काठमाडौं । काठमाडौंस्थित सफ्टवेरिका कलेज अफ आईटी कलेजका तीन विद्यार्थीले एउटा एआई रोबोट शिक्षिकाको आविष्कार गरेका छन्, जसको नाम हो प्रोफेसर मिरा ।
कलेजको स्नातक र स्नातकोत्तर तहका तीन विद्यार्थी अभिषेक विमली, विश्वास अधिकारी र अलबर्ट महर्जनले एआई र सर्च इन्जिन प्रयोग गरेर आविष्कार गरेको उक्त रोबोटले विद्यार्थीलाई पढाउने मात्र नभई विद्यार्थीको मूल्यांकन पनि गर्न सक्छ ।
एआई रोबोट प्रोफेसर मिरा भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५’ मा प्रदर्शनीमा छ ।
तीन विद्यार्थीहरुले कलेजको थेसिस प्रोजेक्टअन्तर्गत भृकुटीमण्डपको प्रर्दशनीमै राख्नका लागि उक्त एआई रोबोट शिक्षिका प्रोफेसर मिरा बनाएको विद्यार्थी अभिषेक विमलीले बताए । उक्त रोबोट प्रोफेसरको शरीर प्लास्टिक प्रयोग गरी मानिसको जस्तै बनाइएको छ, महिलाको जस्तै लुगा पनि लगाइएको छ तर टाउकोमा भने मोनिटर राखिएको छ जसले मानिसको जस्तै, हाउभाउ दिनसक्छ । उक्त रोबोटमा पाङ्ग्रा पनि जोडिएको छ जसले चलहल गर्न सक्छ र कृत्रिम हातहरु पनि चलाउन सक्छ ।
उक्त रोबोटको स्विच अन गरेपछि रोबोटले दिइएको निर्देशनअनुसारको विषयहरु वरिपरी हिँडडुल गर्दै विद्यार्थीलाई पढाउन, सिकाउन सक्ने र सोधिएको प्रश्नको जवाफ पनि दिन सक्ने विमलीले जानकारी दिए ।
‘प्रोफेसर मिरा एउटा रोबोट हो जसले जुन विषय पनि सहजै पढाउन सक्छ । यसले विषयवस्तुसँग सम्बन्धित तथ्य र तथ्यांक अनलाईन प्लेटर्फमबाट तत्कालै पत्ता लगाएर विद्यार्थी बताउछ ।’ विमली थप्छन्, ‘एउटा मानव शिक्षकलाई एउटा विषयको मात्र ज्ञान हुन सक्छ तर प्रोफेसर मिराले जुनसुकै विषय पनि प्रभावकारी ढंगले तत्कालै विद्यार्थीलाई बुझाउन सक्छ ।’
यसअघि आफूहरुको पहिलो प्रोजेक्टको रुपमा हरि नामक रोबोट बनाएको र जसमा माइक जोडिएकाले प्रतिक्रिया दिन सक्ने विमलीले जानकारी दिए । उनले कलेजमा आउने अवलोकनकर्ताहरुका लागि सहजकर्ताका रुपमा काम गर्ने गरी हरिको सिर्जना गरिएको जसले कलेजमा कता के छ सबै बताउने र पुर्याइदिने पनि जनाए ।
आफूहरुको सुपरभाईजर मनोज श्रेष्ठको सल्लाहमा रोबोट हरिबाटै प्रेरित भएर एउटा शिक्षक रोबोटको आविष्कार गर्ने अवधारणाबाट एआई प्रोफेसर मिराको आविष्कार गरेको विमलीको भनाई छ । उनले थपे, ‘हामी तीन जनाले नै मिलेर रोबोट हरिलाई तीन महिना लगाएर बनाएका थियौं तर प्रोफेसर मिरा बनाउन भने करिब एक वर्ष लाग्यो ।’
रोबोट प्रोफेसर मिराको स्विच अन गरेपछि आफैं हिडँडुल गर्न र बोल्न सक्नुका साथै लेभल र विषय हेरेर पढाउनसमेत सक्ने विमलीले जानकारी दिए । रोबोट प्रोफेसर मिरालाई आफ्नै कलेजको कक्षाकोठमा शिक्षणको लागि प्रयोग गरिसकेको र विद्यार्थीहरुबाट पनि सकारात्मक प्रतिक्रिया आएको विमलीको भनाई छ ।
यसअघि प्रोफेसर मिरालाई नेपाली, हिन्दी, चाईनिज र अंग्रेजी लगायतका भाषामा शिक्षण गर्न लगाइएको र सबैभन्दा प्रभावकारी ढंगले भने अग्रेंजी भाषामा शिक्षण गरेको विमलीको अनुभव छ । विमलीका अनुसार रोबोट प्रोफेसर मिराले सबै जानकारी अनलाईनबाट लिने र अनलाईन प्लेटफर्ममा धेरै जानकारी र तथ्यांक अग्रेंजी भाषामै पाईने भएकाले अग्रेंजी भाषामा शिक्षण बढी प्रभावकारी भएको हो ।
रोबोट प्रोफेसर मिराजस्तो रोबोेट चलाउन प्राविधिक रुपमा जटिल र महंगो पनि भएकाले बजारमा हाल सहजै उपलब्ध हुन नसकेको विमलीको भनाई छ । भावनात्मक रुपमा एउटा मानिसजस्तो हुन नसकेपनि रोबोट प्रोफेसर मिरामा एउटा वास्तविक शिक्षकमा हुनुपर्ने सबै गुण देखिन्छ । रोबोट प्रोफेसर मिराले कक्षाभन्दा अघि प्रश्नोत्तर गरी विद्यार्थीको समेत स्तर मूल्यांकन गर्न सक्ने भएकाले शिक्षण क्षेत्रमा मिरा जस्तो शिक्षण रोबोटले निकै सहजता पुर्याउन सक्ने उनको धारणा छ ।
‘विद्यार्थीले स्कुल वोर्क्स प्रो नामक सफ्वेयरबाट रोबोट प्रोफेसर मिरासँग लेखेर र बोलेर पनि सञ्चार गर्न सकिने भएकाले विद्यार्थीहरुले आफ्नो जिज्ञासा सहजै मेटाउन सक्छन्, विमलीले भने । उनका अनुसार उक्त रोबोट प्रोफेसर मिरालाई अझै विकास गर्ने तयारी भइरहेको छ ।





























प्रतिक्रिया