काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष हुन्, डिके ढुङ्गाना । उनी रेडियन्ट रिडर्स एकेडेमीका संस्थापक तथा प्रिन्सिपल पनि हुन् । शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्छ भन्ने धारणाका साथ अगाडि बढिरहेका ढुंगानाले प्रशिक्षकको रुपमा नेतृत्व विकास युवा उत्प्रेरणा सम्बन्धि सयौं तालिमहरु सञ्चालन गरिसकेका छन् । साथै उनले सामाजिक सञ्जालमार्फत विशेषगरी शिक्षा क्षेत्रलाई लक्षित सोच रुपान्तरणको अभियान समेत चलाइरहेका छन् ।
उनै ढुङ्गानासँग देशको शैक्षिक अवस्था, उनले चलाएको अभियानले समाजमा पारेको प्रभाव, शिक्षाको गुणस्तर खस्कँदै जानुमा यसको जिम्मेवार निकाय को ? नेपाललाई शैक्षिक हव बनाउने विषयको अवसर, चुनौती, शैक्षिक पाठ्यक्रम, निजी विद्यालयलाई लाग्ने आरोप जस्ता विविध विषयमा केन्द्रित रहेर केन्द्रविन्दुका लागि सरीता चौधरीले गरेको कुराकानीको सम्पादित अंश-
तपाईं लामोसमयदेखि शिक्षा क्षेत्रमा आवद्ध हुनुहुन्छ । पछिल्लो समयको शिक्षा क्षेत्रलाई कसरी नियालिरहनु भएको छ ?
-नेपालको पछिल्लो शैक्षिक अवस्थाको कुरा गर्ने हो भने, प्रगतिउन्मुख छ । कतिपय सवालमा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा पनि छ । नेपाली विद्यार्थीहरु विदेशी विश्वविद्यालयमा पढेर गरेको प्रगतिलाई हेर्दा गुणस्तर बढिरहेको छ । तर आन्तरिक व्यवस्थापनको हिसावले पाठ्यक्रम लागु गर्ने हिसावले, एसईईदेखि उच्च शिक्षाको नतिजालाई हेर्ने हो भने चिन्तित हुनुपर्ने अवस्था छ । शिक्षामा सुधार गर्नुपर्ने कुरा धेरै भएता पनि समग्रमा सुधारउन्मुख, प्रगतिउन्मुख छ ।
आज नेपालको शिक्षा कुन अवस्थामा छ भन्ने कुरा गत वर्षको एसईईको नतिजाले देखाइसकेको छ । प्लस टु र विश्वविद्यालयको उत्तीर्ण हुने प्रतिशत पनि उस्तै छ । यसरी शिक्षाको अवस्था बिग्रँदै जानुमा जवाफदेही निकाय को ?
-नतिजालाई हेर्ने हो भने हामी चिन्तित हुनुपर्ने अवस्था छ तर नतिजा मात्र त्यसको जिम्मेवार पक्ष होइन । कक्षाकोठामा हामीले के गर्यौं, पाठ्यक्रम कस्तो छ, मुल्यांकन पद्धतिमा अपनाइएका विधिहरुले सही ढंगले काम गर्याे कि गरेन वा हामीले जुन दृष्टीकोण राखेर कक्षा सञ्चालन भैराखेको छ त्यो प्रकारको मुल्यांकन विधिमा पुग्न सक्यौं कि सकेनौं ? समग्रतामा मुल्यांकन पद्धतिमा कमजोरी छ । सुधारको प्रयास पनि भैरहेको छ तथापी त्यो पर्याप्त भने छैन ।
खासगरी हाम्राे प्रश्नपत्र निर्माणमै त्रुटि छ । प्रश्नपत्रमा त्रुटि भएपछि मुल्यांकनमा त्रुटि हुन्छ, साथै परिणाममा पनि त्रुटि हुन्छ । यी विषयलाई सम्बन्धित निकायले हेर्नुपर्छ । पढ्ने पढाउने कुरामा शिक्षाकर्मीबाट राम्रो प्रयास भैरहेको छ । परिणाम आउनका लागि राष्ट्रिय परिक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र, विद्यालय सरकार सबै मिलेर काम गर्दा राम्रो हुन्छ ।
प्याब्सन, एनप्याब्सन, र हिसान जस्ता निजी शैक्षिक संस्थाका छाता संगठनले शैक्षिक सुधारका लागि कस्ता पहलकदमी गरिरहेका छन् ?
