इन्डोनेसिया
इन्डोनेशियामा शनिबार भएको ज्वालामूखी विष्फोटपछि आएको सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार ३७३ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।
इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीयक्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म ३७३ व्यक्तिको मृत्यु भएको छ । साथै एक हजार भन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिनुभएको छ ।
यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएको प्रवक्ता सुटोपोले थप जानकारी दिनुभयो । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने सुटोपोले बताउनुभयो ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नामकरण गरेका छन् ।
भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसपछि समुद्रमुनिको जमिनमा पहिरो गएकाले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् । यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि जुन, अगस्ट र सेप्टेम्बरमा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण दुई हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।
रासस/एएफपी





























प्रतिक्रिया