काठमाडौं । ‘केवलकार केबल यातायातको साधन मात्र हो । जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्याउँछ । पाथीभरा देवी आस्थाको धरोहर भएकाले त्यहाँ केवलकार निर्माणले त्यहाँका कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन बरु थप मजबुत बनाउन सहयोग पुर्याउँछ ।’ याे भनाइ हाे, उद्योग वाणिज्य महासंघ र पाथीभरा देवी दर्शन केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालकाे ।
केवलकार निर्माणलाई पाथीभराको धार्मिक आस्थासँग जोडेर भ्रम छरिएपछि शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले भनेका थिए, ‘पाथीभरा क्षेत्रमा केवलकारले पाथीभरा लगायत दुर्गम क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय सम्पदाहरुलाई जोड्ने कार्य गर्नुका साथै भक्तजन र अन्य व्यक्तिहरुलाई तिर्थ स्थलहरुको भ्रमण गर्नका लागि सहजता प्रदान गर्नेछ ।’
केवलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरुसहितको विश्वप्रसिद्ध पर्यटन गन्तव्यको रुपमा स्थापित गर्नको लागि केवलकारले सहयोग गर्नेछ । विकट भौगोलिक अवस्थिति, हाइ अल्टिच्युड र ठाडो उकालो बाटोले गर्दा तीर्थयात्री तथा पर्यटकलाई मन्दिरसम्मको आवागमन अत्यन्तै कठिन भएकाले अझ हिँड्न नसक्ने, विरामी, अशक्त, बालबालिका र बृद्धबृद्धाहरूलाई त त्यहाँसम्म पुग्न निकै संघर्षमय नै हुन्छ ।

पैसा तिर्न सक्नेहरू मान्छेलाई बोक्न लगाएर प्रतिकिलो २०० रुपैयाँसम्म तिरेर मन्दिरसम्म पुग्ने गरेको पाइन्छ । यसरी एक जनाको १०,००० देखि १५–२० हजार रुपैयाँसम्म पर्ने गरेको तीर्थयात्रीहरूको समस्यालाई समाधान गर्ने लक्ष्य राखिएको छ ।
हुने खानेहरुका लागि हेलिकप्टर चार्टर्ड गरी पाथीभरा मन्दिर पुग्ने व्यवस्था भएपनि आम नागरिकलाई पाथीभरा देवीको दर्शनलाई सहज बनाउने, अहिलेको तुलनामा तीन चार गुणा तीर्थयात्री र पर्यटक भित्र्याउने, स्थानीयलाई रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने, नागरिकको जीवनस्तर सुधार्ने, वातावरण र जैविक विविधता जोगाउने उत्कृष्ट यातायातको एकमात्र माध्यम केवलकार भएकाले पाथीभरामा केवलकार बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले औंल्याए ।
उनले भने, ‘अहिले स्थानीयभन्दा पनि जिल्ला बाहिर वा मुलुकबाहिर बस्नेहरूले सामाजिक सञ्जालमा पाथीभरामा केवलकार बन्न नहुने तर्क दिनुभएको छ । केवलकारको विरोध गरेर रोटी सेकाउने जुन काम भइरहेको छ, त्यो बिल्कुल गलत हाे । हामी आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लाबासीका भावना र आवश्यकताको नजिकमा छौँ । विकासका काममा वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यहरूले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्दछ ।’

स्थानीय रोजगारीको खोजीमा विदेशिनु परिरहेको तीतो यथार्थ देखिन्छ भने अर्कातर्फ उहाँहरूकै घरआगनमा आउँदै गरेको रोजगारीको अवसरलाई विवादमा ल्याउने प्रयास भइरहेको छ । यस्तो अवस्थामा के राम्रो के नराम्रो भन्ने छुट्टाउने उनले जिल्लावासीलाई आग्रह गरे ।
‘परियोजनामा अवरोध हुँदा यसको सन्देश विश्वव्यापी रुपमै नकारात्मक जान्छ । त्यसैले कुनै पनि बहानामा विकास निर्माणका काममा अवरोध नगर्न सबै सरोकारवालामा पुनः आग्रह गर्दछु ।’ उनले भने ।

ताप्लेजुङको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा मन्दिर क्षेत्रमा निर्माण हुन लागेको केवलकार पाथीभरा देवी दर्शन केवलकार परियोजनाले वि.सं २०७२ असोज ११ गते स्थापना भएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय वि.सं २०७५ पुष १६ गते पाथीभरा दर्शनका लागि केवलकार निर्माण अघि बढाउन अनुमति दिएको थियो । केवलकार निर्माण योजनालाई सरकारद्धारा राष्ट्रिय योजनाका रुपमा समावेश गरिएको थियो । केवलकार बनाउन र चलाउन आवश्यक अन्य सरकारी तथा कानुनी प्रक्रिया पूरा भइसकेको छ ।

