सिरहा
सिरहाको गोलबजार– ९ धुर्मीखोला नजिकबाट तस्करीको पौने दुई किलो सुन बरामद गरेको सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । शनिबार बिहान भारतीय नम्बरप्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीनजनालाई लुकाएको खुलेको हो ।
सार्वजनिक गरिएका एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीनजना पक्राउ परेको जानकारी केही घन्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खटिएको टोलीले सुनसहित उनीहरूलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका हुन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।
अभियुक्त ६ जना र बरामद गरिएको सुन थप अनुसन्धान र कारबाहीका लागि शनिबार नै सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको छ । बरामद सुनको बजार मूल्य ९१ लाख ९२ हजार चार सय २० रुपैयाँ हुन आउने सशस्त्र प्रहरीले जनायो ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया