काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली २०८१ असार ३० गते चौथो पटक प्रधानमन्त्रीमा नियुक्त भए । त्यसअघि २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका उनी २०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालको स्वाद लिइसकेका थिए ।
दैनिक औसत १८ घन्टा सक्रिय जीवनशैलीमा रहने प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय देखिन्छन् । प्रधानमन्त्रीको नामको आधिकारीक फेसबुक पेज प्रधानमन्त्रीले नै चलाउने त अवश्य होइन, तर सचिवालयमार्फत ओलीको निगरानीमा भने चल्ने गर्दछ ।
विगतका प्रधानमन्त्रीहरु र अन्य पार्टीका समकालीन नेताभन्दा नियमित रूपमा समाजिक सन्जालमा अपडेट देखिने प्रधानमन्त्री ओलीको फेसबुक पेजमा नेपालीहरुले मनाउने चाडवाडका शुभकामना, महत्वपूर्ण भेटघाटका तस्विरहरुलाई आम मानिसहरुले सामान्य नै मान्ने गरेका छन् । आफ्नो कार्यकालमा भएका कामका प्रगतीहरु पनि प्रशस्तै पोष्ट हुने गरेका छन् । काठमाडौंमा हुने धेरैजसो भिडभाडयुक्त भेटघाट र कार्यक्रमका तस्विर काठमाडौं बाहिरका कार्यक्रमा जाँदा हरेक समय नयाँ अपडेट आउने गर्दछ ।
पेट्रोलको मूल्य घटेको अपडेटदेखि पुस्तक विमोचन र नयाँ फिल्महरुका अपडेटसम्म दिन भ्याउने प्रधानमन्त्री ओली विशिष्ठ व्यक्तिहरु, कलाकारहरुको निधन र स्मृतिलाई समेत छुटाउँदैनन्, जुन विषयमा प्रशस्त सकारात्मक प्रतिक्रियाहरु पनि देखिन्छन् । पार्टीका बैठकहरु र सामान्य भेटघाटमा समेत प्रधानमन्त्री ओली आफ्ना नेता कार्यकर्ताले सामाजिक सन्जालको सही उपयोग नगरेको र सरकारले गरेका कामको प्रचार नगरेकोमा रुष्ट देखिन्छन् ।
यो सामग्री तयार पार्दाको समयसम्म प्रधानमन्त्रीको फेसबुक पेजमा ६ लाख २७ हजार फलोर्अस देखिन्छ । सबैमा पोष्टहरु सामान्य अपडेट अनुसार नै भए तापनि चौथो पटक प्रधानमन्त्री भएको ठिक २ महिना पछि एकका बिहानै ओलीको फेसबुकमा एक स्टाटस आउँछ, जसले सबैको ध्यान खिच्छ । विशेष त युवा पुस्ताहरुले यसलाई चासोका रुपमा लिए । जसमा पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले सानो कारोबार निःशुल्क गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
जसमा लेखिएको थियो, ‘शुभ बिहानी । हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सयरपचास रुपैयाँका कारोबार दिनमा ५र६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०र७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला ।’
प्रधानमन्त्री ओलीले थप भनेका थिए, ‘साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।’

यो पोष्टमा ७ हजार ४ सय बढिले प्रतिक्रिया जनाउँदा ११ सय भन्दा बढीले सेयर गरेका छन् । तर, प्रधानमन्त्रीले पोष्ट गरेको ६ महिना पुग्नै लाग्दा समेत यस विषयको कुनै कार्यान्वयन भएको छैन । हिजोआज मोबाइल बैंकिङ कारोबार गर्दा हरेक पटक ११ रुपैयाँ ३० पैसा शुल्क लाग्ने गरेको छ । यसबाट साना डिजिटल कारोबारी मर्कामा परेका छन् ।
केही दिनअघि यो विषयले संसदमा पनि प्रवेश पाएको थियो । रास्वपाकी सांसद निशा डाँगीले भनेकी थिइन्, ‘यदी मैले डिजिटल कारोबारमा कसैलाई १०० रुपैयाँ दिएँ भने कारोबार रकम र त्यसमा लाग्ने करसमेत गरेर १११.३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसले गर्दा हामी डिजिटल कारोबार गर्न निरुत्साहित भइरहेका छौं । यदी सरकारले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने हो भने आजैबाट कर कटौती गर्दै निःशुल्क डिजिटल कारोबार हुने व्यवस्था गरोस् ।’
हालै सार्वजनिक भएको राष्ट्र बैंकको तथ्यांकअनुसार एक महिनामा तीन खर्ब ९८ अर्ब रुपैयाँ बढीको डिजिटल कारोबार भएको छ, जसमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड ६३ लाख नाघेको छ । यसले पुष्टि गर्छ, डिजिटल कारोबारमा आम सर्वसाधारणको आकर्षण । तर, यस विषयमा सुनुवाइ हुन सकेको छैन ।
अझ बिडम्बनाको कुरा, प्रधानमन्त्री आफैंले दिएको वचनमा ६ महिनासम्म कुनै प्रक्रिया चालेको खवर छैन । जुन पोष्टमा अहिले पनि केही युवाहरुले काम भएन ? कहाँ पुग्यो छलफल ? भनेर गिज्याउने प्रतिक्रियाहरु लेखिरहेको देखिन्छ ।































प्रतिक्रिया