-कक्षाकोठा राम्रो हुनुपर्याे, विद्यार्थीले राम्रो पढ्नुपर्याे, पाठ्यक्रम राम्रोसँग लागू गर्नुपर्याे, पढेको कुराले विद्यार्थीलाई गरिखान सक्ने बनाउनुपर्याे, पाठ्यक्रम विद्यार्थीलाई रोजगारसँग जोड्ने हुनुपर्छ भनेर प्याब्सन, एन प्याब्सन र हिसान अगाडि बढिरहेको छ ।
भन्न त भनिरहेका हुन्छौं गुणस्तरीय शिक्षा भएन, गरिखाने शिक्षा भएन । वास्तवमा गुणस्तरीय शिक्षा भनेको कस्तो हुनुपर्छ ? शिक्षालाई व्यवहारसँग जोड्न के गर्नु पर्छ ?
-ज्ञान, सिप र संस्कारको समिश्रण नै शिक्षा हो । ज्ञान र सिप मात्र भएर हुँदैन । ज्ञान र सिपलाई समयको माग अनुसार व्यबहारमा उतार्न सक्यौं भने मात्र आर्जन गरेको शिक्षाको सार्थकता रहन्छ । ज्ञान छ सिप र संस्कार छैन भने त्यसकाे कुनै अर्थ हुँदैन । त्यसैले तिनवटै विषयवस्तुलाई सँगै लैजान सकियो भने शिक्षा गुणस्तर हुन्छ ।
शिक्षाले व्यक्तिलाई गरिखाने बनाउनु पर्छ । गरिखाने भनेको जागीर गर्ने भन्ने बुझाई छ । तर त्यसो होइन व्यक्तिले आर्जन गरेको शिक्षालाई व्यवहारमा लागू गरेमा मात्र त्यो गुणस्तरीय शिक्षा हुन्छ ।

तपाईंले सामाजिक सञ्जालमार्फत सोच रुपान्तरणको अभियान नै चलाउनु भएको छ । विद्यार्थी, शिक्षक, अभिभावक, सरकारलाई विभिन्न सुझावहरु दिनुहुन्छ । यसले समाजमा कस्तो प्रभाव पारिरहेको छ ?
-व्यक्ति जहिल्यै पनि नकारात्मक सोचिरहेको हुन्छ । हुँदैन, सकिँदैन, भएन भन्ने मात्र सोच्ने हुनाले यसमा कसरी सकारात्मक सोच ल्याउन सकिन्छ भनेर यो अभियान सुरु गरिएको हो । कुनै यस्तो ठाँउ छैन, जहाँ मान्छेले सकारात्मक ढंगले सोच्छ । जताततै नकारात्मक कुराले बास गरेको छ । त्यसैले विद्यार्थी, शिक्षक, अभिभावक, नागरिक समाजलाई, राज्यलाई पनि सकारात्मक सोचौं न । सकारात्मक सोचले कुनै व्यक्तिको जीवन परिवर्तन हुन सक्छ भन्ने उदेश्यले यो अभियान सुरु गरिएको हो ।
सबैभन्दा धेरै त सामाजिक सञ्जालमा नेगेटिभिटी फैलिरहेको हुन्छ । कुनै राम्रो ‘कोटेशन’ लेखेर राख्दा मान्छेले खासै चासो राख्दैन तर कुनै नकारात्मक कुरा लेख्दा त्यहाँ हजारौं लाइक कमेन्ट आउँछन् । यसले पनि हाम्रो जीवनमा नकारात्मक कुरा कति हाबी भैरहेको छ भन्ने देखाउँछ । यसलाई परिवर्तन गर्नका लागि एउटा सानो प्रयास हो । यस अभियानले समाजमा सकारात्मक प्रभाव पारिरहेको छ । यहि अभियानले गर्दा भौतिक रुपमा समेत धेरै तालिमहरु दिने अवसर मिलेको छ ।
नेपालमा केहि पनि छैन । जति सक्दो छिटो विदेश जान पाए हुन्थ्याे । अवसर विदेशमा मात्र छ भन्ने जुन परिपाटी रहेको छ । तर हाेइन नेपालमै सम्भावना छ, नेपाल जस्तो देश संसारमा छैन भन्ने सन्देश दिनका लागि सोच रुपान्तरणको अभियान चलाइएको हो । यसले समाजमा सकारात्मक प्रभाव पारिरहेको छ ।
पछिल्लोसमय वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लाम नै लागेकाे छ । यसलाई नेपालमै रोक्न के गर्नुपर्ला ?
