रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियाे, आदेश कहिले आउला ?

रवि लामिछानेविरुद्धको थुनछेक बहस सकियाे, आदेश कहिले आउला ?

केन्द्रबिन्दु
87
Shares

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको थुनछेक बहस सकिएको छ ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा न्यायाधीश पल्हादकुमार योगीको इजलासमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।

आज सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् ।

लामिछानेलाई हिजो जस्तै आज पनि परिवारको जिम्मा लगाइएको छ ।

लामिछानेमाथि सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराध प्रकरणमा १० करोड ९९ लाख बिगोसहितको मुद्दा दायर भएको थियो । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।

प्रहरीले पूरक अनुसन्धान गरेर मुद्दामा चलाउन राय दिएएपछि सरकारी वकिल कार्यालयले लामिछाने, गोर्खा मिडिया नेटवर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । रवि र छविका साझेदार एवम् सुप्रिमका सञ्चालक जीबी राई, सप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा ०८१ वैशाख ३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो ।

उक्त सहकारीबाट करिब २ हजार बचतकर्ताको ८६ करोड १८ लाख २३ हजारभन्दा बढी रकम हिनामिना भएको पाइएको छ । त्यसमध्ये सुप्रिमबाट १४ करोड ३० लाख रुपैयाँ साँवा गोर्खा मिडिया नेटवर्कमा लगानी भएको सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन समितिको ठहर छ ।

Logo