झुटो विज्ञापनको खेती मौलाउँदै, ठगिँदै उपभोक्ता

झुटो विज्ञापनको खेती मौलाउँदै, ठगिँदै उपभोक्ता


काठमाडौं । ‘स्लिमलाइट कफी’को उपयोग गरेर व्यायाम र कसरत नगरी महिनामा ४–५ केजी तौल घटाउन सकिने, सेवन गर्दा कुनै असर नपर्ने भन्दै तेन्जिङ डोल्मा तामाङ फेसबुकमा विज्ञापन आयो । लामो समयदेखि आफ्नो वजन घटाउन प्रयास गरिरहेकी तामाङ ‘स्लिमलाइट कफी’ नामक फेसबुक पेजबाट आएको उक्त विज्ञापनबाट प्रभावित भइन् । र, सोही कफीको सेवनबाट आफ्नो वजन घटाउने निर्णयमा पुगी तेन्जिङले सो पेजको म्यासेन्जरमा कुराकानी गर्न थालिन् ।

तेन्जिङले सधैं खाँदै आएको कफीले वजन कम नगर्ने, तर स्लिमलाइट कफी खाँदा चाहिँ कसरी दुब्लाइने भनेर सोचमग्न नपरेकी भने होइनन् । तर, उक्त पेजमै एकजना महिलाले आफूले उक्त कफी प्रयोग गरेर महिनामा ५ केजी तौल घटाएको उनले भिडियो देखिएकी थिइन् ।

यसले तेन्जिङको शङ्कालाई दबाउँदै कफी खाएर दुब्लाउने आशाको पैदा गर्‍यो । र, उनले अर्डर गरी उक्त कफी बिहान खाना खानुभन्दा एक घण्टाअघि र सुत्नुअघि एक चम्चा तातो पानीमा घोलेर खान थालिन् । १०० ग्रामको उक्त कफी एक हजार रुपैयाँमा किनेको तेन्जिङ बताउँछिन् ।

आशावादी र हर्षित हुँदै उक्त कफी खाने सबै विधि पुर्याएर तेन्जिङ स्लिमलाइट कफी खादै गइन् । तर, एक महिना पूरा हुँदासमेत उनको वजनमा कमी आएन ।‘फेसबुकमा देखेको भरमा विज्ञापनको विश्वास गर्नुहुँदैन रहेछ, ढिलै भए पनि पाठ सिकियो, १ महिनासम्म कफी खाए, शरीरमा वजन कम भएको महसुस भएन, वजन कम नभएपछि आफू ठगिएको महसुस भयो,’ उनले भनिन् ।

आफू ठगिएपछि तेन्जिङ अरूलाई पनि अनलाइनबाट सामान किन्दा विचार पुर्याउन सुझाव दिन्छिन् ।

तर, यता तेन्जिङलाई कफी बिक्री गर्ने उक्त संस्था भने आफूहरूले ग्यारेन्टी कार्डका साथ कफी बिक्री गरेको दाबी गरेको छ । केन्द्रबिन्दुले उक्त पेजमा दिइएको फोन नम्बरबाट सम्पर्क गर्दा यो दाबी उक्त संस्थाले गरेको हो । कफी सेवन गर्दा तौल नघटे कम्पनीले ग्राहकलाई पैसा फिर्ता गर्नेसमेत आश्वासन दिन छाडेको छैन । तर, सामान किनेपछि फिर्ता हुने सम्भावनाकाे भने कुनै टुंगाे छैन । पछिल्लो समय सामाजिक सञ्जालमा आकर्षक विज्ञापन प्रसारण गरी सामान बिकाउने होड चलिराख्दा यसले सर्वसाधारण सहज मात्र होइन ठगी पनि रहेका छन् ।

यस्तै, सप्तऋषि आयल एन्ड कस्मेटिक इण्डष्ट्रीले श्री केश तेल लगाउँदा झरेको कपाल उम्रिने, कपाल झर्न नदिने भन्दै उक्त तेल बेच्यो । ३२ जडीबुटी युक्त उक्त तेलले कपाललाई फाइदै फाइदा पुर्याउने भन्दै झुटो प्रचार गरी उच्च मूल्य राखेर बिक्री गरेको थियो । हिरो–हिरोइनदेखि चर्चित सेलिब्रेटीसम्म विज्ञापन गर्न दिएको उक्त तेलले देशमा मात्र नभई विदेशमासमेत चर्चा पिट्यो ।

