मेलम्चीको काम जापानिज कार जसरी दौडिरहेको छः प्रधानमन्त्री

मेलम्चीको काम जापानिज कार जसरी दौडिरहेको छः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दावी गरेका छन्  ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गरे । उनले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्षयता तीब्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने विश्वास पनि व्यक्त गरे । बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले २७ वर्ष चिप्ले कीराको गतिमा अघि बढेको मेलम्ची खानेपानी आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको उल्लेख गर्दै अहिले अलिकति गतिरोध आएपनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिवद्ध रहेको पनि बताए ।

उनले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको पनि स्पष्ट पारे । इटालियन ठेकेदार कम्पनी सिएमसीले बजेट अभावको कारण देखाउँदै काम छोडेर गईरहेका बेला पनि प्रधानमन्त्री ओलीले सो आयोजनाको कामलाई पूर्णता दिन ढिलाई नहुने बताए  । त्यस अवसरमा प्रधानमन्त्री ओलीले हरेक दिन एक पाईला अघि बढने गरी सरकारले विकास निर्माणको कामलाई अघि बढाएको दावी पनि गरे । प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पूरानै अवस्थामा परिणत गर्ने प्रतिवद्धता पनि गरे ।

चाइनाको साफबोन वाटर सर्भिस होल्डिङले सो प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी लिएको छ । कूल ६० करोड ७५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको सो प्रशोधन केन्द्र ३० महिना भित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । प्रधानमन्त्री ओलीले सो प्रशोधन केन्द्रको निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास पनि व्यक्त गरे ।

Skip This
Logo