सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’, प्रधानमन्त्री भन्छन्- अब नेपाल दुर्गम रहेन

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’, प्रधानमन्त्री भन्छन्- अब नेपाल दुर्गम रहेन

केन्द्रबिन्दु
12
Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।

‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनी सो कार्यक्रममा सरिक भएका हुन् ।

प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरुलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे । उनले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।

यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट–नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।

“सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश । फाइदा हुने कामकुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु सदैव यसैतर्फ केन्द्रित छन् ।”

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम आज सकिएको हो । सिद्धबाबा सुरुङ्मार्ग आयोजना कार्यालयका अनुसार ब्रेक थ्रु हुँदा भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको छ । आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको निर्माण गरिएको छ ।

उत्तरतर्फबाट ४८० मिटर र दक्षिणतर्फबाट ६०७ मिटर गरी १०८७ मिटर सुरुङ खनिसकेको थियो । सुरुङमार्ग छिचोलिए पनि सुरुङभित्रको लाइनिङ र ‘स्लोप’ मिलाउन समय लाग्नेछ । आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन एक वर्ष अझै लाग्ने छ ।

Skip This
Skip This
Logo