भविष्यमा कपाल झर्नसक्ने डरले कपाल नझर्नेहरू पनि श्री केश तेल प्रयोग गर्न थालिसकेका थिए । तर, कम्पनीले भने जस्तो श्री केशको काम हुन नसकेपछि एकाएक सर्वसाधरणको विरोध आएपछि उक्त तेल काठमाडौं महानगरपालिकाले उत्पादन बन्द गर्नुका साथै बिक्रीमा समेत रोक लगाएर जरिवाना तिरायो ।

यद्यपि अहिले पनि उक्त कम्पनीले श्री केश तेल लगाएपछि कपल झर्न रोक्छ भन्दै विज्ञापन गरी बिक्री गरिरहेको छ । तर, श्री केश तेलले कपल झर्न रोकिन्छ वा पलाउँछ भन्ने आधिकारिक तथ्य भने छैन । यी त केही उदाहरण मात्र हुन् । यस्ता झुटा प्रचारले धेरै सर्वसाधारणहरू ठगिएका उदाहरण धेरै छन् ।

झुटा विज्ञापनको जालोमा फस्नुहुँदैन भन्ने थाहा भएर पनि दिनहुँ भ्रामक कम्पनीबाट ठगिईएका पीडितहरू अनगिन्ती छन् । आफ्नो उत्पादित वस्तु, सेवा वा बिचार बिकाउने दबाबमा कम्पनीहरूले आकर्षक विज्ञापन बनाउँछन् र आफ्नो उत्पादनको प्रचारप्रसार गर्छन् । ति विज्ञापनमध्ये केही उपयोगी हुन्छन् त केही झुटा तथा भ्रामक हुन्छन् । सहि बस्तुको सहि प्रचार गर्नु गलत होइन । तर, हुँदै नभएको सामान देखाएर खरिदकर्ता हरूलाई झुक्याउन सामान बिक्री गर्नु गलत रहेको विज्ञापन बोर्डले बताएको छ ।

उन्मुलन गर्ने छैन ठोस योजना

झुटा विज्ञापनको खेती बढ्दै गएको भएपनि यसको उन्मुलन गर्नका लागि सरकारसँग कुनै ठोस योजना भने छैन । उन्मुलनका लागि विज्ञापन बोर्डले प्रयासहरू गर्दै आएको भएपनि सर्वसाधारण झुटा विज्ञापनमार्फत ठगिने क्रम जारी नै छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डले झुटा र भ्रमपूर्ण विज्ञापन प्रसारण गर्ने धेरै कम्पनीहरूलाई बन्द गराईसकेको जानकारी दिए ।

उन्मुलनका लागि बोर्डले धेरै प्रयासहरू गर्दै आएको भएपनि जरैबाट हटाउन भने कठिन भएको हुमागाईको भनाई छ । ‘हामीले देखेका र उजुरी आएका विज्ञापनहरूलाई हटाउने गरेका छौं, जसले सर्वसाधारणहरूलाई ठगिरहेका हुन्छन्,’ हुमागाई थप्छन्, ‘तर केही विज्ञापनहरू हामीले नदेखेका र थाहा नभएका हुन सक्छन्, यदि कुनै पनि व्यक्ति त्यस्ता विज्ञापन मार्फत ठगिनु हुन्छ भने हामीलाई ध्यानाकर्षण गराएको खण्डमा सजाय हामी दिन्छौं ।’

अध्यक्ष हुमागाईंले झुटा विज्ञापनबाट ठगिएमा विज्ञापन बोर्डमा उजुरी दिन आग्रह गरेका छन् । बोर्डको वेबसाइट, पेज वा टेलिफोन नम्बरबाट सम्पर्क गरी उजुरी गर्न सकिने उनको भनाई छ । हालसम्म दर्जनौं उजुरी आइसकेका र त्यसका विरुद्ध बोर्डले सक्रिय भएर सकेजति झुटा विज्ञापनलाई बन्द गर्ने कोसिस गरिरहेको पनि हुमागाईंले बताए ।

Logo