-अहिले ७५३ वटा स्थानीय सरकार छन् । स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र अवसरको सिर्जना गर्नका लागि प्रयास गर्ने हो भने एउटा पालिकाले १ हजार युवालाई मात्र रोजगारीको सिर्जना गर्न सक्याे भने सबै स्थानीय तहमा ७ लाख ५३ हजार युवाले रोजगारी पाउँछन् । यसै क्रममा अगाडि बढ्ने हो भने १० वर्षमा १ करोड मान्छेले नेपालमै रोजगारी पाउँछन् । त्यसैले जबसम्म अवसरको सिर्जना गर्न सकिँदैन तबसम्म वैदेशिक अधयनमा जाने विद्यार्थीलाई रोक्न सक्ने उपाय छैन । तर बिडम्वनाको कुरा त्यस्तो हुन सकेको छैन ।
भनेपछि कुरा मात्र भयो, काम भएन ?
-सरकारमा जो आए पनि कुरा मात्र गर्ने, काम नगर्ने परिपाटी चल्याे । राज्यले शिक्षा, स्वास्थ्य, अन्य उद्योग कलकारखानासँग यहाँ काम गर्नेहरुको रोजीरोटीको ज्ञारेन्टी गर्नका लागि नेपालमा भएको लगानीको सुरक्षाको ज्ञारेन्टी पनि गर्नुपर्छ ।
कसैले व्यवसायले गर्छ भने उसलाई सरकारले सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ । कसैले १० जनालाई रोजगारी दिएको छ भने उसलाई करमा छुट दिन सक्नुपर्छ ।
तपाईंले केही वर्ष अगाडि नै नेपाललाई शैक्षिक हव बनाउने अभियानको नेतृत्व गर्छु भन्नुभएको थियो । यो विषय अहिले कहाँ पुग्याे ?
-यसमा काम भैरहेको छ । राज्यलाई ढकढक्याउने काम भैरहेको छ । राज्यले अवसर दियो भने साउथ एसियाबाट दशौं लाख विद्यार्थी नेपाल ल्याउन सकिन्छ । दशौं लाख पढ्ने विद्यार्थीका बिशाैं लाख अभिभावक नेपालमा आउँछन् । पचासौं लाख विदेशी पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपाल साँच्चिकै समृद्ध हुन्छ । राज्यले मेडिकल, इन्जिनिरिङ, अन्तर्राष्ट्रिय स्कुल, कलेजहरु खोल्न दिनुपर्छ । कहिले पोलिटिकल पार्टीको प्रेसर, कहिले राज्यले स्कुल, कलेज बन्द गर्ने भन्ने यस्तो चाँही हुनुहुँदैन ।
प्रत्येक वर्ष १ लाख २५ हजार विद्यार्थी विदेश जाँदा सबैलाई रमाईलो हुन्छ । विद्यार्थीलाई देशमै रोक्नुपर्छ भनेर राजनीतिक दलको मान्छे, विद्यार्थी संगठन, ठुला ठुला मिडियाले समेत केही बोल्दैन । ति सवा लाख विद्यार्थीलाई नेपालमै रोक्नुपर्छ भनेर बहस नै भएन । तर हामी सवा लाख विद्यार्थी नेपालमै रोक्नुपर्छ भनेर बोलिरहेका छौं । कुनै दिन त हाम्रो कुराको सुनुवाई होला, नेपालमा पनि सम्भावना रैछ भनेर ।

