काठमाडौं । ‘गरिब कुवाको भ्यागुतो जस्तो, जति प्रयास गरे पनि तलको तलै’ भन्दै निकै दुःखी मुद्रामा चिया पिउँदै थिए, खोटाङका ६० वर्षीय अजय राई । जाडोको मौसम, म पनि त्यहीं बसेर एकछिन ति पाका बाजेका कुरा सुन्ने भए । त्यो बेला झट्ट चर्चित उखान याद आयो, ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको’ । समय, मौसम र उखान ट्वाक्कै मिल्यो भन्दै मनमनै हाँस्दै एक कप चिया मैले नि मगाएँ ।
अजय राई भक्तपुरको दुवाकोट बस्छन् । सो क्षेत्रमा अजयलाई कसैले उनको वास्तविक नामले चिन्दैनन् । उनलाई सबैले ‘राई बाजे’ भनेर बोलाउँछन् । राई बाजे ४० वर्षीय श्रीमती र २२ वर्षीय छोरासँग भाडाको कोठामा बस्छन् । उनी काठमाडांै आएको लगभग ३० वर्ष भइसकेको छ । १ हप्ता काठमाडौं शहर हेर्न र घुम्न आएका राई बाजे गाउँ फर्केर भने कहिल्यै जान सकेनन् ।
राई बाजेले ४ कक्षासम्म मात्र पढ्न पाए, त्यसैले उनी हिसाब किताब पनि खासै गर्न जान्दैनन् । उनको गाउँमा दुईजना भाईहरु पनि छन् ।
‘हामी गरिबहरु कुवाको भ्यागुतो जस्तो रहेछाैं, जति प्रयास गरेपनि तलको तलै ।’
‘काठमाडौं आएदेखि आमा र बुवा बित्नुहुँदा २ पटक मात्र गाउँ गएको छु, खेतबारी जंगल भइसक्यो गाउँ फर्केर आउनुस् दाई भन्छन् भाईहरुले तर के गर्नु फर्कनको लागि पैसा चाहियो पैसै छैन’,उनले स्मरण गर्दै भने, ‘म काठमाडौं झर्ने बेलामा गाउँमा बत्ती थिएन गाडी थिएन । अब भने गाउँ फर्केर जान मन लागेको छ, जहाँ जन्मिए त्यहीं मर्न मन छ मलाई ।’
राई बाजेलाई शहरमा बसेको ३० वर्ष भईसक्दा पनि केही कमाउन र जमाउन नसकेकोमा पछुतो लाग्छ । उनी गम्भिर हुँदै भन्छन्, ‘अरु परदेश गएर कति कमाउँछन्, मैले केही कमाउन सकिनँ जमाउन पनि सकिनँ, आज कमाए भोलि छैन भोलि कमाए पर्सी छैन, कमाउँदै खाँदै गरियो एक रुपैयाँ पनि जम्मा गर्न सकिएन ।’
यही पीरले उनलाई राती निन्द्रा पर्दैन । ‘केही कमाउन सकिन जमाउन सकिन भन्ने पीरले राती निद्रा पर्दैन, आधा रात आँखा नझिमक्याएरै बित्छ कहिले पुरै रात नै बित्छ’ राई बाजे भन्छन् ।
जीवनको अर्थ कोट्याउँदै गर्दा राई बाजे थप्छन्, ‘जिन्दगी त दुई दिन बाँच्नु रैछ नानी, आखिरमा जे गरेपनि नहुने रैछ, हामी गरिबहरु कुवाको भ्यागुतो जस्तो रहेछाैं, जति प्रयास गरेपनि तलको तलै ।’
खोटाङको घरमा उनको २०० सय रोपनी जति जग्गा भएको स्मरण गर्दै उनी बोल्छन्, ‘दुःखै दुःखमा गयो मेरो जिन्दगी, गाँउघरमा छ नि घरजग्गा त्यहाँ भएर नहुँदो रैछ, यहाँ त केही छैन ।’
राई बाजेको एक मात्र खुसी भनेको कर्म हो । ‘दिनहुँ काम गर्न पाउँदा निकै खुसी लाग्छ मलाई, काम गर्न र पेटभरी खान पाए म एकदम खुसी हुन्छु’ उनी थप्छन्, ‘आराम गर्दा मलाई खुसी लाग्दैन काम नै हो मेरो खुसी, काम गरेपछि दाम पाईयो नि त, आराम गर्दा कसले पैसा दिन्छ र ?, चिया खान पनि पाईदैन’
पैसा नभए जीवनको आधारभूत खुसी पनि खोसिँदो रहेछ भन्ने कुरा राई बाजेले ६० को दशकमा आइपुग्दा महसुस गरेका छन् । त्यसैले भगवान बाटोमै भेटिहाले भने उनी फुत्कनै नसक्ने गरी समातेर आफूले जीवनभर गरेको परिश्रमको हिसाब किताब माग्ने सोच्छन् । ‘भगवान भेटेँ भने भने त म सम्पत्ति नै माग्छु जिन्दगीभरी कमाउन सकिन, हे भगवान मैले दुःख पाए मलाई सहयोग गर्नुस् भनेर फुत्किनै नसक्ने गरी समात्छु’ राई बाजे हस्यौली शैलीमा भन्छन् । राई बाजेले भगवानसँग प्रार्थना नगरेको पनि होइन, तर सुने की सुनेनन् केही सुइँको पाएनन् ।
जिन्दगीको अनेक रंग देखिसक्दा पनि त्यसलाई अथ्र्याउन नसकेका राई बाजे भन्छन्, ‘जिन्दगी मलाई खाली लाग्छ, मन ठुलो छ तर धन छैन, सायद हाम्रो मन ठुलो छ र त धन छैन । धन हुने मान्छेको मन हुँदैन के गर्नु ?’
