काठमाडौं । घरेलु टोली नेपाल त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा पाहुना टोली नेदरल्याण्ड्ससँग पहिलो खेलमै पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग नेपाल २० रनले स्तब्ध भएको हो ।
नेदरल्याण्ड्सले जितका लागि दिएको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रनमै रोकिएको हो । नेपालका लागि ओपनर सिता रानामगरले सर्वाधिक २८ रन जोडिन् । ४५ बल खेलेकी उनले ३ चौका मात्रै प्रहार गरिन् ।
यसैगरी कविता जोशीले १७ बलमा एक चौका र २ छक्काको मदतमा २७ रन जोडिन् भने पुजा महतो २४ रन बनाएर आउट भइन् । १४ बल खेलेकी उनले २ चौका र २ छक्का प्रहार गरिन् । रुविना क्षेत्रीले ११ रन जोड्दा कप्तान इन्दु बर्मा ७ रनमै समेटिइन् । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा नेपालले लक्ष्य भेट्याउन सकेन ।
त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले नेपाललाई निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन जाेडेकाे थियाे । नेदरल्याण्ड्सका लागि रोबिन रिज्केले सर्वाधिक ५९ रनको अर्धशतकीय इनिङ खेलिन् । ४८ बल खेलेकी उनले ८ चौका प्रहार गर्दै अविजित रहिन् ।
ओपनर फेबे मोल्केनबोयर शून्य रनमा आउट भएपनि त्यसपछिको प्रदर्शनले भने नेदरल्याण्ड्सलाई ठूलो योगफल बनाउन मदत पुग्यो । अर्की ओपनर स्टेरे कलिसले २९ रन बनाउँदा हेदर सिजर्सले २३ रन जोडिन् । आइरिस ज्विलिङले १३ बलमै ५ चौकाको मदतमा अविजित ३१ रन जोडिन् ।
बलिङतर्फ कविता कुँवर, पुजा महतो, ईश्वरी बिष्ट, सीता राना मगरले समान एकएक विकेट लिइन् ।
घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेपाली महिला टोलीले नेदरल्याण्ड्ससँग खेलेकाे हाे । महिला टि ट्वान्टी वरियतामा नेदरल्याण्ड्स १६औंँ स्थानमा रहँदा नेपाल भने २०औंँ स्थानमा छ । यस सिरिजमा नेपाल र नेदरल्याण्ड्ससँगै थाइल्याण्डको पनि सहभागिता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । त्यसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोलीले उक्त सिरिजको उपाधि जित्नेछ ।































प्रतिक्रिया