गाउँपालिका अध्यक्षले जलविद्युत् आयोजना निर्माण बन्द गराए

गाउँपालिका अध्यक्षले जलविद्युत् आयोजना निर्माण बन्द गराए

केन्द्रबिन्दु
0
Shares

रामेछाप

स्थानीय प्रभावित जनताले राख्दै आएको माग सम्बोधन नगरेको भन्दै रामेछापको लिखु तामाकोसी गाउँपालिकाले निर्माणाधीन लिखु ३ जलविद्युत् आयोजनाको काम ठप्प पारेको छ ।

प्रवद्र्धक कम्पनीले ‘स्थानीय सरकार र स्थानीय जनतासँग सहकार्य गर्न नचाहेको र केही अराजक व्यक्तिलाई साथ लिई जनतामाथि नै दादागिरी गर्दै आए पछि गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले निर्माण कार्य हाललाई रोकेको बताए ।

गाउँपालिकाका अध्यक्ष खड्काले भने, ‘श्वेतगंगा हाइड्रोपावर कम्पनीले स्थानीय सरकार र जनतालाई टेरेन । त्यसले आफ्नो कार्यस्थलबाट निस्केको धुलो न्यूनीकरण गर्न जनता र हामी जनप्रतिनिधिले धेरै पटक अनुरोध गर्‍यौं तर कम्पनीका मालिकहरुले हाम्रो कुरै नसुनी दादागिरी गरि नै रहे ।’

उनका अनुसार कम्पनीले स्थानीय जनतालाई दिने भनेको रोयल्टीसमेत दिएन । त्यसपछि करिब २२ सयको संख्यामा आएको स्थानीय जनताले गाउँपालिकाको कार्यालय घेरा हाले । ‘म जनताको सेवक हुँ। जनताको आदेश पालना गर्दै मैले तत्कालका लागि काम रोकिदिएको हो, उनले भने ।

स्थानीयको माग सम्बोधन गरिदिन्छु भन्दै पटक–पटक वार्तामा बोलाएर स्थानियलाई झुलाई राखेको भन्दै स्थानीय संघर्ष समितिका संयोजक केशर पौडेलले गुनासो गरे । ‘हामीले धेरै पटक वार्तामा बस्न फिल्ड मेनेजर बसन्त पौडेलसंग आग्रह गर्‍यौं, वडा कार्यालय, गाउँपालिका कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला वन कार्यालयसम्मलाई जानकारी गरायौं, तर हाम्रो कुनै सुनुवाई भएन हामी अन्यायमा पर्‍यौं’, उनले भने ।

गंगा हाइड्रोपावर कम्पनीका फिल्ड मेनेजर बसन्त पौडेलले स्थानीयको माग कम्पनीले पूरा गर्न नसक्ने खालका रहेको बताए । ओखलढुङ्गा र रामेछाप जिल्लाको सिमानामा निर्माणधिन गंगा हाइड्रोपावर लिखु–३ बाट २८ दशमलव ५ मेगावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।
अन्नपूर्णबाट

Logo