राई बाजेलाई कुनै स्वास्थ्य समस्या छैन यदी भएकै भएपनि उनलाई त्यसले त्यति समस्या गर्दैनथ्यो, जति समस्या उनलाई काम खोज्दा हुन्छ ।
राई बाजे आफूले गरेको जति सबै परिश्रम स्मरण गर्दै भन्छन्, ‘मैले बालुवा खानीमा बालुवा बोक्ने काम पनि गरँे, सिमेन्ट बोकेँ, ज्यामी काम गरँे, ट्याक्टर चलाए, कोदाली चलाए, मल बोके, खेत खनेँ मैले के के चाँही गरिन होला ।’
आफ्नै रगत र पसिनाले मुछेको सिमेन्टले राई बाजेले ठुला ठुला भवन ठडाए तर आफ्नो लागि होइन । टोपी अलिकति मिलाउँदै राई बाजे भन्छन्, ‘कतिको घर ठड्याइयो तर आफ्नै एउटा झुपडी मात्र पनि ठड्याउन सकिएन । मैले जति काम कसैले गरेन होला तर मैले केही उन्नति गर्न सकिनँ ।’
राई बाजेलाई कुनै स्वास्थ्य समस्या छैन यदी भएकै भएपनि उनलाई त्यसले त्यति समस्या गर्दैनथ्यो, जति समस्या उनलाई काम खोज्दा हुन्छ । आफूले सकेजति परिश्रम गरेपनि कहिल्यै पर्याप्त नभएको गुनासो गर्दै उनी भन्छन् ‘आज काम पाइनँ त्यही भएर घुम्दै हिँडेको । पहिला जति काम नै पाउन छोड्यो अलिअलि पाइन्छ तर त्यतिले कहाँ पुग्नु’
‘म बिहान ५ बजे नै उठ्छु’, राई बाजे टाउकोमा हातले इशारा गर्दै भन्छन्, ‘यहाँ चिन्ता छ के निन्द्रा लाग्नु, काम पाइन्छ कि पाइँदैन भनेर चिन्ता लाग्छ, अनि बिहानैदेखि हिँड्छु ।’
‘चिन्ता भएर पनि के गर्नु रुँदै हिँड्नु भएन, मनमा छ नि हौं पिडा त’ यति भनेर राई बाजे अट्टहास हाँस्छन् ।
पटपटी फुटेका हातमा हेर्दै राई बाजे गुनासो पोख्छन्, ‘म सकुञ्जेल जसरी पनि काम गर्छु १० नङ्ग्रा खियाउँछु नसक्ने भएपछि के होला पछि नै थाहा हुन्छ ।’
सबैको कमाईले पेटभर खान र लगाउन त पुग्छ तर उनले गाउँ जाने पैसा भने जमाउन सकेका छैनन् ।
राई बाजेको छोरा पेन्टिङको र इलेक्ट्रिसियनको काम गर्छन् । ब्याचलर (स्नातक) पहिलो वर्षमा पढ्दा पढ्दै काम नपाएकाले छोराले पढाई छोडेको राईको भनाई छ ।
राई बाजेकी श्रीमतीले पनि स्वीटर र मोजा बुन्ने काम गर्छिन् । सबैको कमाईले पेटभर खान र लगाउन त पुग्छ तर उनले गाउँ जाने पैसा भने जमाउन सकेका छैनन् । काम खोज्दा खोज्दै थकित भइसकेका राई बाजे भन्छन्, ‘कुनै दिन त भोकभाकै हिँड्नुपर्छ, खल्तीमा छैन भने कसले दिन्छ र ?’
