रौतहट (वृन्दावन) । नेपालमा स्वस्थकर र सुरक्षित तरकारी तथा अन्न उत्पादनको नयाँ पहिचान बनाउँदै आएको फ्रेसकेटिएम फार्मिङले विषादी नियन्त्रित तरकारी, खाद्यबाली र फलफूल खेती गरिरहेको छ ।
रौतहटमा एक सय बिघा क्षेत्रफलमा फैलिएको फार्ममा विषादी नियन्त्रित तरकारी, फलफूल, धान, मकै, गहुँ, तोरी र दाललगायत उत्पादन गर्दै आएको छ । उक्त फार्ममा उत्पादित तरकारी, फलफूल र अन्य खाद्यान्नहरू फ्रेसकेटिएमले आफ्नै काठमाडौँको रातोपुल, झम्सिँखेल र भैंसेपाटीमा रहेको फ्रेसकेटिएम आउटलेटमा दैनिक रूपमा उपलब्ध गराउँदै आएको छ ।
फ्रेसकेटिएम फार्मिङले एकीकृत पोषण व्यवस्थापन र एकीकृत कीट व्यवस्थापन अपनाएर सुरक्षित खेती प्रणाली विकसित गरेको फ्रेसकेटिएमका डाइरेक्टर शिव न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले फार्ममा २५ भन्दा बढी प्रकारका तरकारीहरूका साथै गहुँ, तोरी र दाल उत्पादन गरिन्छ । जसले उपभोक्ताहरूलाई स्वस्थकर खानामा पहुँच पुर्याउन मद्दत गरेको छ ।

स्वस्थ उत्पादनका लागि आफ्नै कम्पोस्ट, भर्मी कम्पोस्ट र जैविक सूक्ष्मजीवहरू उत्पादन गरी (सामान्यतया खर्चिलो मानिने) यो खेती पद्दतीलाई कसरी कम लागतमा गर्न सकिन्छ भन्ने अनुसन्धान पनि फार्ममा सुरू गरेको न्यौपानेको भनाई छ । ‘जिरो वेस्टको इको सिस्टम बनाउँदै आएको फ्रेसकेटिएम फार्ममा एक सयभन्दा बढी रोजगार पाएका छन’ न्यौपानेले भने, ‘जसमा फार्ममा आवश्यक पर्ने खाद्यान्नलगायत पनि फार्मभित्र नै तयार गर्ने गरेका छौँ ।’
कृषिमा लागतको समस्या प्रमुख रूपमा रहँदै आएकोमा फ्रेसकेटिएम फार्ममा रहेका २५० भन्दा बढी भैंसीहरूको गोबर तथा जैविक स्रोतहरूको उपयोग गरेर आफैँले कम्पोस्ट, भर्मी कम्पोस्ट र सूक्ष्मजीवहरू उत्पादन गरिरहेको छ । यसले माटोको उर्वराशक्ति बढाउने मात्र होइन, रसायनको अत्यधिक प्रयोगलाई हटाएर स्वस्थ उत्पादनलाई सुनिश्चित गर्छ । जसले लागत घटाउन पनि ठूलो योगदान गरेको छ ।
फ्रेसकेटिएम फार्मिङले उत्पादन गरेका भाण्टा, गाजर, बोडी, खुर्सानी, टमाटर, काउली, बन्दा, करेला, तोरीको साग, काँक्रो, गहुँ, तोरीको तेल र विभिन्न प्रकारका दालहरू फ्रेसकेटिएमका रातोपुल, झम्सिखेल र भैंसेपाटीस्थित आउटलेटहरूमा दैनिक रूपमा उपलब्ध हुने न्यौपानेले बताए ।
विषादी नियन्त्रित उत्पादनको वृद्धि र उपभोक्ताको मागलाई सम्बोधन गर्दै फ्रेसकेटिएमले अब काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा आफ्ना आउटलेटहरू विस्तार गर्दैछ । नयाँ स्थानहरूमा फ्रेसकेटिएम आउटलेट खोल्ने तयारी अन्तिम चरणमा पुगेको न्यौपानेले जानकारी दिए । जसले उपभोक्ताहरूलाई विषादी नियन्त्रित, स्वस्थकर र उचित मूल्यमा ताजा उत्पादन उपलब्ध गराउने बताइएको छ ।
रासायनिक मलको प्रयोग न्युन, जैविक मलको प्रयोग तथा वनस्पति विषादीको प्रयोग र अति आवश्यक अवस्थामा रासायनिक विषादीको प्रयोग गरेको तरकारीलाई तुरून्तै नटिपि मापदण्ड अनुसार टिप्ने गरेको न्यौपानेले बताए ।





























प्रतिक्रिया