काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । प्रधानमन्त्री ओलीले बिहिबार धरहरा परिसरमा एक कार्यक्रमका बीच वैदिक विधिपूर्वक ऐतिहासिक धरोहर धरहराको पुनर्निर्माणको कामको शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायतको उपस्थिति रहेको थियो ।
२०७२ सालमा आएको विनाशकारी भूकम्पले पछिल्लो पटक भत्काएको धरहरा निर्माणको ठेक्का राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट जिआईइटीसी÷रमन जेभीलाई दिइएको छ ।
२ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहराको पुनर्निर्माणको काममा आ– आफ्नो ठाउँबाट योगदान गर्न प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरे ।
उनले धरहरा नेपाल र नेपालीको प्यारो सम्पदा भएको उल्लेख गर्दै यसको पुनर्निर्माण गर्ने संकल्प अघि बढाइएको बताए । प्रधानमन्त्री ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा ‘मेरो धरहरा, म आफैं बनाउछु’ भन्ने अभियान अघि बढ्न नसकेको उल्लेख गर्दै अव भने तोकिएकै समयमा धरहरा बन्ने विश्वास व्यक्त गरे । उनले बाटो जाम नहुने गरी धरहरा बनाउन लागिएको बताए ।





























प्रतिक्रिया