राई बाजे अहिलेसम्म एक चोटी पनि फिलिम हलमा जान पाएका छैनन् । चलचित्र हेर्न पाएका छैनन् । उमेरको घामले डाँडा काटिसक्दा पनि राई बाजेले यो पत्ता लगाउन सकेनन् की जीवनभर मेहेनत गरेर पनि किन मेहेनतको फल प्राप्त गर्न सकेनन् भनेर ।
राई बाजेले आफूलाई मनपर्ने खाना पनि धेरै खान पाउँदैनन्, ‘मलाई माछा र ढेडो मनपर्छ । तर मन परेको धेरै का खान पाउनु ? अन्तिमपटक १ महिना अगाडी होला खाको । जिन्दगी बाँच्न र रमाउन कर्म गर्नुपर्छ, कर्म गरेपछि पैसा आउँछ अनि पैसा भएपछि त रमाउन अरु के चाहिन्छ र ?’
राई बाजे निकै दयालु छन्, सकेसम्म सबैलाइ खुसी राख्ने प्रयास गर्छन् । उनी भन्छन्, ‘धेरै पैसा भएको भए नानीदेखि बुढाबुढी सबैलाई दिन्थे, खुसी बनाउँथे तर के गर्नु एक रुपैंया छैन । सबैको माया लाग्छ, नानीहरुले राई बाजे यो खुवाइदिनु न भन्छन् पैसा हुँदा खुवाइदिन्छु नहँुदा मन खिन्न पारेर पैसा छैन बा भोली खुवाउँछु भन्छु ।’
‘मैले चिताएको केहि भएन यता आएपछि केही न केही चाँही गर्छु भनेर सोचेको त्यो पनि बर्बाद भो,’ उनी दुखेसो पोख्छन्, ‘अब घरै जाने हो या त जति गरेनि नहुँदो रैछ, गाँउ बसेको भए कमसेकम गाँउकै लागि केही गरिन्थ्यो कि यता आएर दलदलमा फसेजस्तो भो ।’
राई बाजेले उमेरमै केही गर्न नखोजेका भने होइनन्, उनलाई विदेश गएर धेरै पैसा कमाएर केही गर्ने रहर पनि थियो तर समस्या त्यही एउटा पैसाको थियो । उनी स्मरण गर्दै भन्छन्, ‘बडा बुबा ब्रिटिश लाहुरे हुनुहुन्थ्यो म बाहिर जान्छु पैसा दिनु भनेको दिनु भएन, खेती गर्न कोही हुँदैन भनेर । म बाहिर जान पाएको भए अहिले बुढेसकालमा काम खोज्दै डुलेर हिँड्नुपर्दैथ्यो होला । २० वर्षसम्म काम गरेर त अहिले ठुलो घर बनाईसक्थेँ होला । बाहिर नगएकोमा पछुतो लाग्छ ।’
छोराले विदेश जाने इच्छाएको भन्दै राई भन्छन्, ‘छोरा विदेश गयो भने पठाइदिनु पर्यो भनेको, आपुू त डुबे डुबे छोरालाई मलाई जति दुःख नहोस् भन्ने चाहना छ, मेरो उमेरमा आईपुग्दा छोराले मैलेजस्तै पछुतो गर्न नपरोस्, बाहिरै गएर भएपनि दुईचार पैसा कमाओस् ।’
राई बाजेले उमेरमै केही गर्न नखोजेका भने होइनन्, उनलाई विदेश गएर धेरै पैसा कमाएर केही गर्ने रहर पनि थियो तर समस्या त्यही एउटा पैसाको थियो ।
गरिब दुःखीलाई केही गरिदिन नसके पनि सरकारले काम र रोजगार मात्र दिए पनि सहयोग हुने राई बाजेको धारणा छ । ‘मनमा त छ नि सरकारले हेर्दियोस् भन्ने चाहना तर हेरिदिदैंन, हामी जनता पिडामा मरिरहन्छौं सरकारलाई थाहा छैन,’ उनी थप्छन्, ‘थाहा भए पनि वास्ता गर्दैन, सरकारले हेरिदियो भने त अलिकति भएपनि सहयोग त हुन्थ्यो, तपाईं हाम्रो कुरा न पहिले कसैले सुन्या थ्यो न अहिले कसैले सुन्छ ।’
अब राई बाजेले मलाई अन्तिममा गरेको प्रश्न थियो– ‘नानी तिम्ले लेखेको पढेर सरकारले हामी दुःखी गरिबलाई हेर्ला त ?’
काठमाडौंका गल्ली–गल्ली, मोड–मोड र घुम्तीहरुको भट्टी पसल होस् या चिया पसलहरुमा राई बाजेहरु सोही प्रश्नसँगै अल्झिएर बसेको भेटिन्छन् ।































प्रतिक्रिया