नेपालमा पश्मिना धागोको उत्पादन थेगिरहेको, नेपाल फाइबर प्रोसेसिङ

नेपालमा पश्मिना धागोको उत्पादन थेगिरहेको, नेपाल फाइबर प्रोसेसिङ

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नरम बनावट, हलुका तौल आर्कषक स्वरुपका कारण विश्वमा निकै चर्चित छ, पश्मिनाका लुगाहरु । पश्मिना विशिष्टता र श्रेणीको चिन्ह बनिसकेको छ, जसका कारण यो फेसन उद्योगमा पनि निकै लोकप्रिय बन्दै गएको छ ।

अझ विषेशगरी विश्वमा नेपाली पश्मिनाको लोकप्रियता नै छुट्टै छ । युरोप, अमेरिका र जापानजस्ता देशमा नेपाली पश्मिनालाई निकै रुचाइन्छ । पश्मिना नेपालको आम्दानीको राम्रो स्रोत मात्र नभई विश्वमा नेपाललाई चिनाउन सक्ने चिनारी पनि हो ।
अनि त्यही विश्वसामु नेपाललाई चिनाउन सक्ने पश्मिनाको लागि आवश्यक पर्ने यान (धागो) उत्पादन गर्ने एउटै मात्र कम्पनी हो– नेपाल फाइबर प्रोसेसिङ प्रा.ली । यो कम्पनी ५६ वटा पश्मिनाका लुगा उत्पादन गर्ने कम्पनीहरुले मिलेर २०७७ सालमा सयुंक्त रुपमा खडा गरेको सीईओ सुमन भण्डारीले जानकारी दिए ।

‘यो कम्पनी खडा हुनुअघि हामी नेपालका पश्मिना उद्यमीहरु धागोको लागि अरु देशको भर पर्नुपर्ने अवस्था थियो । कच्चा पदार्थ भएपनि धागोको लागि भने तिब्बत चिन र भारतजस्ता देशहरुको मुख ताक्नुपर्थ्याे’, भण्डारी थप्छन् ‘अरु देशमा निर्भर हुनुभन्दा पश्मिनाको प्रशोधन सुविधा नेपालमै हुनुपर्छ, आफ्नै देशमा नै धागो उत्पादन गरौं र आत्मनिर्भर बनौं भन्ने उद्देश्यले कम्पनी खडा गरेको हौं ।’

नेपालमा धागाे बनाउने प्रशोधन सुविधा ल्याएको पहिलो कम्पनी नेपाल फाइबर प्रोसेसिङ प्राली सुरु गर्नका लागि नेपाल सरकार मातहतको लाईभ स्टक सेक्रेट इनोभेसन परियोजनाले १ करोड अनुदान दिएको भण्डारीले जनाए । ४ रोपनीमा फैलिएकोे ललितपुरको हरिसिद्धीस्थित कम्पनीले स्थायी रुपमा ७ जनालाई रोजगार दिइरहेको र समय तथा कामअनुसार धेरै जनालाई रोजगार दिइरहेको छ ।

हिमाली भेगहरुमा पालिने च्याङ्ग्राले जाडोबाट बच्न शरीरको रौंभित्र एकप्रकारको भुवा उत्पन्न गर्छ । ६–६ महिनामा वर्षको दुईपटक च्याङ्ग्राको भुत्ला कोरिन्छ र जम्मा गरिएको भुत्ला मुस्ताङको लोमान्थाङ भन्ने ठाउँको संकलन केन्द्रमा राखिन्छ ।
अनि संकलन गरिएको भुत्लालाई कम्पनीको फ्याक्ट्रीमा ल्याइन्छ, रौं सफा गर्ने मेसिन बाट सफा गरेर भुवा निकाल्ने काम गरिन्छ अनि रङ अनुसार भुवालाई छुट्याएर धुने काम गरिन्छ । धोएर तयार पारिएको भुवाबाट बल्ल हातले सुधारिएको चर्खा प्रयोग गरेर धागो बनाइन्छ ।