केही गर्नु पर्दैन २० वटा मेडिकल कलेज खोले पुग्छ । सबै प्राईभेटको लगानी हुनुपर्छ भन्ने छैन । ४९ प्रतिशत सरकारी क्षेत्रले लगानी गर्ने ५१ प्रतिशत लगानी निजी क्षेत्रले गर्छ बाटो, पुल र उक्त क्षेत्र राज्यले १०० वर्षको लिजमा दिनुपर्छ । राज्यले हिम्मत मात्र गर्नुपर्छ निजी क्षेत्रले पब्लिक लिमिटेड बनाउन तयार छ । २० वटा मेडिकल कलेजमा १ हजार विद्यार्थी पढाउने प्रत्येक वर्ष प्रत्येक सेमेस्टरमा यस्तो भयो भने हामी नेपालबाट हाेइन, विदेशी विद्यार्थी ल्याउन तयार छौं । १०/२० प्रतिशत नेपाली विद्यार्थी निःशुल्क पढाउन तयार छौं ।
विदेशी विद्यार्थी आए भने उनीहरुसँग विद्यार्थीका अभिभावक पनि आउँछन् । यसरी नेपालमा पर्यटक भित्रिन्छन् साथै ति विद्यार्थीहरु नेपालको संस्कृति, परम्परा, रहनसहन सिकेर जान्छ । जसका कारण नेपालको मार्केटिङ हुन्छ, नेपाल विश्वव्यापी रुपमा चिनिन्छ । विदेशीले नेपालमा लगानी गर्दा सरकारलाई ठिक छ तर नेपालीले गर्छु भन्दा सरकारलाई टाउको दुखाईको विषय बन्छ, स्थानीय तह, संघ चारैतिरको चेपुवामा परिन्छ ।
यसका बाबजुत पनि निजी क्षेत्रका तर्फबाट हामी भनिरहेका छौं, यो देश समृद्ध बन्छ । यो मुलुक हामी सबै मिलेर बनाउने हो । भोलि नेपाललाई अन्तर्राष्ट्रिय रुपमा राम्रो देश हो भनेर उभ्याउन सकिन्छ ।
इन्डियामा ४० डिग्री घाम छ तर नेपालको डाँडाहरुमा एसी जोडिएको जस्तो हावापानी रहेको छ । यस्तो वातावरणमा ति विद्यार्थीलाई ल्याएर पढाउन सकियो भने नेपाली विद्यार्थीलाई निःशुल्क रुपमा पढाउन सकिन्छ । तर लगानी कहाँबाट ल्याउने भन्ने विषय सरकारले सोच्दैन ।
सरकारले निजी क्षेत्रका विद्यालय कलेजलाई तिमीले फ्रि गर भन्छ, १० प्रतिशत २० प्रतिशत छात्रवृत्ति देउ भन्छ तर रिसोर्स कहाँबाट ल्याउने त्यो खोज भनेर भन्न सक्दैन । राज्यले फराकिलो भएर चाइना, इन्डिया, अमेरिका, जापान, जर्मनले शिक्षामा के अभ्यास गर्याे, किन हाम्रा विद्यार्थी त्यता गए ? हामीले त्याे अभ्यास गर्नलाई के गर्नुपर्छ ? राज्य आफैं गर्न सक्छ कि प्राइभेटसँग पनि सहकार्य गर्नुपर्छ ? उक्त विषयमा फराकिलो छलफल र बहस गर्ने हो भने अबको १० वर्ष पछि नेपाल साँच्चिकै समृद्ध बन्छ ।
नेपाललाई शैक्षिक हब बनाउने विषय धेरै नयाँ पनि होइन । राजनीतिज्ञहरुले चुनावी एजेन्डा पनि बनाउँदै आएका छन् । तथापी सरकारले सामान्य ड्राफ्ट पनि बनाउन सकेको छैन । किन होला ?
