काठमाडौं । उत्तर कोरियाले परमाणु बमका निम्ति आवश्यक पर्ने इन्धन उत्पादन गर्ने एउटा नयाँ केन्द्र बिहीबार सार्वजनिक गरेको छ । सार्वजनिक गर्ने अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको परमाणु शक्तिलाई तीव्र गतिमा सुदृढ पार्ने योजनाको घोषणा पनि गरेका छन् ।
उत्तर कोरियाको आधिकारिक सञ्चारमाध्यम कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)का अनुसार, बुधबार उक्त स्थलको भ्रमणपछि किमले आफू र अरू उच्च अधिकारीहरूले राज्यको परमाणु शक्तिलाई तीव्र गतिमा विस्तार गर्नका निम्ति तयार पारिएको महत्त्वाकांक्षी भावी योजना कार्यान्वयन गर्ने प्राथमिकताको क्रमलाई स्वीकृत गरेका बताएका छन् ।
केसीएनएले उक्त केन्द्रमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको जनाएको छ । यसको ‘लोकेसन लगायत विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । दक्षिण कोरियाको संयुक्त सैन्य कमान्डले उक्त स्थल युरेनियम सम्वर्धन केन्द्र भएको निष्कर्ष निकाल्दै उत्तर कोरियाका परमाणु गतिविधिमाथि निगरानी गर्न अमेरिकासँग निकट समन्वय गरिरहेको जनाएको छ ।
केसीएनएद्वारा सार्वजनिक तस्बिरमा किम चाँदी रङका ट्युब र पाइपहरू बाक्लो रूपमा लहरै राखिएका साँघुरा मार्गमा हिँडिरहेको देखिन्छ । त्यो ‘सेन्ट्रिफ्युज हल’जस्तो देखिन्छ ।
अर्को एउटा तस्बिरमा उनी एक बैठककक्षमा वरिष्ठ अधिकारीहरूसँग छलफल गरिरहेका देखिन्छन् । त्यहाँ टेबलमा ‘कोन’ आकारको वस्तुको धमिलो बनाइएको चित्र फैलाएर राखिएको थियो । उक्त चित्रले परमाणु युद्ध शीर्षकको डिजाइन देखाइएको हो/होइन भन्ने तत्काल स्पष्ट हुन सकेको छैन ।
उत्तर कोरियाले युरेनियम सम्वर्धन केन्द्र सार्वजनिक गरेको यो तेस्रोपटक हो । सन् २०२४ मा उत्तर कोरियाले अर्को एउटा गोप्य युरेनियम सम्वर्धन केन्द्रको तस्बिर सार्वजनिक गरेको थियो । सन् २०१० मा पनि उत्तर कोरियाले भ्रमणमा आएका अमेरिकी विद्वान्लाई योङब्योनस्थित मुख्य परमाणु परिसरमा रहेको यस्तै एउटा केन्द्र अवलोकन गराएको थियो । एपीबाट ।





























प्रतिक्रिया