यसरी च्याङ्ग्राको रौंदेखी पश्मिनाको धागो बन्ने पक्रियामा विभिन्न चरणका कामहरु ध्यानपूवर्क गनुपर्ने हुन्छ ।

मुस्ताङ र डोल्पाबाट सकंलन गरिने भुवाद्धारा तयार पारिएको पश्मिनाको धागो कम्पनीले अमेरिका, युरोप र जापानलगायतका देशमा निर्यात गर्ने भण्डारीले जनाए ।‘हामीले धागो बनाएर नेपालका पश्मिनाको लुगा बनाउने लोकल कम्पनीहरु सबैलाई दिने गर्छौं र हामी आफैं पनि सामान बनाएर विभिन्न देशमा निर्यात गर्छौं’ भण्डारीले भने ।

अन्तर्राष्ट्रिय स्तरमा नेपाली पश्मिनाको राम्रो माग भएपनि सरकारले यससम्बन्धी गतिलो नीति नियम नबनाएकाले बजार र मागअनुसार पश्मिनाको सामग्री उत्पादन र निर्यात गर्न नसकेको भण्डारीको गुनासाे छ । ‘हामीसँग विश्वकै गुणस्तरिय पश्मिना छ, सरकारले यस विषयमा ध्यान दिने हो भने पश्मिना नेपालको पहिचान नै बन्न सक्छ, बाहिरी देशमा पश्मिना निर्यात गर्ने नं.१ देशको रुपमा नेपाल चिनिन सक्छ ।’ उनले भने ।

जाडोमा न्यानो अनि गर्मीमा शितल बनाउने नेपालको पश्मिनाले विश्वलाई जित्न सक्ने विश्वास सीईओ भण्डारीले व्यक्त गरे । तर, नेपाली पश्मिनाका कपडा भनेर चिनियाँ पश्मिनाका कपडा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएकाले बजारमा विविध चुनौतीहरु देखा परेको पनि उनी बताउँछन् । वास्तविक पश्मिना पहिचान गर्न नसकेका कारण नेपालीहरुलाई नै पश्मिनाको महत्वबोध नभएको उनको धारणा छ ।

‘नेपाली पश्मिनाको गुणस्तर र महत्वबोध नभएकाले च्याङ्ग्रा पालन गर्ने किसानहरुले पश्मिनाका लागि नभई मासुको लागि पालन गर्छन्’, भण्डारी थप्छन् ‘यो निकै बिडम्बनाको कुरा हो । किसानहरुलाई कसैले पश्मिनाको महत्व बुझाएकै छैन’

सरकारले च्याङ्ग्रा पालन गर्ने किसानलाई पहिलो प्राथमिकतामा राखी पश्मिनाकै लागि च्याङ्ग्रा पालन गर्न हौसला दिनुपर्ने भण्डारीको धारणा छ ।

कच्चा पदार्थका लागि नै व्यवस्थित नियम बनाएर कार्यान्वयन गर्दा किसानहरुलाई पनि च्याङ्ग्रा पालन गर्न सहज हुने भण्डारी बताउँछन् ।

घाँस खानकै लागि च्याङ्ग्राहरु ३५ देखि ४० किलोमिटर हिँड्नुपर्ने भएकाले च्याङ्ग्रा पालन निकै कठिन भएको हुँदा सरकारले दानाको व्यवस्था मात्र गरिदिँदा पनि किसानहरुलाई थप हौसला मिल्ने भण्डारीले जनाए । पश्मिनाको सामग्रीको राम्रो निर्यातका लागि कच्चा पदार्थको उत्पादनदेखी निर्यातसम्मको कार्यमा सरकारले साथ दिएमा अझै धेरै प्रशोधन कम्पनी खडा गरी धेरै जनालाई रोजगार प्रदान गर्न सकिने कुरामा सीईओ भण्डारी विश्वस्त छन् ।

Logo