-सरकारसँग इच्छाशक्ति नै छैन । राज्यलाई व्यवसाय गर्नेले कर तिर्नैपर्छ । अहिले नगरपालिकादेखि संघीय सरकारसम्म जोडिएको करले गर्दा व्यवसायीले ब्यापार गर्न सक्ने परिस्थिति नै छैन ।
सबै कुरा सम्भव छ, तर राज्य फराकिलो हुनुपर्याे । राज्य भनेको पोलिटिकल सिस्टम हो । पोलिटिकल सिस्टमको दृष्टिकोण स्पष्ट हुनुपर्छ । नेपालको २० जना ठुला नेताले यो देश बनाउने हो । यो देश बनाउन यसरी सम्भव छ भनेर नक्सा कोरेर अन्य पार्टीलाई त्यहि बाटोमा हिँडाउने हो भने १० वर्षमा यो मुलुक युरोप जस्तै बन्छ । नेपाललाई शैक्षिक हब बनाउने इच्छाशक्ति राज्यले राख्याे भने सम्भव छ ।
नेपालाई शैक्षिक हब बनाउन चुनौती के छ ?
-नेपालाई शैक्षिक हब बनाउन सम्भावना अथाह छ । तर, चुनौती भनेको राज्यको नीति हो । राज्यले नीति बनाएर आह्वान गर्याे भने प्राइभेट सेक्टर राज्यसँग सहकार्य गर्न तयार छ ।
पछिल्लो समय प्रत्येक वर्ष २ हजार विद्यार्थी मेडिकल अध्ययन गर्न विदेश गइरहेका छन् । ति विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउन सकियो भने पनि उपलब्धि हासिल गर्न सकिन्छ ।
नेपालमा नर्सिङ कलेजहरु बन्द भए तर भारतको बोर्डरमा नर्सिङ कलेजहरु धमाधम खोलिरहेका छन्, त्यो सरकारलाई मान्य छ । तर नेपालमा बन्द भएको कुरामा कसैलाई पिर छैन । सरकारले सोच, व्यवहार नीतिमा परिर्वत गर्न सकेन भने अबको १० वर्ष पछि नेपालमा डाक्टर, नर्स पाउन मुस्किल हुनेछ, शिक्षक हुने छैनन्, त्यति मात्र हैन सेना, पुलिसमा जाने युवा हुने छैनन् ।
युवालाई देशमै रोक्नका लागि बढीभन्दा बढी अवसरको सिर्जना गर्नुपर्याे । अवसर सिर्जना गर्न सरकारले मात्र सक्दैन भने निजी क्षेत्रलाई आह्वान गर्नुपर्याे । जसले १ हजारलाई रोजगारी दिनसक्छ, उसलाई १४ प्रतिशत होइन ३ प्रतिशतमा ऋण दिनु सक्नुपर्याे । नेपालमा शैक्षिक हव बनाउन सकिन्छ नीतिगत चिन्तन हुन पर्याे, नीतिले काम गर्ने वातावरण सिर्जन गर्नुपर्याे। राज्यको दर्शन र विचार फराकिलो हुनुपर्याे ।

नेपाललाई शैक्षिक हब बनाउने भनेर मात्र पनि हुँदैन होला । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या दिन प्रतिदिन बढिरहेको छ । यस्तो अवस्थामा विदेशी विद्यार्थी ल्याउन कसरी सम्भव होला ?
