जनकपुरधाम
जाडोले बढी पिरोल्ने ठाउँ हो , तराई । यहीँ चल्छ शीतलहर पनि । यसबाट बच्न तराई–मधेसका गरिब बस्तीका बासिन्दा घुर (आगो) ताप्छन् । प्रायः घरमा परालको आगोले जाडो धपाइन्छ । तर महिलाका लागि कहिलेकाहीँ यही आगो काल बनिदिन्छ ।
जनकपुर अञ्चल अस्पतालको इमर्जेन्सी वार्डबाट शुक्रबार मात्रै बर्न वार्डमा सारिएकी धनुषाको बैरिया निवासी आठ महिने गर्भवती अनितादेवी यादवका लागि जाडोको घुर काल बन्यो । मंगलबार दिउँसो दाउराको चुलोमा आगो ताप्दै खाना पकाइराखेकी थिइन् उनी । चुलोतर्फ फर्किएर ३० वर्षीया अनिता चिसोले दुखेको कम्मर सेकिरहेकी थिइन् । उनले केही बेर आगो तापिन् । दुखाइ कम पनि भयो । तर छिनमै आगोले उनको साडी समात्यो । र शरीरभरि फैलियो । हेर्दाहेर्दै कपडा मात्र होइन, शरीर पनि आगोले जलायो । देखेर घरपरिवारले हारगुहार त गरे । उद्धार गरिनसक्दै अनिताको शरीरका आधा भाग आगोले भेटिसकेको थियो ।
तत्कालै अनितालाई उपचारका लागि अञ्चल अस्पताल भर्ना गरियो । अहिले उनको ज्यान जोगिएको छ । गर्भको बच्चा पनि सुरक्षित छ । तर घाउले गर्भावस्थाको पीडा अझ बल्झाइदिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका पुलचोककी मंगलीदेवी दासलाई पनि गत आइतबार आगोले भेट्यो । ६ महिनाकी गर्भवती दास चिसोबाट बच्न आगो ताप्दै थिइन् । साडीलाई एक्कासि आगोको झिल्कोले भेटेपछि छिनमै शरीरभरि फैलियो । घरपरिवारले जेनतेन उनलाई बचाएर अस्पताल भर्ना गरायो । उनी पनि अहिले खतरामुक्त छिन् । पोलाइको पीडा र त्यसमाथि गर्भमा भएको बच्चाको चिन्ताले दासलाई झन् पीडित बनाएको छ ।
घरायसी काममा यसै पनि आगोसँग महिला नै बढी जुध्नुपर्छ । त्यसमाथि उनीहरूले लगाउने पहिरनका कारण पनि आगोको जोखिम बढी हुने चिकित्सक बताउँछन् । तराई मधेसका गरिब बस्तीमा प्रायः महिलाले कम उमेरमै बच्चा पाउँछन् । बच्चा पाएपछि पनि राम्रो हेरचाह नहुँदा उनीहरूमा ढाड दुख्ने जस्ता समस्या देखिन्छन् । चिसोमा यस्ता समस्या बल्झिन्छन् पनि । तर आगोमा सेक्यो भने निको हुने धारणाले उनीहरूको जोड घुर ताप्नेमै हुुन्छ । त्यसैले धेरैजसो महिलाको साडीबाटै आगो सल्किने गरेको बर्न भाइलेन्स सर्भाइबर संस्थाकी धनुषा प्रतिनिधि सिया सहेली कुमारी साहको भनाइ छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया