले नेपालका विभिन्न प्रधानमन्त्री तथा मन्त्रीहरूलाई विश्व ध्यान दिवसको प्रस्तावका लागि सधैँ अनुरोध गर्थे । विभिन्न देशका राजदूतहरू अनि विभिन्न देशका सिनेटरहरूलाई विश्व ध्यान दिवसका लागि आवाज उठाउन नियमित रूपमा अनुरोध गरिरहेका थिए ।

स्वामी अरुणले विभिन्न फोरम, कार्यक्रम तथा आफ्ना प्रवचनहरूमा विश्व ध्यान दिवसको आवश्यकताका बारेमा १० वर्षदेखि बोलिरहेका थिए । त्यसपछि विश्वभर ध्यान दिवसको बहस सुरु हुन थाल्यो । अघिल्लो वर्ष संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज बुद्ध पूर्णिमाका समयमा नेपाल आएका बेला नेपालका पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले उनीसँग विश्व ध्यान दिवसको घोषणा गर्न मौखिक प्रस्ताव राखेका थिए ।

त्यस समय संयुक्त राष्ट्रसंघका महासचिवले सकारात्मक जवाफ दिएका थिए । यद्यपि नेपाल सरकारले औपचारिक रुपमा विश्व ध्यान दिवसको प्रस्ताव सरकारबाट पारित गरी औपचारिक रूपमा संयुक्त राष्ट्रसंघमा प्रस्ताव लैजान भने सकेन । तथापि यो आवाजको सुरुआत नेपालबाटै भएको थियो ।

औपचारिक रूपमा १ सय ६० वर्ग किमी क्षेत्रफल भएको अनि ४० हजार मात्र जनसंख्या भएको युरोपको अत्यन्त सानो देश लिकटेन्स्टाइनको प्रस्ताव अनि नेपाल, भारत, श्रीलंका, मेक्सिको र अन्दोराको समर्थनमा संयुक्त राष्ट्र संघको महासभाद्वारा २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने सर्वसम्मतिले निर्णय गरेको थियो ।

उत्तरी गोलार्धमा वर्षको सबैभन्दा लामो दिन २१ जुनलाई विश्व योग दिवसका रूपमा मनाउन थालिएको १० वर्षपछि संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत वर्षको सबैभन्दा छोटो दिन २१ डिसेम्बरलाई विश्व योग दिवसको रूपमा मनाउने प्रस्तावलाई १ सय ९३ देशबाट सर्वसम्मतिले पारित गरिएको थियो । १० वर्षअगाडि भारतको प्रस्तावमा प्रस्तुत विश्व योग दिवसको प्रस्तावलाई विश्वका १ सय ७७ देशले मात्र समर्थन गरेका थिए । संयुक्त राष्ट्र संघका सदस्य रहेका २० देशले समर्थन नगरेको हुँदा संयुक्त राष्ट्रसंघको महासभामा बहुमतले २१ जुनलाई विश्व योग दिवस मनाउने प्रस्ताव पारित गरिएको थियो । तर विश्व ध्यान दिवसको प्रस्ताव भने सर्वसम्मतिले पारित भएको थियो ।

विश्व ध्यान दिवसले मानिसहरूलाई मानसिक स्वास्थ्य र आन्तरिक शान्तिका लागि ध्यानको महत्त्वबारे जागरुक बनाउने उद्देश्य राख्दछ । यो दिन विशेष गरेर तनाव व्यवस्थापन, आत्म चिन्तन र सकारात्मक जीवनशैलीलाई प्रोत्साहन दिन ध्यान कार्यक्रम, सेमिनार र कार्यशालाहरू आयोजना गरिन्छ ।

२१ डिसेम्बरको दिन विश्वभर ध्यान गर्ने र साधना गर्ने व्यक्तिहरूका लागि पर्वको दिन हो । २१ डिसेम्बर, २०२४ को दिन विश्वभर प्रथम विश्व ध्यान दिवस मनाइयो । नेपालमा पनि अधिकांश आध्यात्मिक केन्द्रहरूमा प्रथम विश्व ध्यान दिवस मनाइयो । नेपालको राजधानी काठमाडौँको सैनिक मञ्च टुडिखेलमा नेपाल सरकारको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रथम विश्व ध्यान दिवस मनाइयो ।

उक्त कार्यक्रममा ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुण, जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा तथा आर्ट अफ लिभिंगका सन्तोष केडियाले ध्यान दिवसको महत्त्वका बारेमा बोलेका थिए । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निरोगी नेपाल र आरोग्य नेपाल बनाउनका लागि परेको बताएका थिए । उनले मानिसलाई शारीरिक, मानसिक र चिन्तनमा तन्दुरुस्तीका लागि ध्यान आवश्यक रहेको बताउँदै हाम्रा ऋषिमुनिहरूले हजारौँ वर्ष पहिले दिएको ज्ञानलाई संसारभर फैलाउन लागि पर्ने प्रतिबद्धता जनाए । उनले मानवका सारा समस्याको समाधान ध्यानमा रहेको बताउँदै संयुक्त राष्ट्रसंघले ध्यान दिवसको घोषणा गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रथम विश्व ध्यान दिवसको दिन स्वामी आनन्द अरुणले भने, ‘ध्यानको जन्मभूमि पनि नेपाल हो र ध्यान दिवसको प्रस्ताव उठाउने जन्मभूमि पनि नेपाल नै हो ।’ उनले नेपाललाई ध्यानको राजधानी बनाउनुपर्छ भनेका थिए । उनले नेपालमा मेडिटेसन, योग, प्राकृतिक चिकित्सा र आयुर्वेद विश्वविद्यालय स्थापना गर्न सकियो भने विश्वभरबाट ध्यान र योग सिक्नलाई विद्यार्थीहरू नेपाल आउने बताए । भारतमा आयुस मन्त्रालय भएजस्तै नेपालमा पनि एउटा योग र ध्यानको मन्त्रालय बन्नुपर्छ र त्यसमा अभिरुची राख्ने व्यक्ति त्यसको मन्त्री हुनुपर्छ भन्ने उनको तर्क छ ।