-आइटी अध्ययन गरेको विद्यार्थीले महिनाको ४०/५० हजार कमाउने अवसरु पाए भने विदेश जाँदैनन् । अवसर सिर्जना गर्नका लागि आइटी इन्डस्ट्री खोल्नुपर्छ । त्यसका लागि राज्यले लगानी गर्नुपर्छ । विद्यार्थीहरु विदेश रोजगारीको लागि गैरहेका छन् । विद्यार्थी किन विदेशी रहेका छन् भने नेपालमा अवसर भएन, सुरक्षा भएन । यो प्रकृया रोक्नका लागि ७५३ वटा स्थानीय तहको एउटै एजेन्डा हुन आवश्यक छ । सबै स्थानीय तहमा स्वास्थ्य, शिक्षा, रोजगारी, अवसर, इनोभेसनको एजेन्डा हुनुपर्छ ।
नेपाललाई शैक्षिक हव बनाउन सके हाइड्राेपावर भन्दा बढी पैसा कमाउन सक्छ । अस्ट्रेलियाको जिडिपिको कन्ट्रीब्युटिङमा शिक्षा क्षेत्र चौथो रहेको छ । सोच फराकिलो बनाएर नेपाललाई शैक्षिक हव बनाउन सके सँगै ट्युरीजम हब पनि बन्छ ।
त्यसपछि नेपालीकोे १४ सय हाेइन, १४ हजार डलरको प्रतिव्यक्ति आय हुन्छ ।
नेपालमा विदेशी विद्यार्थी ल्याउन सकिने सम्भावित राष्ट्रहरु कुन-कुन रहेका छन् ?
-छिमेकी मुलुक भारतमा १ सय ४० करोड जनसंख्या रहेकोमा युवाको जनसंख्या नै ६० करोड रहेको छ । नेपालमा ति युवामध्ये दुई लाख युवालाई पढाउन पाए पुग्छ । अर्काे विश्वमै धेरै जनसंख्या भएको छिमेकी मुलुक चाइना छ । नेपाली विद्यार्थी चाइना गएर अध्ययन गर्छन् भने चाइनाको विद्यार्थीलाई नेपाल ल्याउन पनि सम्भव छ । अर्काे बंगलादेश छ । त्यति मात्र हाेइन अमेरिकाका विद्यार्थीलाई समेत ल्याउन सकिन्छ । तर आउने विद्यार्थीका लागि सेवा, सुविधा, सुरक्षाको ज्ञारेन्टी गर्न सक्नुपर्छ । विद्यार्थीसँगै अभिभावक पनि आउँछन् त्यसका लागि राम्रो होटलको व्यबस्था पनि हुनुपर्छ ।
राम्रो भौतिक पूर्वाधारको आवश्यक हुन्छ । खाने, बस्ने ठाउँको राम्रो व्यवस्था हुनुपर्छ । यति गर्न सक्यौं भने विदेशी विद्यार्थी ल्याउने सम्भव छ ।
अहिले जुन प्रकारको पाठ्यक्रम अध्यापन गराउँदै आएका छौं । त्यो समय सान्दर्भिक छैन भन्दै पनि आएका छौं । विदेशी विद्यार्थी ल्याउने हो भने पाठ्यक्रम पनि परिर्वतन गर्नुपर्ला नि ?
-आज आइटीको जमाना छ । नेपालमा कृषिको सम्भावना छ, माेर्डन कृषिलाई पनि पाठ्यक्रममा समावेश गर्न सकिन्छ । अटोमोवाइल, टुरिजम, हस्पिटालिटीका विषयलाइ समावेश गर्न सकिन्छ । आवश्यकता अनुसारको पाठ्यक्रमको डिजाइन गर्नुपर्छ, कोर्ष निर्माण गर्नुपर्छ ।
नेपालमा विदेशी विद्यार्थी पढाउने उदेश्यले खोलिएका स्कुल र कलेजहरु पनि छन् । ति स्कुलहरुलाई विदेशी विद्यार्थी ल्याउनमा कत्तिको चुनौतीको सामना गर्नुपरेको छ ?
