काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

काङ्ग्रेसले मुलुकभर मेलमिलाप दिवस मनाउँदै

केन्द्रबिन्दु
0
Shares

नेपाली काङ्ग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा काङ्ग्रेसले आज मुलुकभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायतका कार्यक्रम गरी मेलमिलाप दिवस भव्यरुपमा मनाउन लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्केका थिए ।

गत मङ्सिर २८ देखि यही पुस ८ गतेसम्म भएको पार्टीको महासमिति बैठकमा समेत शीर्ष नेताले ४३ औँ मेलमिलाप दिवस पार्टी सङ्गठन सुदृढीकरणको नयाँ अभियानका साथ मनाउने घोषणा गरेका थिए । काङ्ग्रेसले दिवसका अवसरमा व्यापक र बृहत् कार्यक्रम गरी मनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका काङ्ग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका बिपीलगायत नेतालाई तत्कालीन सरकारले मेलमिलाप त परै जाओस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।

राजा महेन्द्रले २०१७ सालमा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री बिपी कोइरालालगायत काङ्ग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरेका थिए ।

नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा गएका नेताहरू राष्ट्रियतामाथि खतरा आएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएको थियो ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपी कोइराला कुनै दल विशेषको मात्र नभई मुलुककै राजनेताका रूपमा चिनिन्छ । राजनीति मात्र होइन नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अद्यपि सान्दर्भिक र अपरिहार्य छ ।

काङ्ग्रेसले आज केन्द्रीय कार्यालय र सबै जिल्ला तथा विदेशस्थित जनसम्पर्क कार्यालयमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै काङ्ग्रेसले ४३ वर्षअघि अवलम्बन गरेको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

Skip This
Skip This
Logo