केवलकारका आवश्यक जग्गा भोगाधिकार प्राप्त भइसकेको र नेपाल सरकारलाई सट्टा भर्ना जग्गा दिने काम सम्पन्न भई रुख कटानको काम र डिजाइनको काम समेत सम्पन्न भइसकेको छ ।
केवलकारले धार्मिक तथा सांस्कृतिक महत्वलाई पूर्ण रुपमा आत्मसाथ गर्ने छ । यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरुको संख्या करिब वार्षिक ३ लाख बाट वृद्धि भइ दोब्बर बढेर ६ लाख पुग्ने अनुमान गरिएको छ । केवलकार सञ्चालनले पाथीभरा देवीको दर्शन गर्ने मौका सबैले सहज रुपमा प्राप्त गर्दा दर्शनार्थीहरुको सङ्ख्या ह्वात्तै बढ्ने देखिएको छ ।
प्रस्तावित केवलकार संरचना, सम्भावना र लक्ष्य
फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७०० मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केवलकार बन्ने भएको छ । जसमा ३६ वटा यात्रुवाहक गोन्डोला र दुई वटा सामान ओसारपसार गर्ने गोन्डोला रहनेछन् । केवलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ । केवलकारको सबै उपकरण तथा पार्टस विश्व प्रसिद्ध केवलकार कम्पनीको प्रयोग गरिनेछ । ६ मिटर प्रति सेकेण्डको गतिमा चल्ने र अधिकतम १००० जना प्रति घण्टा यात्रुको क्षमता रहेको छ ।

केवलकारको बटम स्टेसन (काफ्ले पाटी) देखि टप स्टेसनसम्म पुगेर पाथीभरा मन्दिर सम्म जान करिब ५/७ मिनेट लाग्ने छ । केवलकारको माथिल्लो स्टेसनमा तीर्थयात्रीको सुविधाको लागि पानी, शौचालय र अक्सिजनसहित सामान्य आधारभूत संरचना मात्र बनाइने छ ।
यी आधारभूत आवश्यकता संरचनाबाहेक यहाँ अरु केही नबन्ने भएकाले मन्दिर परिसर तथा यस वरपरको पर्यावरण, सौन्दर्य र सांस्कृतिक अवस्थितिमा कुनै असर पर्दैन । केवलकारको स्टेसन भवनपछि साधारण तरिकाले र आवश्यक सेवा सुविधायुक्त बनाइने भएको छ ।
केवलकार निर्माणले बालबालिका, बृद्धबृद्धा, शारीरिक रुपमा अशक्त र उकालो ओरालो हिँड्न नसक्नेहरूका लागि सहज हुनुका साथै सम्पूर्ण तीर्थयात्री तथा पर्यटकलाई सुविधा पुग्ने छ । हिँडेर जान चाहनेहरूको लागि अहिले भइरहेको बाटोमा केवलकारले कुनै बाधा र्पुयाउने छैन । यसका साथै स्वदेशी तथा विदेशी तीर्थयात्री र पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास छ ।
केवलकार निर्माणले ताप्लेजुङ जिल्ला र समग्र प्रदेशको होटल, लज, गेष्टहाउस, टि हाउस, रेष्टुरेन्ट आदिको विकास गरी पर्यटन क्षेत्र (गाईड, सहयोगी आदिलाई रोजगार) को अवसर सिर्जना गर्ने छ । केवलकारको रोजगारीमा करिब ८०५ जना भन्दा बढी स्थानीयको पहुँच, यातायात व्यवसायको क्षेत्र विस्तार, निर्माण व्यवसाय क्षेत्रको बिस्तार, स्थानीय कृषि र आपूर्ति क्षेत्रको प्रर्वदन गर्ने सुनौलो अवसर बन्ने छ ।

आयोजना निर्माण चरणमा वातावरण संरक्षण योजनामा आयोजनाको जम्मा लागतको ०.७५ देखि १ प्रतिशत रकम (भौतिक, जैविक, सामाजिक, सास्कृतिक) संरक्षण योजनाको लागी छुट्याइएको छ ।

केवलकार निर्माणपछि करिब ३०० जनालाई प्रत्यक्ष रोजगारी प्राप्त हुनेछ । यसमा करिब ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिइनेछ ।
पाथीभरा देवी दर्शन केवलकार प्रा.लि.ले प्राप्त गर्ने मुनाफाबाट कम्तीमा एक प्रतिशत रकम स्थानीय सरकार सँगको समन्वयमा प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम खर्च गर्नेछ । जसमा त्यस क्षेत्रका शिक्षा, स्वास्थ्य चौकी, खेलकुद, रोजगारी सृजना गर्न शिपमुलक तथा क्षमता वृद्धिका तालिम संचालन, मनोरन्जन पार्क निर्माण, कला संस्कृती झल्किने संग्राहलय निर्माण जस्ता परोपकारी कार्यमा खर्च गर्नेछ । केवलकारले मुनाफाको १ प्रतिशत रकम वतावरणीय सेवा शुल्कबापत वन विकास कोषमा जम्मा गर्नेछ । प्रभावित क्षेत्रका स्थानिय सरकारलाई पर्यटन कर बापत २ प्रतिशत बराबरको रकम रोयल्टी प्राप्त हुनेछ ।

पाथीभरा केवलकार कम्पनीमा आईएमई समूह करिब दुई वर्ष अगाडि मात्र संलग्न भएको हो । करिब चार दशक अघिदेखि केवलकार निर्माणको विषय उठेको पवित्र धार्मिक स्थल पाथीभरामा २०७५ मा केवलकार कम्पनी स्थापना गरी काम अघि बढेको देखिन्छ । त्यसैले केवलकार बनाउने वा नबनाउने कुरा आज आएर जसरी राष्ट्रियकरण गर्नु राम्रो होइन, आईएमई समूहको संलग्नतापछि केवलकार निर्माणको विषयले गति लिएको हो । पाथीभरा केवलकार बनाउन करिब ३ अर्ब लगानी लाग्ने भएको छ ।































प्रतिक्रिया