विद्यार्थी विदेशी शिक्षामा आकर्षक भएर पलायन भएका हाेइनन्, देशमा अवसर नदेखेर हाे -सभामुख घिमिरे

विद्यार्थी विदेशी शिक्षामा आकर्षक भएर पलायन भएका हाेइनन्, देशमा अवसर नदेखेर हाे -सभामुख घिमिरे

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । सभामुख देवराज घिमिरे विद्यार्थीहरुले विदेश गएर पढ्ने भन्दा पनि पढाईलाई कमाईको माध्यम बनाउनु बिडम्वना भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९औं वार्षिक साधारण सभामा बोल्दै सभामुख घिमिरेले विद्यार्थीहरु पढ्ने भन्दा पनि शिक्षालाई जिविको पार्जनको माध्यम बनाएको जस्तो राज्यले विडम्बनापूर्ण स्थिती भोगिरहेको बताएका हुन् ।

उनले भने, ‘मलाई लाग्छ शिक्षा आर्जन गर्ने कुरा खाली वैदेशिक रोजगारीको सहजताको लागि मात्र होइन । स्वदेशमा फर्केर पनि कामहरू गर्न सक्ने वा विदेशमा हामीले शिक्षा आर्जन गर्दा त्यो देशमा देखेका उन्नति र प्रगतिको कुराहरूलाई शिक्षाको रुपबाट लिन र हाम्रो देशको सन्दर्भमा कार्यान्वयन गर्ने योजनाहरू बनाउन पनि हो ।’

उनले थपे, ‘इक्यानले प्राविधिक शिक्षा आर्जन गर्नेको लागि कुन मुलुकमा, कुन विश्व विद्यालयमा गएर पढ्यो भने उक्त शिक्षा आर्जन गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिँदै आएको छ । जुन शिक्षा हाम्रो नेपालको समाजलाई अघि बढाउने सन्दर्भमा अथवा राष्ट्रको हितमा प्रयोग गर्न सकिन्छ । त्यहाँको शिक्षा आर्जन गरिसकेपछि नेपालमा फर्केर एउटा उदाहरण दिन सकिन्छ वा आकर्षणको चिज बनाउन सकिन्छ ।’

विद्यार्थी वैदेशिक अध्ययनमा जानुको मुख्य कारण विदेशी शिक्षामा आकर्षक भएर भन्दा पनि स्वदेशमा स्वरोजगारका अवसरहरू र आफूमा त्यो स्वरोजगारी सृजनाको क्षमता नदेख्नु रहेकोमा सभामुख घिमिरेको स्वीकारोक्ती छ ।

‘विद्यार्थीलाई स्वदेश फर्काउनमा इक्यान लगायतका संस्थाहरूले प्रयत्न गरिरहेको र यसलाई अझै मूर्त रुपमा ल्याउने विषयमा छलफल गर्न आवश्यक रहेको छ । भोलिका दिनहरुमा विदेश जानेहरूको संख्यालाई विदेशमा गएर सिक्ने र सिकेको कुराहरूलाई स्वदेश निर्माण गर्ने काममा यो जनशक्ति आउन सकोस् । त्यो शिक्षा राष्ट्र निर्माणमा लागू हुन सकोस् ।’ उनले भने ।

इक्यानको साधारण सभामा हाम्रो शिक्षा नीतिको बारेमा बहस छलफलहरू हुनेछन् । शैक्षिक परामर्श संघ संस्थाले गरिरहेका काम कारवाहीमा राज्यको तर्फबाट भएका सहज र असहज कुराहरूको बारेमा मूल्याङ्कन हुँदैछ ।

‘शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउनको लागि हाम्रो देशमा शिक्षा कस्तो हुनु पर्छ र विदेशमा पढ्न जाने विद्यार्थीको योग्यता क्षमता र भावना र दृष्टिकोण कस्तो हुनु पर्छ । के गर्दा विदेशमा आर्जित शिक्षा स्वदेशको हितमा या मानवको हितमा हुनसक्ने छ ? यसको विषयमा इक्यानले निश्चय पनि धेरै बहस छलफल पछि केही सोच र निष्कर्षहरू निकाल्नेछ ।’ सभामुख घिमिरेले भने ।

यसका साथै इक्यानले आफ्नो लामो इतिहासमा गरेका कामहरू अझै कसरी प्रभावकारी पार्न सकिन्छ भन्ने बहस छलफलहरू गर्दै आगामी दिनमा अझै प्रभावकारी बनाउन तर्फ अग्रसर रहन इक्यान लगायत विभिन्न शैक्षिक परामर्श संघ संस्थालाई सभामुख देवराज घिमिरेले सुझाव पनि दिएका छन् ।

Logo