मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छः मन्त्री शाही

मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि विशेष प्याकेज ल्याइन्छः मन्त्री शाही

केन्द्रबिन्दु
12
Shares

झापा । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव र हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकार गम्भीर भएको बताएका छन् । झापाको मेची नगरपालिकामा मानव–हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव हात्ती सह–अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन् ।

उनले भने, ‘झापामा यो समस्या धेरै वर्षदेखिको हो । समस्या समाधानका लागि आगामी आर्थिक वर्षभित्र विशेष प्याकेज नै ल्याइन्छ ।’ उनले मानव वन्यजन्तु द्वन्द्वका कारण दिइने राहत प्रक्रियालाई पनि छिटो र सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले द्वन्द्व न्यूनीकरणका लागि स्थानीय र प्रदेश सरकारको मात्रै नभएर संघीय सरकारको पनि सहयोग अपरिहार्य रहेको बताए ।

सरोकारवालाहरूसँगको छलफलपछि मन्त्री शाहीसहितको टोलीले झापाका हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्दै अन्तरक्रिया समेत गरेका थिए । उनीहरूले भारतबाट नेपाल प्रवेश गर्ने हात्तीको नाका समेत अवलोकन गरेका थिए । स्थानीयवासीले विद्युतीय तारबार निर्माण र मेची खोलामा तटबन्धन निर्माण गरे हात्ती प्रवेशलाई रोक्न सकिने धारणा राखेका थिए ।

मानव हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले आर्थिक वर्ष २०७१–०७२ देखि झापा जिल्लाका विभिन्न हात्ती प्रभावित क्षेत्रहरूमा करिब ९१ किलोमिटर सोलार विद्युतीय तारबार जडान गरिसकेको संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले बताए । यो अवधिमा करिब ११ करोडभन्दा बढी लगानी गरिएको पोखरेलले जानकारी दिए ।

कोषको कोशी संरक्षण केन्द्रका अनुसार झापा जिल्लामा २०६९ सालयता द्वन्द्वका कारण २१ वटा हात्तीको मृत्यु भएको छ । यस्तै, ७२ जना मानिसहरूको हात्ती आक्रमणमा परी ज्यान गइसकेको कोषले जनाएको छ ।

Logo