काठमाडौं ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठक प्रभावित भएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि मंसिर २० गतेका लागि बैठक सारिएको बताए । सचिवालय बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि अध्यक्ष ओलीको समेत उपस्थितिमा बैठक बस्नु उचित हुने भन्ने निष्कर्षका साथ आगामी बैठकमा उपस्थिति हुन अनुरोध गर्ने निर्णयसहित मंसिर २० गतेका लागि बैठक बोलाईएको प्रवक्ता श्रेष्ठले बताए।
मंसिर १८ गते (आज) का लागि बोलाइएको स्थायी कमिटी बैठक पनि मंसिर २१ गतेका लागि सारिएको उनले बताए। उनले भने, ‘बुधबार बसेको पार्टीको सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित हुनु भएन । त्यस कारणले बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्याहरुको समाधानको लागि प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ अध्यक्ष ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको अपेक्षासहित उहाँलाई बैठकमा आउन अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालयको बैठक आगामी २० गते १ बजे र पूर्व निर्धारित १८ गते (आज) देखि शुरु हुने स्थायी कमिटीको बैठक २१ गते १ बजेदेखि प्रारम्भ हुने निर्णय गरिएको छ ।’
पार्टी गम्भीर संवेदनशिल मोडमा रहेकाले आगामी बैठकमा अध्यक्ष ओली सहभागी हुने अपेक्षा र विश्वास आफूहरुले गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘हाम्रो पार्टी अहिले गम्भीर र संवेदनशिल मोडमा छ । त्यसैले हामी यो असामान्य परिस्थितिमा संवेदनशिलताका साथ नै प्रक्रिया अगाडि बढाउन छलफलको बहसको प्रक्रिया अगाडि बढाउन र निर्णय लिनु उचित हुन्छ भन्छौं । त्यसकारण अध्यक्ष ओली आउनु भएन भने के गर्ने भन्ने बारेमा हामी सोच्नै चाहदैनौं । हामी अपेक्षा मात्र होइन विश्वस्त छौं की अध्यक्ष केपी शर्मा ओली अर्को बैठकमा उपस्थित भएर पार्टीको अहिलेको संकटको निवारण गर्ने छलफललाई सार्थक निष्कर्षमा पुर्याउन योगदान गर्नु हुनेछ ।’































प्रतिक्रिया