-धेरै नै चुनौती रहेको छ । प्रत्येक ६ महिनामा भिसा नविकरण गर्नुपर्छ । अमेरिकाले एउटा विद्यार्थी अध्ययनमा जाँदा ५ वर्षको भिसा दिन्छ । भिजिटर जाँदा पनि मल्टिपल भिसा दिन्छ । तर नेपालमा अध्ययन गर्न आउने विद्यार्थीलाई मल्टिपल भिसा किन नदिने ? विदेशि विद्यार्थीले लगानी गरेर नेपाल पढ्छु भन्छ भने विद्यार्थी र उसका अभिभावकलाई सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ ।
अहिले जति पनि विदेशि विद्यार्थी अध्ययन गरिरहेका छन् । उनीहरुलाई नीतिगत कठिनाईहरु रहेको छ, त्यो सच्याउनुपर्छ । राज्यले नेपाललाई शैक्षिक गन्तव्य बनाउनका लागि बहस गर्नुपर्छ । त्यो बहसलाई सोसल इन्डस्ट्रीमा कसरी लैजान सकिन्छ भनेर निष्कर्ष निकाल्न सक्नुपर्छ ।
भन्ने गरिन्छ, सामुदायिक विद्यालयमा पढाईं राम्रो हुँदैन, निजी विद्यालयकाे शुल्कले ढाड सेक्छ । यस्तो समस्या सिर्जना कसरी भैरहेको छ ?
-देशमा करिव ८ हजार विद्यालय छन् । ८ हजार विद्यालय मध्ये ७ हजार विद्यालय हरेक अभिभावकको पहुँचमा छन् । त्यस विद्यालयमा हरेक आम अभिभावकले आफ्ना छोराछोरी पढाउन सक्छन् । १ हजार आम अभिभावकको पहुँचभन्दा माथिको विद्यालयहरु छन् ।
उदाहरण के दिनु भएन भने विदेशी पाठ्यक्रमलाई पनि अभ्यास गरिरहेको कुनै एउटा विद्यालयको शुल्कलाई लिएर अन्य विद्यालयसँग जोड्नुहुँदैन । आम विद्यार्थीले शिक्षाको सुविधा पाए की पाएनन् त्यो महत्वपूर्ण कुरा हो । कुनै पनि सामुदायिक विद्यालय निःशुल्क छैनन्, कि सरकारको लगानी छ कि जनताका छोराछारीले तिरेका छन् ।
निजी विद्यालय भनेको अभिभावकले तिरेको शुल्कबाट सञ्चालन हुने हो । सामान्य शुल्क भएका विद्यालय पनि छन् र त्यो भन्दा धेरै शुल्क लिने विद्यालय पनि छन् । धेरै शुल्क लिने विद्यालयले अतिरिक्त कृयाकलापलाई जोड दिएका छन् । अन्तर्राष्ट्रिय पाठ्यक्रम लागू गरेका छन् ।

बेला-बेलामा निजी शैक्षिक संस्थाहरुले शिक्षालाइ कमाउ धन्दा बनाए भन्ने आरोप पनि लाग्ने गरेको छ । यसलाई कसरी खण्डन गर्नुहुन्छ ?
-कानून व्यवसायी भने जस्तै, निजी शैक्षिक संस्थाका सञ्चालकहरु पनि शैक्षिक व्यवसायी नै हुन् । यो भनेको सेवा प्रदायक व्यवसाय हो । निजी विद्यालयहरु सामाजिक उद्योगभित्र पर्छ । यसका सामाजिक उत्तरदायित्व रहेको छ ।
बजारमा जुन खालको बुझाई रहेको छ त्यो गलत हो ।
अन्तिममा, रेडियन्ट रिडर्स एकेडेमीमा शैक्षिक गतिविधिहरु कसरी सञ्चालन भैरहेका छन् ?
-स्कुलले समयको माग अनुसार अतिरिक्त कृयाकलाप जस्तैः खेलकुद क्षेत्र, सांगीतिक क्षेत्र, कला, साहित्य, सिर्जना जस्ता विषयवस्तुलाई प्राथमिकतामा राखेको छ । साथै अध्यापन गराइराखेको पाठ्यक्रमलाई व्यवहारसँग जोडेर अगाडि बढिरहेको छ । विद्यार्थीका रुचि अनुसारका कक्षाकोठा सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई इनोभेसन र क्रियटीभ रुपमा काम गर्न प्रोत्साहित गर्दै आएको छ ।































प्रतिक्रिया