काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन र शान्ति मिसनमा सशस्त्र प्रहरीले बलले पुर्याएको योगदानबाट सशस्त्र प्रहरीलाई राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभ्याएको बताएका छन् ।
२४औँ सशस्त्र प्रहरी दिवसका अवसरमा आज हल्चोकमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले बाढी, पहिरो, आगलागी, भूकम्प, दुर्घटना, महामारीजस्ता प्राकृतिक वा मानव सिर्जित विपद् उद्धारका क्षेत्रमा सशस्त्र प्रहरीले गरेका कामको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको बताएका हुन् ।
“दङ्गा तथा गम्भीर अशान्ति नियन्त्रण होस् वा दैवी प्रकोप र महामारीबाट प्रभावित जनताको उद्धारमा सशस्त्र बलले आफ्नो भूमिका निष्ठापूर्वक निर्वाह गरेको छ”, उनले भने, “कठिन परिस्थितिमा पनि देश र जनताको सेवामा निरन्तर खटिने र प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने यहाँहरूको भूमिका मुलुकको शान्ति र स्थिरताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ ।”
गृहमन्त्रीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न मिसनमा व्यावसायिकताका साथ काम गरी नेपालको नाम उच्च बनाउने कार्यमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घीय मिसनमा थप सहभागिताका लागि मन्त्रालय सकारात्मक रहेको बताए ।
सीमा तथा सीमास्तम्भको सुरक्षा, सीमापार अपराध, अवैध चोरीपैठारी, मानव बेचबिखन तथा लागू पदार्थको ओसारपसारलगायत अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी ‘डेडिकेटेड’ फौजका रूपमा रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले आगामी दिनमा सामाजिक कार्यमार्फत यस्ता अपराधलाई न्यूनीकरण गर्न अग्रसर हुन आग्रह गरे । सशस्त्र प्रहरी बलको सुदृढीकरणका लागि थप जनशक्तिको व्यवस्थासहित बोर्डर आउट पोष्ट स्थापनाको प्रयास भइरहेको उनको भनाइ छ ।





























प्रतिक्रिया