अहिले विश्वमा योग र ध्यानको मार्केट ७ बिलियन डलरको छ र यो २०२७ सम्म ९ बिलियन डलरको हुनेवाला छ । ध्यानको विकास आत्म जागरणका लागि भएको थियो । तर अहिले विश्वमा यो निन्द्राका लागि उपयोग भइरहेको छ । ध्यानले निन्द्राको गुणस्तर राम्रो बनाइदिन्छ ।

जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले ‘ध्यान जन्मेको देशले विश्व शान्ति र समृद्धिको कामना गर्नुपर्ने र विश्व ध्यान दिवसको नेपालले स्वामित्व लिने गरी काम गरेर नेपाललाई शान्ति र आरोग्यको केन्द केन्द्र बनाउनु पर्ने’ कुरामा जोड दिएका छन् । अहिले विश्वभर आरोग्यका लागि पर्यटन गर्नेको सङ्ख्या बढेको दृष्टान्त राख्दै उनी आरोग्य पर्यटन भित्र्याएर देशलाई समृद्ध बनाउन लाग्नुपर्ने तर्क राख्छन् ।

विश्व ध्यान दिवस सम्पूर्ण नेपालीहरूको लागि गौरवको दिन हो । संसारमा सबैभन्दा पहिला भगवान् शिवजीले ध्यानको विधि आविष्कार गरेका थिए । नेपालमा नै भगवान् शिवले ध्यान विज्ञान विकास गरेका थिए । ध्यानको पहिलो गुरु भगवान् शिव यसै क्षेत्रका थिए । ध्यानलाई विश्वव्यापी बनाउने दोश्रो गुरु भगवान् गौतम बुद्ध हुन् । उनी नेपालमा नै जन्मिएका थिए । ध्यानका धेरै विधिहरू आविष्कार गर्ने अर्को तेस्रो गुरु गुरु गोरखनाथ थिए । उनी पनि नेपालसँग सम्बन्धित छन् । नेपालमा उनकै नामबाट गोरखा जिल्ला रहन गयो । बाइसे चौबिसे राज्यमा रहेको अवस्थालाई एकीकरण गर्ने नेपालका शाह वंशका राजा पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथले आशिर्वाद दिएका थिए भन्ने इतिहास छ । गोरखनाथको गुरु मच्छेन्द्रनाथ पनि नेपालकै थिए ।

ध्यानलाई विराट् ढंगले विश्वव्यापी बनाउने यस युगमा महान् पुरुष थिए ओशो रजनीश । उनी पनि नेपालसँग सम्बन्धित छन् । ओशोले नेपाललाई आफ्नो आध्यात्मिक राजधानी भनेका थिए । अहिले संसारमा उनको सबैभन्दा सक्रिय काम नेपालमा भइरहेको छ । ओशोको दर्शन नेपालमा आगो जसरी फैलिरहेको छ ।

त्यसैगरी विश्व आध्यात्मिक आकाशका आध्यात्मिक गुरुहरु वेदव्यास, पद्मसम्भव, गुरु नानक, शिवपुरी बाबा, गोख्ले बाबा, खप्तड बाबा, पाइलट बाबा, स्वर्गद्वारी महाप्रभु, अष्टाबक्र, राजा जनक लगायत धेरै गुरुहरूले नेपालमा ध्यान गरेका थिए । त्यस्ता महान् विभूतिहरूको स्थान हो नेपाल । उनीहरूले यहाँ ध्यानका लागि पृष्ठभूमि सिर्जना गरेर गए । त्यसैले विश्व ध्यान दिवसमा नेपालको योगदान अतुलनीय रहेको छ ।

यस जगत्मा बहुत आनन्द छ, बहुत आलोक छ, अनि बहुत सौन्दर्य छ । यदि हामीसँग यसलाई हेर्ने आँखा अनि यसलाई ग्रहण गर्ने हृदय भयो भने । त्यो आँखा अनि त्यो हृदय विकशित हुनका लागि व्यक्ति ध्यानको गहन प्रयोगबाट गुज्रिनुपर्दछ । अब ध्यान जोगीहरूले मात्र गर्ने होइन, हरेक व्यक्तिको आवश्यकता भएको छ । अब ध्यान गुफाहरूमा मात्र गर्ने होइन, हरेक घरमा गर्नुपर्ने समय आएको छ । विश्व ध्यान दिवसले सबैमा ध्यानको दिव्यताको अनुभूति गराओस् ।

Logo