एक घण्टा बित्दा पनि सुरू हुन सकेन प्रतिनिधिसभा बैठक

एक घण्टा बित्दा पनि सुरू हुन सकेन प्रतिनिधिसभा बैठक

केन्द्रबिन्दु
54
Shares

काठमाडौं । प्रतिपक्षी दलको विरोधमा १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।

प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि बैठक स्थगित भएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेका उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् । सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएकोलगायतका विषयमा आफ्नो धारणा राखे ।

सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ती जनाए । उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरेका थिए । सभामुखको आसनमा रहेका उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताएकी थिइन् ।

त्यसपछि माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन् । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाएनन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेपनि एक घण्टा बित्दा पनि सुरू हुन सकेको छैन ।

Skip This
Skip This
Logo